१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेस महाधिवेशन : पेलेरै अघि बढे देउवा

देउवाइतर समूहको असहमतिबीच डडेलधुराका ५० वडामा अधिवेशन
प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितलाई बिहीबारको भेटमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका थिए, ‘डडेलधुरामा केही समस्या देखिएको छ । शुक्रबार अधिवेशन हुँदैन । केही दिन सारेर २७/२८ गतेतिर सल्लाह गरेर गरौँला ।’

कांग्रेस महाधिवेशन : पेलेरै अघि बढे देउवा

तर, बिहीबारै दिउँसो डडेलधुरामा खटिएका निर्वाचन अधिकृत लोकेन्द्र बमले विज्ञप्ति निकालेर भने– तोकिएको मितिमा वडा अधिवेशन हुन्छ । कोही पनि भ्रममा नपर्नुहोला । डडेलधुरामा विधिविपरीत क्रियाशील सदस्य थप गरिएको भन्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित देउवाइतर पक्षले अधिवेशन सार्नुपर्ने माग गर्‍यो ।

मल्लले विज्ञप्ति निकालेर अधिवेशन स्थगित गरे । विवादबारे निर्वाचन समिति र पार्टी दुवैलाई पत्राचार गरे । उपसभापति बिमलेन्द्र निधिले देउवालाई पत्राचारै गरेर सदस्यताको विवाद समाधान गरेरमात्रै अधिवेशन गर्ने वातावरण बनाउन आग्रह गरे ।

त्यही विषयमा शनिबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूवसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र जीवन परियारले बालुवाटार पुगेर ध्यानाकर्षण गराए, ‘पार्टीको अधिवेशन आन्तरिक चुनाव हो । पार्टीको चुनावमा राज्यशक्तिको प्रयोग नगर्नुहोला । सदस्यताको विवाद समाधान गरेर मात्रै अधिवेशन गरौँ ।’

तर, सभापति देउवा भने पछि हटेनन् । उनले गृहजिल्ला डडेलधुरामा सदस्यताको विवाद र जिल्ला सभापतिकै असहमतिबीच वडा अधिवेशन गराएका छन् । शुक्रबार डडेलधुराका दर्जनौँ वडामा अधिवेशन रोक्न देउवाविरुद्ध नाराबाजी भयो ।

अधिवेशन रोक्ने प्रयास भयो । कतिपय ठाउँमा त नेपाल प्रहरी र शशस्त्र प्रहरीसमेत परिचालन गरेर अधिवेशन गरिएको छ । शुक्रबार ५० वटा वडामा अधिवेशन भएको छ ।

क्रियाशील सदस्यताकै विवादका कारण कांग्रेसले समयमा महाधिवेशन गर्न सकेन । पार्टी र विधानको समयसीमा गुजार्‍यो । क्रियाशील नमिलेकै कारण देउवाले पटक–पटक अधिवेशन सारे ।

पार्टीमा आफूसँग स्पष्ट बहुमत हुँदापनि केन्द्रीय समिति र अन्य बैठकमा बहुमतले निर्णय नगरी विपक्षीका माग र मुद्दाको सम्बोधन गर्दै आएका देउवा महाधिवेशनको प्रक्रियामा भने अन्तत: पेलेरै अघि बढेका छन् ।

डडेलधुराबाट बाँकी २० जिल्लामा पनि सदस्यताको विषयमा देउवा पक्ष यसैगरी अघि बढ्नसक्ने संकेत गरेको छ । ‘अहिलेसम्म अधिवेशन भएका जिल्लामा क्रियाशील सदस्यताको विवाद त्यति धेरै थिएन । अब जहाँको सदस्यता सार्वजनिक हुन बाँकी छ, विवाद त त्यहाँ पो छ,’ एक केन्द्रीय सदस्यले भने ।

क्रियाशील सदस्य कांग्रेसको वडा अधिवेशनका मतदाता हुन् । त्यहीकारण नेताहरूले आफूअनुकुल सदस्य थप गर्ने प्रयास गर्छन् । देउवाले डडेलधुरामा त्यही गरेका छन् । जिल्ला सभापति मल्ल अहिले दोश्रो पटक सभापति हुन् ।

उनी १२ औँ र १३ औँ महाधिवेशनबाट जिल्ला सभापति भए । उनलाई देउवाले सघाए । देउवालाई उनले सघाए । तर, स्थानीय तहको चुनावपछि देउवा र जिल्ला सभापति मल्लको सम्बन्ध बिग्रियो ।

मल्लले डडेलधुरामै देउवाविरुद्ध गतिविधि सुरु गरे । देउवालाई त्यो सह्य हुने कुरै भएन । पार्टीको १४ औँ महाधिवेशनमा क्रियाशील सदस्य थप गर्दा मल्लले जिल्लाबाट प्रक्रिया पुर्‍याएर सदस्य थप गरेर पठाए ।

नयाँ सदस्य थप गर्न कम्तिमा चार तहको सिफारिस हुनुपर्ने व्यवस्था छ । तर, जिल्ला सभापति मल्लले चार तहबाट सिफारिस गरेर विधानअनुसार पठाएको ४६० जनाको नाम काटेर अरु नाम थपिएको गुनासो गरेका छन् ।

‘सदस्य थप गर्ने एउटा विधि हुन्छ । हामीले त्यो विधिअनुसार थपेर पठाएका हौँ । केन्द्रबाट त्यसरी काट्न कसरी मिल्छ ?,’ मल्लले भने ।

‘मान्छे छानी–छानी नाम काटिइएको छ । यतिसम्म कि वडासभापति र रुख चिन्हबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको समेत नाम काटिएको छ । समायोजनका नाममा पाँच सय हाराहारीको नाम थपिएको छ,’ जिल्ला सभापति मल्लले इकान्तिपुरसँग भने, ‘यस्तो अवस्थामा हामी कसरी अधिवेशनमा भाग लिने ?’

