चीनले प्रवेश रोक्दा नेपाली विद्यार्थीको एमबीबीएस अपूरो- समाचार - कान्तिपुर समाचार
महामारीको असर

चीनले प्रवेश रोक्दा नेपाली विद्यार्थीको एमबीबीएस अपूरो

विश्वविद्यालय बिदा भएका बेला घर आएका विद्यार्थी कोरोना महामारीका कारण फर्कन पाएनन्
२०१४ ब्याचका १६५ जना विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गराउन सिफारिस, अन्यको अनिश्चित
सुदीप कैनी

काठमाडौँ — चीनमा एमबीबीएस अध्ययन गर्दै गर्दा कोभिड–१९ को महामारी फैलिएपछि बीचैमा नेपाल फर्केका करिब ५ सय विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा परेको छ । नेपालमा इन्टर्नसिप गर्न नपाएका उनीहरू पुनः चीन फर्कन नपाउँदा एमबीबीएसको पढाइ अधुरो रहने अवस्था सिर्जना भएको हो । 

नेपाल मेडिकल काउन्सिलले एमबीबीएसका विद्यार्थीले इन्टर्नसिप गरेपछि मात्र चिकित्सकको लाइसेन्सका लागि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कोभिड महामारीको समयमा नेपाल आएका विद्यार्थीलाई पुनः विश्वविद्यालय फर्कने वातावरण चीन सरकारले नबनाउँदा समस्या बढ्दै गएको विद्यार्थी र सम्बद्ध निकायका अधिकारीहरू बताउँछन् । ‘विश्वविद्यालय बिदा भएका बेला घर (नेपाल) आएका थियौं, चीनमा लकडाउन भयो । विश्वविद्यालयले बोलाउँछौं भन्दै थियो, फेरि यता संक्रमण बढेर जान पाएनौं,’ शैक्षिक सत्र २०१५ का एक छात्रले कान्तिपुरसँग भने, ‘कोर्स पूरा गरेको १८ महिना भइसक्यो, इन्टर्नसिप गरेर डाक्टरको प्रमाणपत्र लिन पाएका छैनौं ।’

शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र काउन्सिलका पदाधिकारीले भने सन् २०१४ का विद्यार्थीले पूरा गरे पनि २०१५ र २०१६ का विद्यार्थीको कोर्स पूरा हुन बाँकी रहेको बताए । अहिले १ सय ३६ जना मात्रै सम्पर्कमा आए पनि दुई ब्याचका गरी ३ सय हाराहारीमा विद्यार्थी हुन सक्ने अनुमान गरिएको छ । यी विद्यार्थी चीनका विभिन्न विश्वविद्यालयमा एमबीबीएस अध्ययनरत थिए ।

यसअघि, २०१४ ब्याचका एक सय ९३ जना विद्यार्थी पनि इन्टर्नसिप पूरा नगरी नेपाल फर्केका थिए । उनीहरूको समस्या समाधान नहुँदै २०१५ र २०१६ ब्याचका करिब ३ सय विद्यार्थी नेपाल फर्केर अलपत्र छन् । २०१४ का विद्यार्थीलाई नेपाल मेडिकल काउन्सिलले नेपालमा नै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउँदै भए प्नि त्यसयताका विद्यार्थीको पढाइ अनिश्चित छ । २०१५ र २०१६ का विद्यार्थीले पनि नेपालमा नै इन्टर्नसिप पूरा गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । यी ब्याचका १ सय ३६ विद्यार्थीेले प्रधानमन्त्री कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलमा बाँकी रहेको पढाइ नेपालमै पूरा गर्ने व्यवस्था मिलाउन ज्ञापनपत्र बुझाइसकेका छन् ।

चिकित्सा शिक्षा आयोगले बुधबार २०१४ ब्याचका १ सय ६५ जना छात्रछात्रालाई नेपालमा नै इन्टर्नसिप गराउन मेडिकल काउन्सिललाई सिफारिस गरेको छ । त्यही ब्याचका २८ जना र २०१५ र २०१६ का करिब ३ सय जना विद्यार्थीको बाँकी पढाइबारे निर्णय हुन सकेको छैन । मेडिकल काउन्सिलले यी विद्यार्थीको पढाइको मान्यता, समकक्षता र इन्टर्नसिपको विषयमा आवश्यक निर्णय गर्न चिकित्सा शिक्षा आयोगमा पत्राचार गरिसकेको जनाएको छ ।

