भर्चुअल लगानीमा अर्बौं फस्ने जोखिम

यस्ता अवैध अभ्यासले हुन्डीको कारोबार फस्टाउने, कालोधनको ओसारपसार सजिलो हुने र क्राउड वानले अफ्रिका महादेशका दसौं हजारलाई फसाइदिएकै शैलीमा नेपालीको लगानी डुब्ने खतरा पनि उत्तिकै

भाद्र २२, २०७८

जनकराज सापकोटा

काठमाडौँ — असार २० गते साँझ ६ः४५ मा सुरू भई करिब ९ बजे सकिएको ‘जुम मिटिङ’ मा ७ सय २० जना सहभागी थिए । उक्त भर्चुअल मिटिङको होस्ट थिए, योगेन्द्र मिलन छन्त्याल र को–होस्ट थिइन्, रिनु माया तामाङ । 

यी तीनै मिटिङमा नाम परिवर्तन गरेर कान्तिपुरकर्मी पनि सहभागी भएको थियो । सबै मिटिङ नेटवर्किङ शैलीको ‘हाइपर फन्ड’ भनिने भर्चुअल लगानीको प्लेटफर्ममा कसरी सरकारी नियमन छलेर लगानी गर्ने, कसरी पैसा कमाउने, कसरी सञ्जाल विस्तार गर्ने र कमाएको पैसा कसरी वैध बाटो छलेर नेपाल ल्याउने विषयमा केन्द्रित थियो । नेपालभित्रै र प्रवासमा रहेका सयौं नेपाली लगानी गर्न जुर्मुराइरहेको यो दृश्य पछाडिको कथा भने सोचेजस्तो उज्यालो छैन । 

लगानी गरिसकेका, गर्न खुट्टा उचालेका र लगानी गरेर धेरथोर प्रतिफल चाखिसकेकाहरू हाइपर फन्डमा मात्रै आकर्षित छैनन्, यस्तै भर्चुअल शैलीका जोसियल, सोलेम्याक्स, क्राउड वान, सीआरयू, विन्टर जस्ता दर्जनभन्दा बढी प्लेटफर्मतर्फ तानिइरहेका छन् । पछिल्लो समय अन्य प्लेटफर्मभन्दा हाइपर फन्डमा आकर्षित हुने नेपालीको संख्या बढिरहेको छ । डलरमा लगानी गर्नुपर्ने भए पनि नेपालभित्रै र प्रवासमा रहेका नेपालीमाझ यसको आकर्षण बढ्दो छ ।

प्रवासी नेपाली श्रमिकहरूको क्षेत्रमा कार्यरत संस्था प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले पनि प्रवासी नेपालीले अनेकन भर्चुअल नेटवर्कमा डलरमा लगानी गरिरहेको कुरा सुन्दै आएका छन् । उनले भने, ‘इजरायल र अस्ट्रेलियामा रहेका नेपाली र नेपालभित्रकै सयौंले यसमा लगानी गर्दै आएको सुनेको छु ।’ नेपालभित्रकै केहीले मनग्गे मुनाफाको लोभमा घरजग्गा बैंकमा धितो राखेरसमेत यस्ता भर्चुअल नेटवर्कमा डलरमा लगानी गरिरहेको सुनेको उनले बताए । ‘मौखिक र भर्चुअल रूपमा एकले अर्कोलाई फसाउँदै सदस्य बढाउने क्रम व्यापक देखिन्छ,’ उनले भने । धेरैजसो देशका बैंकमा सिधै रकम पठाउन सकिने सुविधा भएकाले कतार र दुबई लगायतका खाडी देशका नेपाली कामदार पनि यसमा आकर्षित भइरहेको उनी बताउँछन् ।

‘मुनाफाको कुनै कानुनी ग्यारेन्टी नभएको यस्तो अवैध खेलमा धेरै नेपाली फस्ने जोखिम देखिन्छ,’ उनले भने । नेपालभित्रै लगानी केन्द्रित नहुने, कार्यालयको कुनै भौतिक उपस्थिति नहुने र आम्दानी नेपाल भित्र्याउन अनेक छिद्र खोज्नुपर्ने भए पनि यस्ता भर्चुअल प्लेटफर्ममा लगानी बढाउन दैनिक कैयौं जुम, टेलिग्राम, ह्वाट्स एप र म्यासेन्जर ग्रुपमा कक्षाहरू सञ्चालन भइरहेका छन् । जस्तो कि, साउन १ गते हाइपर फन्डबारे मात्रै चारभन्दा धेरै जुम मिटिङ भएका थिए । यस्ता केही मिटिङ प्रवासमा बस्ने नेपालीले सञ्चालन गरिरहेको देखिन्छ भने धेरैजसो भारतीयले चलाउँछन् । बेलायत, पोर्चुगल, दक्षिण कोरियादेखि नेपाली कामदारको ठूलो संख्या रहेको खाडीका देश र मलेसियामा रहेका नेपाली यस्ता मिटिङमा सहभागी भएको देखिन्छ ।

