थप २३ जिल्लामा दुई लाख २० हजार गरिब पहिचान- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थप २३ जिल्लामा दुई लाख २० हजार गरिब पहिचान

यसअघि २६ जिल्लामा तीन लाख ९१ हजार आठ सय ३१ गरिब परिवारको पहिचान
प्रकाश धौलाकोटी

काठमाडौँ — सरकारले थप २३ जिल्लामा दुई लाख २० हजार ९ सय ४१ गरिब परिवारको पहिचान गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ती जिल्लाका ११ लाख २४ हजार दुई सय ९ परिवारमध्ये दुई लाख २० हजार ९ सय ४१ घरधुरी गरिब रहेको पहिचान गरेको हो । ती परिवारको तथ्यांक विश्लेषण गरी अब अति गरिब, मध्यम गरिब र सामान्य गरिबको पहिचान गर्न भने बाँकी रहेको छ । 

मन्त्रालयले ‘गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका–०७५’ मा उल्लेखित गरिब पहिचान गर्ने विभिन्न सूचकहरुका आधारमा गरिब घरधुरी पहिचान गरेको हो । निर्देशिकाले परिवारको आकार, शैक्षिक अवस्था, औसत आयु, आम्दानीका स्रोत र आश्रित व्यक्ति, घरको स्वामित्व, छानो र कोठा, पिउने पानी, शौचालय र इन्धनको उपयोग, सवारी साधन, सञ्चार सुविधा, चौपाया, भौगोलिक बनावट, जातिगत समूह र अन्य सम्पत्तिको आधारलाई गरिब पहिचानका सूचक तोकेको छ ।

तीनै सूचकका आधारमा मन्त्रालयले स्थानीय तहमार्फत आर्थिक वर्ष २०७६/७७मा गणक परिचालन गरेको थियो । त्यही सर्वेक्षणअनुसार दार्चुलामा ६२.२, डोटीमा ६३.७ प्रतिशत र डडेल्धुरामा ५३.७ प्रतिशत गरिबी रहेको छ । त्यस्तै, ताप्लेजुङमा २८.३, संखुवासभामा ३१.५, सोलुखुम्बुमा २०.४, धनकुटामा १४.२ र पाँचथरमा १५.९ प्रतिशत गरिबी रहेको छ । त्यस्तै, उदयपुरमा २६.३, महोत्तरीमा २९.३, रसुवामा २२.८, धादिङमा १४.४, काभ्रेमा १३.६, मकवानपुरमा २३.४, म्याग्दीमा १३.९, लमजुङमा १८.९ र स्याङजामा ७.५ प्रतिशत गरिबी रहेको छ । त्यस्तै, पाल्पामा ११.४, दाङमा १७.८, बाँकेमा ३०.१, दैलेखमा ३९.२, सल्यानमा २३.६ र सुर्खेतमा २६.५ गरिबी रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ती जिल्लाका स्थानीय तहमार्फत चार सय ५६ गणक र ८४ जना सुपरीवेक्षक परिचालन गरेको थियो । ती गणक र सुपरीवेक्षकमार्फत संकलन भएको ११ लाख २५ हजार दुई सय ९ परिवारको अवस्थाको विस्तृत विश्लेषण भइरहेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

सरकारले गरिब घरधुरीको पहिचान गर्ने र तिनको अवस्थाका आधारमा परिचय पत्र दिएर गरिबी निवारणका लागि विभिन्न सेवा सुविधा दिने उद्देश्यले गरिब पहिचान कार्यक्रम सञ्चालन गरेको छ । यसरी पहिचान भएकामध्ये अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो रंगको परिचय पत्र वितरण गरिन्छ । तर, सरकारी ढिलासुस्तीका कारण पहिचान भएका गरिब परिवारले भने कुनैपनि सुविधा पाएका छैनन् ।

सरकारले ०६९ मा गरिब घरपरिवार पहिचान गर्ने ‘समन्वय बोर्ड’ गठन गरेको थियो । तर, त्यो खारेज भइसकेको छ । अहिले मन्त्रालयको एउटा शाखाले यो कार्यक्रम हेर्दै आएको छ । गरिब पहिचानमै ढिलाइ भएका कारण गरिबले भने राज्यका तर्फबाट कुनैपनि सुविधा पाएका छैनन् ।

मन्त्रालयले यसअघि २६ जिल्लाका तीन लाख ९१ हजार आठ सय ३१ गरिब परिवारको पहिचान गरिसकेको छ भने ओखलढुंगा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, मनाङ, मुस्ताङ, गुल्मी, रुपन्देही, कञ्चनपुर र बैतडीमा गरिब पहिचानका लागि तथ्यांक संकलन गरिसकेको छ ।

त्यस्तै, चालू आर्थिक वर्षमा इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, पर्वत, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा पनि तथ्यांक संकलन गर्ने योजना रहेको छ ।

प्रकाशित : भाद्र ३०, २०७८ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको वर्चस्व फर्काउँछौं : भुसाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका उपमहासचिव घनश्याम भूसालले आगामी चुनावपछि पार्टीले आफ्नो वर्चस्व फर्काउने बताएका छन् । 

बुटवलमा बुधबार आयोजित रुपन्देही जिल्लास्तरीय एमालेको कार्यकर्ता भेलामा नेता भुसालले आफैभित्रको समस्याले एमाले पछारिएको र घाइते भएको बताउँदै अब त्यसको पाठ सिकेर पाटीलाई एकताबद्ध रुपले अघि बढाउने बताए । ‘हामी पछारिएका छौं, घाइते भएका छौं । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं । तल खसेका छौं । तर अहिले पनि ठूलो शक्ति छौं,’ उनले भने, ‘लाखौं नेता कार्यकर्ताको साथ छ । हामीमा हिम्मत छ । आउँदो चुनावमा जितेर देखाउँछौं ।’

एमाले ठूलो चोटबाट पछारिएको भए पनि त्यसबाट आत्तिन र मात्तिन नहुने भुसालले बताए । ‘हामी बीचमा भाँडिएका थियौं । अब कसैलाई दोष होइन । म बाट के गल्ती भएको थियो भनेर सुधार्दै अघि बढ्नुपर्छ।’

नेता भुसालले पार्टी विभाजन जनविरोधी काम भएको बताउँदै माधवकुमार नेपालले पनि पार्टी छोड्नु सही हो या होइन आत्मसमीक्षा गर्नु पर्ने बताए । ‘उहाँले नबुझेको होइन जस्तो लाग्छ तर किन बुझ्नु भएन ?’ उनले भने, ‘विधान महाधिवेशनपछि एमाले सांगठनिक रुपमा व्यवस्थित हुने अवसर छ ।’


प्रकाशित : भाद्र ३०, २०७८ १९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×