विद्यार्थीले आफूहरू नेपाल फर्के पनि सैद्धान्तिकतर्फको कोर्स अनलाइनबाटै पूरा गरेको दाबी गरेका छन् । ‘कोरोना बढेपछि चीन सरकारले आ–आफ्नो देश फर्कन आदेश दियो, हामी पनि नेपाल आयौं,’ अर्का छात्रले भने, ‘अहिले चीन सरकारले मिलेसम्म आफ्नै देशमा इन्टर्नसिप पूरा गर्न भनेको छ ।’ चीनले आवतजावत खुला नगरेका कारण पनि अध्ययनका लागि फिर्ता जान नसकेको विद्यार्थीको गुनासो छ ।

मेडिकल काउन्सिलका अनुसार सन् २०१४, २०१५ र २०१६ मा वर्सेनि ८ सयको हाराहारीमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि चीन गएका थिए । उनीहरूले ट्युसन शुल्कबापत करिब ३० लाख रुपैयाँ तिरेका छन् । २०७५ देखि लागू भएको चिकित्सा शिक्षा ऐनले विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि पनि एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने अनिवार्य गरेपछि भने चीन जाने विद्यार्थीको संख्यामा उल्लेख्य कमी आएको छ ।

चिकित्सा आयोग र मेडिकल काउन्सिलका पदाधिकारी भने दुई देशबीच सरकारीस्तरबाट छलफल गरेर विद्यार्थीले अध्ययन गरेको विश्वविद्यालयबाटै पढाइ पूरा गर्नु व्यवस्था मिलाउनुपर्ने बताउँछन् । ‘सन् २०१४ का विद्यार्थीको समस्या लगभग सुल्झिसकेको छ । उनीहरूले यहीँ इन्टर्नसिप गर्न पाउँछन्,’ काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले भने, ‘अन्य ब्याचका विद्यार्थीले सकभर सम्बन्धित विश्वविद्यालयबाटै पढाइ पूरा गर्ने पहल गर्नुपर्छ ।’ कानुनतः विद्यार्थीले अध्ययन गरेकै शिक्षण संस्थाबाट पढाइ पूरा गर्नुपर्छ । विद्यार्थीले भने चीन र नेपाल सरकारको बेवास्ताको कारण शैक्षिक यात्राको भविष्य नै अन्धकार बनेको दुखेसो गरेका छन् । ‘यहाँ पनि प्रयोगात्मक अभ्यास गरेर पढाइ पूरा गर्न पाएका छैनौं, चीनका विश्वविद्यालयले पनि बोलाएका छैनन्,’ ती छात्रले भने ।

एमबीबीएसको अन्तिम वर्षको पढाइमा इन्टर्नसिप हुनेगर्छ । २०१४ ब्याचका विद्यार्थीको ३ महिनादेखि एक वर्ष इन्टर्नसिप बाँकी थियो । २०१५ र २०१६ का विद्यार्थीले भने पूरा एक वर्ष नै इन्टर्नसिप गर्नुपर्छ । २०१४ का विद्यार्थीसँग आवेदन माग गरेर एक सय ६५ जनालाई नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न अनुमति दिएको आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जनाए । उनका अनुसार आयोगका निर्देशक दिलीप शर्माको संयोजकत्वमा कार्यदल गठन गरेर अध्ययन भइरहेको छ । असार २५ गते आयोगले सूचना जारी गर्दै इन्टर्नसिप पूरा गर्न विद्यार्थीसँग आवेदन मागेको थियो । त्यसका आधारमा एक सय ९३ जनाले आवेदन दिएका थिए । तीमध्ये २८ जनाको हकमा आवश्यक कागजात नपुगेकाले मगाइएको आयोगका उपसचिव सीताराम कोइरालाले जनाए । त्यसपछि भने २०१५ र २०१६ ब्याचका विद्यार्थीले पनि नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राखेका हुन् । सरकारले चीनसँग आवश्यक पहल गरे यी विद्यार्थीलाई त्यही पठाउन सकिने जानकारहरू बताउँछन् । विदेशमा पढ्न गएकालाई पढाइ पूरा नगरी यहीँ अवसर दिँदा भविष्यमा समस्या आउन सक्ने उनीहरूको दाबी छ ।