यस्ता जुम मिटिङका होस्टहरूले सहभागीलाई आफ्नो ‘बल्छी’ मा पार्न सुरुमै आफूले थोरै लगानी गरेर मनग्गे कमाएको दाबी गर्छन् । असार २० को जुम मिटिङका होस्ट योगेन्द्रले पनि त्यस्तै दाबी गरे । उनले हाइपर फन्डमा लगानी गरे एकाध वर्षमै नेपालीको जीवनमा परिवर्तन आउने सुनाइरहेका थिए । हाइपर फन्डमा न्यूनतम सदस्यता शुल्क तीन सय डलर रहेको र त्यसका अलावा ५ सय डलर वा एक हजार डलर पनि सुरुमा लगानी गर्न सक्ने उनी बताउँछन् । जति लगानी गरिन्छ त्यसका आधारमा दैनिक ०.५ प्रतिशत मुनाफा हुने उनको दाबी छ । 

हाइपर फन्डलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न देशका सरकारले, अर्बपतिहरूले, तीन ठूला कम्पनी ब्लकचेन ग्लोबल, कोलिन स्टार र एचक्यास र ६ विभिन्न विश्वविद्यालयले सहयोग पुर्‍याइरहेको योगेन्द्रले सुनाए । कान्तिपुरले गरेको खोजमा उनले भनेजस्तो ब्लकचेन ग्लोबलले हाइपर फन्डलाई सघाइरहेको कुनै प्रमाण भेटिँदैन । हाइपर फन्डमार्फत लगानी गरिरहेको विषयमा ब्लकचेन कम्पनीको अस्ट्रेलिया र मलेसिया शाखालाई गरेको इमेलको तीन सातासम्म पनि कुनै जवाफ आएको छैन । 

योगेन्द्रको दाबीअनुसार ३० करोडभन्दा धेरै सदस्यता रहेको हाइपर फन्डमा सदस्य बनेर लगानी गरेपछि आफ्नो डिजिटल प्रोफाइलमा हरेक दिन नाफा देखिन्छ । त्यस्तो नाफालाई बैंक खातामा सार्न सकिन्छ । नेपालमा कुनै पनि क्रिप्टोकरेन्सी नचल्ने र राष्ट्र बैंकका अनुसार यसको कारोबार अवैध हुने बुझेका योगेन्द्रले सहभागीहरूलाई आश्वस्त पार्दै भनिरहेका थिए, ‘नाफा रकमलाई सोझै नेपाल भित्र्याउन नसकिए पनि अनेक उपायबाट ल्याउन सकिन्छ ।’ उक्त अन्तर्क्रियाबाटै प्रस्ट बुझिन्थ्यो, हाइपर फन्डमा खाडीदेखि अस्ट्रेलिया, पोर्चुगल, मकाउ, मलेसियालगायत देशमा छरिएका नेपालीले लाखौं रुपैयाँ लगानी गरिरहेका छन् । स्वदेशमै रहेकाहरूले पनि यस्तै खालका अनेकन भर्चुअल प्लेटफर्ममा डलर लगानी गरेर सदस्यता बनिरहेका छन् । 