मल्लले जिल्लामा खटिएका निर्वाचन अधिकृतले समेत एकतर्फी ढंगले जिल्ला कार्यसमितिसँग परामर्श नै नगरी अलग्गै प्रहरीको सुरक्षा घेरामा बसेर अधिवेशन गराएको आरोप लगाए ।

‘हरेक वडामा प्रहरी खटिएका छन् । निर्दलीय व्यवस्थामा पनि यस्तो चुनाव हुँदैन थियो । यो त पार्टीको चुनाव हो, तर शाहीशासनमा कमल थापाले गराएको चुनावभन्दा कम छैन,’ उनले भने ।

जिल्लामा विधिविपरीत सदस्य थपिएको विषय उठाएपछि देउवाले स्थानीय तहसम्मको टिकट बाँडेर समेत कार्यकर्तालाई अधिवेशनमा सहभागी गराएको उनको आरोप छ । ‘मैले विधिको कुरा उठाएँ । तर, उहाँले बिधिविपरीत अधिवेशन गराउन स्थानीय तहको टिकट समेत बाँडिसक्नुभएको छ, यसरी पार्टीको हालत के हुन्छ ?,’ मल्लले प्रश्न गरे ।

यता निर्वाचन अधिकृत लोकबहादुर बमले भने शुक्रबार ५० वटा वडाको अधिवेशन सम्पन्न भएको बताए । ‘अमरगढी–८ र अजयमेरु–३ मा केही समस्या भयो । त्यहाँ अधिवेशन भएको छैन,’ बमले भने, ‘बाँकी सबै वडामा सर्वसम्मत अधिवेशन भइसक्यो ।’

उनले प्रहरी परिचालन गरेर जबर्जस्ती नगरिएको समेत दाबी गरे । ‘हामीले प्रहरी परिचालन गरेका होइनौँ, यसैपनि मतपत्र लगायत सामाग्रीको सुरक्षाका लागि केही प्रहरी बोलाउनैपर्‍यो, तर त्यस्तो बल प्रयोग गर्ने गरी प्रहरी परिचालन गरिएको होइन,’ उनले भने, ‘असन्तुष्ट केही साथीहरूले निर्वाचन प्रक्रियामा भाग नलिनुभएको हुनसक्छ ।’

डडेलधुरामा देउवाले पेलेरै वडा अधिवेशन गरेपछि वरिष्ठ नेता पौडेलले आपत्ति जनाएका छन् । ‘जिल्ला सभापतिकै सहभागिता बेगर शक्तिको दुरुपयोग गरी वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो । पार्टीको सिद्धान्त, निष्ठा र लोकतन्त्र, तर व्यवहार अलोकतान्त्रिक,’ पौडेलले भनेका छन्, ‘पार्टीको इतिहासमै आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ । महाधिवेशनको लागि यो शुभसंकेत होइन ।’

त्यस्तै, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले सामूहिक विज्ञप्ति जारी गर्दै डडेलधुरामा भएको वडा अधिवेशनको विरोध गरेका छन् ।

‘डडेलधुरामा विधि र प्रक्रिया विपरीत केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरू खारेज गरी विधिसम्मत रुपमा जिल्लाबाट पठाइएका क्रियाशील सदस्यहरूको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुरु गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोजिम विधिसम्मत अधिवेशन गराइनुपर्छ,’ विज्ञप्तिमा लेखिएको छ । १२ केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यसमितिको बैठक अविलम्ब बोलाउन र महाधिवेशन हुने वातावरण सुनिश्चित गर्नसमेत माग गरेका छन् ।

सदस्यताको विवाद मिलाउन नसकेका कारण कांग्रेसले वडा अधिवेशन गर्न बाँकी २० जिल्लामा ५ असोजमा वडा अधिवेशन गर्ने मिति तोकेको छ । शुक्रबार कार्यतालिकामै संशोधन गर्दै केन्द्रीय निर्वाचन समितिले २७ भदौका लागि तोकिएको पालिका तहको अधिवेशन ९ असोजका लागि सारेको छ ।

त्यस्तै, १२ असोजमा प्रदेशसभा क्षेत्रीय अधिवेशन, १५ असोजमा प्रतिनिधिसभा क्षेत्र र एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने नयाँ कार्यतालिका बनाएको हो ।

प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन भने यसअघि तोकिएकै मितिमा हुनेछ । कांग्रेसले मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

प्रकाशित : भाद्र २६, २०७८ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?