आयोगले यसअघि कोभिडका कारण विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले इन्टर्नसिप पूरा गर्न नपाएका भए एकपटकलाई देशभित्रै पूरा गर्न दिने निर्णय गरेको थियो । सन् २०२० को अप्रिल अन्त्यमा अन्तिम परीक्षा उत्तीर्ण गरी सम्बन्धित विश्वविद्यालयमा इन्टर्नसिप पूरा गर्ने अवस्था नभएका विद्यार्थीसँग आयोगले आवेदन माग गरेको थियो ।

प्रकाशित : भाद्र ३१, २०७८ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्

ए डिभिजन राष्ट्रिय फुटसल लिग : राइजिङलाई युवा खेलाडीको भर

धरानकै स्थानीय खेलाडी समेटेर राइजिङको फुटसल टिम निर्माण
दीपक परियार

पोखरा — उदाउँदा युवा खेलाडीको टिम राइजिङ क्लब ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिग खेल्न धरानबाट पोखरा आइपुगेको छ । असोज २ देखि २२ सम्म पोखरा रंगशालाको कभर्डहलमा हुने लिगका लागि क्लबले मंगलबारदेखि खेलस्थलमै अभ्यास थालेको छ । 

प्रदेश १ मा भएको छनोट खेलमा उपविजेता हुँदै ‘ए’ डिभिजन क्लबमा दरिएको राइजिङमा सबै खेलाडी २३ वर्षमुनिका छन् । यिनै युवा खेलाडीको भरमा क्लबले पोखरामा प्रतिस्पर्धा गर्दै छ । टिममा १४ नियमित र ३ वैकल्पिक खेलाडी हुनुपर्ने भए पनि क्लबले १३ जनामात्रै ल्याएको छ । टिमका प्रशिक्षक युवेन्द्र गुरुङ बुधबार पोखरा आएका छन् । व्यवस्थापक रवि राई असोज १ मा पोखरा आइपुग्ने छन् । हाल सहायक प्रशिक्षक हेमन्त थापा मगरले टिम सम्हालेका छन् ।

२०७० मा धरानकै स्थानीय युवाको सक्रियतामा स्थापित राइजिङ क्लब विभिन्न फुटबल गतिविधिमा सक्रिय रहँदै आएको छ । पूर्वमा हुने फुटबल प्रतियोगिताहरूमा सक्रिय सहभागिता जनाउने यो क्लबले धरानकै स्थानीय खेलाडी समेटेर फुटसल टिम बनायो । लिगका लागि छनोट खेलमा प्रदेशका अन्य ९ टिमसँग भिड्यो । फुटसल फाइभसँग पराजित भएर उपविजेता बन्दै प्रदेश १ बाट लिगमा सहभागी हुने २ टिममध्येमा पर्‍यो ।

क्लबको नामजस्तै धरानमा फुटसल संस्कृति उदाउँदो अवस्थामा छ । चार वर्षअघि मात्रै धरानमा फुटसल भित्रिएको हो । धरान बजारमा हाल तीन फुटसल सञ्चालनमा छन् । केही बन्ने क्रममा छन् । प्रदेश १ का विराटनगर, दमक, इटहरीलगायत मुख्य सहरमा फुटसल छन् । प्रदेश १ मै फुटसलको ‘क्रेज’ बढ्दो छ । फुटबलका लागि मैदान अभाव हुने भएकाले पनि फुटसलमा आकर्षण बढेको राइजिङका सहायक प्रशिक्षक थापा मगर बताउँछन् । ‘हाम्रोतिर फुटसल भर्खरै स्थापित हुँदै छ,’ उनले भने, ‘विस्तारै व्यावसायिक हुने र विस्तार हुनेक्रममा छ ।’ फुटसलको गतिविधि बढ्दै गएको उनको अनुभव छ ।