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र नेपालभित्रबाट अनुमति नलिई डलरमा लगानी गर्नु गैरकानुनी काम भएको बताउँछन् । ‘विगतमा पनि नेटवर्किङ शैलीमा यस्ता कारोबार भएका थिए । स्वदेश वा विदेशमा हुने त्यस्ता कारोबार अवैध हुन्,’ उनले भने, ‘डलर देशका लागि भ्यालुएबल कुरा हो । कसैले डलर विदेश पठाएको मात्रै थाहा भयो भने पनि कारबाही हुन्छ ।’ 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले पनि असार ३० मा विज्ञप्ति निकालेर पछिल्लो समय अनलाइन माध्यमबाट फैलिरहेको नेटवर्किङ शैलीको कारोबारबारे चासो देखाएको थियो । ‘हाइपर फन्ड, जोसियल, सीआरयू, विन्टर, क्राउड वन, सोलेम्याक्स, प्वाइन्ट विसलगायत स्वदेशी तथा विदेशी व्यक्ति, फर्म, कम्पनीहरूले वस्तुको प्रत्यक्ष बिक्रीका नाममा गैरकानुनी रूपले अनलाइन माध्यमको प्रयोग गरी नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरेको’ विज्ञप्तिमा उल्लेख थियो । तर, हाइपर फन्डलगायत यस्ता अनेक प्लेटफर्ममा नेपालमै बसेर एजेन्टमार्फत र डिजिटिल प्लेटफर्ममार्फत डलरमा लगानी गर्नेहरूको संख्या धेरै छ । कानुनले बर्जित गरेको थाहा हुँदाहुँदै पनि हजारौं नेपालीले देशभित्र र बाहिरबाट नेटवर्क शैलीका यस्ता अनलाइन प्लेटफर्ममा भर्चुअल कुराकानीकै विश्वासमा लगानी गरिरहेका छन् ।

मनग्य मुनाफाको लोभ

न्युरोडमा कम्प्युटरका पार्टपुर्जाको व्यापार गर्ने श्रीधर (नाम परिवर्तन) ले अस्ट्रेलियामा बस्ने आफ्ना भाइले भनेपछि हाइपर फन्डबारे थाहा पाएको सुनाए । हाइपर फन्डका निम्ति काम गर्ने एक व्यापारी साथीलाई एक हजार डलर बराबरको नेपाली रुपैयाँ दिएपछि उनैले श्रीधरलाई सदस्यता दिलाइदिएका थिए । 

हाइपर फन्ड, जोसियल जस्ता अनलाइनमा आधारित नेटवर्किङबारे जानकार आईटी इन्जिनियर सन्तोष राउतलाई एक समय नजिकैका साथीभाइले हाइपर फन्डमा लगानी गर्न उक्साउँथे । तर हुन्डीकै माध्यमजसरी पैसाको कारोबार हुने, मुख्य सञ्चालक को हो भनेर पहिचान नहुने, भर्चुअल्ली फैलिएको संरचनाकै भरमा करोडौंको कारोबार हुनेजस्ता विशेषताका कारण उनले साथीभाइको कुरा पत्याएनन् । उनले सन् २०१६ मा अमेरिकी नागरिक रिचमन्ड बर्कस्ले सुरु गरेको नेटवर्क शैलीको विश्वव्यापी ठगी जालोको कथा फेरि दोहोरिन थालेको हो कि भन्ने चिन्ता व्यक्त गरे ।

रिचमन्डले भर्चुअल अफिस खडा गरेर आफ्नै डिजिटल क्वाइन रिचमन्ड बर्कस् डलर (आरबीडी) को घोषणा गरेका थिए । उनले लगानी गर्नेलाई प्रत्येक दिन १.४ प्रतिशत मुनाफा दिने र प्रत्येक सप्तान्तमा आरबीडी प्वाइन्ट्स ०.७ दिने घोषणा गरेका थिए । हाइपर फन्ड, जोसियल र क्राउड वानमा लगानी गरेका केही नेपालीहरूसँगको कुराकानीमा उनीहरूले भर्चुअल माध्यमबाट जोडेको सम्पर्क सूत्रको प्रयोग गरेर यसमा लगानी गर्ने र अरूलाई लगानी गर्न उत्प्रेरित गरिरहेको देखिन्छ । 

हाइपर फन्डका अधिकांश जुम मिटिङमा होस्टले एउटै कुरा बारम्बार दोहोर्‍याउँछन्, ‘लगानी गर्नुस्, मनग्गे कमाउनुस् । परिवारको सपना पूरा गर्नुस् ।’ असार २० को मिटिङमा आएका सयौं सहभागीलाई होस्ट योगेन्द्रले भनेका थिए, ‘मैले ८ महिना ३ दिन निरन्तर मिहिनेत गरेर मंगलबार एकै दिनमा २३ लाख ७८ हजार ५ सय ७८ रुपैयाँ मुनाफा गरेँ ।’ साउन १ मा सञ्चालित अर्को जुम मिटिङमा कतारको दोहामा कार्यरत एक नेपालीले हाइपर फन्डमा गरेको लगानीको अनुभव सुनाए । ‘सानो नदीमा भएको माछालाई यो नै संसार हो जस्तो लाग्छ । तर जब त्यो माछा समुद्रमा पुग्छ उसलाई लाग्छ, संसार ठूलो छ । यो ग्लोबल अवसर हो,’ मिठो शैलीमा उनले भने । 

