१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

दुबईबाट मस्को हुँदै फ्र्यांकफर्ट पुगेका अन्य नेपालीलाई पनि जर्मन प्रहरीले नियन्त्रणमा लिएको आशंका
ददी सापकोटा

पेरिस — काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो । अन्य केही भने मेक्सिको उड्ने तयारीमा थिए ।

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

मेक्सिकोबाट डिपोर्ट भएकाहरूलाई भने मस्को फिर्ता पठाउन लागिएको जर्मन सुरक्षा निकायले बताएको जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले जानकारी दिए । विमानस्थलको ट्रान्जिटस्थित प्रहरी सुरक्षा घेरामा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै कान्तिपुरसँग भने, ‘हामी यहाँ ६ दिनदेखि सुरक्षा घेरामा छौं । प्रहरी नियमानुसार अब दुई दिनभन्दा राख्दैन । हामी अझै मेक्सिको जाने आसमा छौं ।’

ती नेपालीका अनुसार आफन्तको विश्वासमा परेर उनीहरूले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको छ । पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको खड्काले बताए ।

फ्र्यांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जनाबाहेक मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपाली पनि थपिएका छन् । उनका अनुसार विमानस्थलको अर्को टर्मिनलबाट पक्राउ पर्नेको संख्या यकिन भइसकेको छैन ।

अलपत्र परेका अर्का एक नेपालीले आफूहरू नियन्त्रणमा रहेका भए पनि प्रहरीले अन्य केही नगरेको बताएका छन् । ‘हामीलाई प्रहरीले रोकेको त हो । तर पक्राउ गरेको जस्तो छनक दिएको छैन । हामी अझै पनि मेक्सिकोको टिकट बनाएर उतै उड्ने पर्खाइमा छौं,’ उनले भने । मोटो रकम तिरेर हिँडेकाले जसरी पनि मेक्सिको गएर अमेरिका छिर्ने आसमा रहेको बताउँदै उनले भने, ‘३८ लाख तिरेर आएको हो । दलालले थाहा पायो भने झन् दुःख दिन सक्छ र आमाबुबाले यो सुन्नुभयो भने चिन्ताले मर्नुहुन्छ ।’

कान्तिपुरसँगको टेलिफोन कुराकानीमा ती नेपालीले आफूहरूमध्ये अधिकांशलाई आले थरका नेपाली दलालले दुई साताअघि काठमाडौंबाट दुबई (यूएई) उडाएका थिए । एक सातासम्म दुबईको एक होटलमा राखिएपछि उनीहरू आफैं टिकट काटेर मस्को (रुस) उडेका थिए । मस्को उड्ने प्रबन्ध भने एक पाकिस्तानी दलालले मिलाइदिएका हुन् ।

मस्कोमा एकरात बसेपछि आफूहरू आफ्नै टिकटमा मेक्सिको उडेका थिए । उनीहरू सबैको जर्मनीको फ्र्यांकफर्टमा ट्रान्जिट परेको थियो । त्यहाँ प्रहरीले जाँचबुझ गर्दा उनीहरू पक्राउ परेका हुन् । केहीको नक्कली भिसा भेटिएका कारण समूहका सबै जनालाई जर्मनीको सुरक्षा निकायले रोकेको हो ।

राजदूत खड्काले आफूहरूसमक्ष आधिकारिक रूपमा उद्धार वा अन्य सहयोगका लागि आग्रह नगरिएको उल्लेख गर्दै भने, ‘कसैले उद्धार गरिदिनुपर्‍यो भन्यो भने दूतावासले पहल गर्ने हो । आधिकारिक रूपमा केही आएको छैन । तर नेपालीहरूलाई यस्तो भयो भन्ने सुनेपछि हामी सुरक्षा निकायको सम्पर्कमा छौं । थप जानकारी लिने प्रयासमा छौं ।’

प्रकाशित : आश्विन ३, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?