राइजिङलाई धरानको बिग फुट फुटसल, मितेरी फुटसलको साथ छ । छनोट पछि झन्डै डेढ महिना यिनै फुटसलमा टिमले अभ्यास गर्‍यो । लकडाउनले गर्दा बीचबीचमा अभ्यास छुट्न पुग्यो । धरानमा टर्फमै अभ्यास गरेको टिमले काठमाडौंमा एक दिन म्याटमा म्याच खेल्यो । त्यसपछि पोखरा आएर नै अभ्यास थालेको हो । ‘टर्फभन्दा म्याटमा केही अप्ठेरो हुँदोरहेछ,’ उनले भने, ‘खेलाडीलाई बानी परोस् र यहाँको वातावरणसँग घुलमिल पनि होस् भनेर केही दिनअगाडि आयौं ।’

टिममा सातदोबाटो र ब्याइज युनियनबाट खेलेका फुटबलर छन् । केही यसअघि पोखरा आएर खेलिसकेका फुटबलर छन् । धरानबाट आए पनि पोखरासँग परिचित भएकाले खेल प्रदर्शनमा कुनै असर नपर्ने टिमको ठम्याइ छ । खेलाडीबीचको ‘टिमवर्क’ नै आफ्नो बलियो पक्ष भएको सहायक प्रशिक्षक बताउँछन् । पोखरा आउने सबैको इच्छा हुने र यहाँको वातावरण पनि राम्रो हुने भएकाले बसाइ पनि राम्रो हुने उनले ठानेका छन् ।

सचिन श्रेष्ठको कप्तानी रहेको टिममा सुदीप गुरुङ, रिवास मास्के, विशन श्रेष्ठ, मिलन लिम्बु आशालाग्दा खेलाडी हुन् । क्लबसँग अरू टिमको खेलकौशलबारे कमै जानकारी छ । सबै टिम उत्तिकै प्रतिस्पर्धी रहेको क्लबको बुझाइ छ । अन्य टिमजस्तै राइजिङको पनि उपाधि जित्ने नै लक्ष्य छ । यद्यपि अन्तिम ४ मा समेटिन पाउँदा पोखरासम्मको यात्राले सार्थकता पाउने टिमको अपेक्षा छ । एक नियमित खेलाडी र ती वैकल्पिक खेलाडीबिनै मैदानमा उत्रने तयारी गरेको यो टिमलाई सोचेजस्तो सहज भने हुने छैन । ‘हाम्रो फरवार्डलाइन राम्रो छ,’ सहायक प्रशिक्षक थापामगर थप्छन्, ‘लिगका लागि राम्रै तयारी छ । मैदानमा राम्रो फुटसल खेल्ने हो । एकताबद्ध भएर खेल्छौं ।’

टिमका मुख्य प्रशिक्षक युवेन्द्र गुरुङ विराटचोक भेट्रान फुटबलका अध्यक्ष हुन् । उनैको निर्देशनअनुसार रणनीति तयार गर्ने टिमको तयारी छ । टिमलाई व्यवस्थित बनाउन व्यवस्थापक रवि राई पनि उत्तिकै खटिएका छन् । धरानकै गोकुलम रिसोर्टले प्रायोजन गर्दा टिमलाई आर्थिक हिसाबले राहत मिलेको छ । भिन्टेज, बराह ज्वेलर्सलगायत व्यावसायिक समूहले पनि टिमलाई साथ दिएका छन् ।

एन्फाको आयोजना र टर्नपाइक इभेन्टको व्यवस्थापनमा हुने लिगका सम्पूर्ण खेलको कान्तिपुर टेलिभिजन र ईकान्तिपुर डटकमबाट प्रत्यक्ष प्रसारण हुनेछ ।प्रतियोगितामा सहभागी हुने १० टिममध्ये २ टिम पोखराकै छन् । प्रदेश १ को राइजिङ क्लब र वाग्मतीको ढुकु फुटसल पोखरा आइसकेका छन् । अन्य टिम असोज १ अगावै पोखरा आइपुग्ने छन् ।

राइजिङ टिम : सचिन श्रेष्ठ (कप्तान), मिलन लिम्बु, रिवस मास्के, दोर्जे तामाङ, बिकु तामाङ, अनिश भुजेल, सुदीप गुरुङ, भिषण श्रेष्ठ, सुशान्त राई, विवेक राई, कृष्ण राई, नगेन राई, केशव लिम्बु । रवि राई (व्यवस्थापक), युवेन्द्र गुरुङ (प्रशिक्षक), हेमन्त थापा मगर (सहायक प्रशिक्षक) ।

प्रकाशित : भाद्र ३१, २०७८ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×