नेपालमा सञ्चालनमा आएर कानुनी रूपमै बन्द गराइएका र हजारौंलाई ठगी गरेको आरोप खेपेको पिरामिड शैलीको नेटवर्किङ व्यवसायको जस्तै संरचना हाइपर फन्डले पनि सञ्चालन गरेको देखिन्छ । युनिटी, हर्बो, गोल्ड क्वेस्ट जस्ता नेटवर्किङको जालो देशभित्र मात्रै थियो, हाइपर फन्डमा भने यो दुवै देखिन्न । भर्चुअल माध्यमबाट सञ्जाल विस्तार हुने, कार्यालयको भौतिक स्वरूप नदेखिने र देशबाहिरबाट सञ्चालन हुने । 

२०२० नोभेम्बरमा बीबीसी अफ्रिकाले क्राउड वान भनिने अनलाइनमा आधारित पिरामिड शैलीको नेटवर्किङ बिजेनसको झूटबारे पर्दाफास गरेको थियो । शिक्षा, घुमफिर, मोबाइल गेमिङलगायत अनेक क्षेत्रमा लगानी गरेको बताउने क्राउन वानले सन् २०१८ मा ब्लकचेनमा आधारित क्रिप्टो करेन्सी निर्माण गर्ने घोषणा गरेको थियो । अफ्रिकामा ठगी धन्दा मच्चाएको क्राउड वानमा नेपालीहरूले पनि लगानी गरेको देखिन्छ । यद्यपि त्यो कति ठूलो संख्यामा छ, भन्न सकिन्न ।

पोखराका कपडा व्यवसायी विजयराज बरालले पनि विदेशमा बस्ने एक साथीबाट नेटवर्किङ शैलीको क्राउड वानबारे थाहा पाएका थिए । ती साथीले केही हजार लगानी गर्न सके मनग्गे कमाइ हुने बताएपछि विजय पनि हौसिए । कान्तिपुरसँगको कुराकानीमा उनले करिब एक वर्षअघि आफूले सुरुमा १४ हजार र पछि गरेर झन्डै ७० हजार लगानी गरेको सुनाए । जसरी हाइपर फन्डमा लगानीका फरकफरक स्किम छन्, क्राउड वानमा पनि विभिन्न स्किम छन् । जसमध्ये विजयले सुरुमा सामान्य प्याकेज र पछि प्लाटिनम प्रो भन्ने प्याकेज किने । ‘केही होला कि भनेर लगानी गरे पनि यस्तो लगानी गर्न म अरूलाई सुझाव दिन्न । मुनाफा भए पनि नेपाल ल्याउन गाह्रो रैछ,’ उनले भने, ‘धेरै नेपालीले कुरा नबुझीकन क्राउड वान जस्ता प्लेटफर्ममा डलरमा लगानी गरिरहेका छन् ।’

कारोबारको माध्यम फेसबुक र युट्युब 

हाइपर फन्ड भनेर सर्च गरियो भने दर्जनौं फेसबुक पेज र प्रोफाइल मात्रै खुल्दैनन्, यसमा लगानी गर्न प्रोत्साहित गरिएका कैयौं भिडियो सामग्री युट्युबमा भेटिन्छन् । कानुनले अवैध भने पनि हाइपर फन्ड जस्ता प्लेटफर्ममा डलरमा लगानी गर्ने क्रम व्यापक बन्दै गइरहेको छ । यस्तो व्यापकताले सरकारले अवैध भने पनि दसौं हजार नेपालीको लगानी जोखिममा छ । यस्ता अवैध अभ्यासले हुन्डीको कारोबार फस्टाउने, कालोधनको ओसारपसार सजिलो हुने र क्राउड वानले अफ्रिका महादेशका दसौं हजारलाई फसाइदिएकै शैलीमा नेपालीको लगानी डुब्ने खतरा पनि उत्तिकै छ ।

जेठ ८ मा आरपी सिर्जन नामले चिनाउने राजेन्द्र पौडेलले आफ्नो युट्युब च्यानलमा हाइपर फन्डबारे रिभ्यु गरेका छन् । करिब दुई महिनामा उनले बनाएको भिडियो ७८ हजारभन्दा धेरैले हेरेका छन् । डिजिटल मार्केटिङबारे जानकार र आफूलाई व्यक्तिगत वित्तीय व्यवस्थापनको ट्रेनर ठान्ने उनले हजारौं नेपालीले हाइपर फन्ड र यस्तै डिजिटल स्किमबारे भिडियो बनाएका छन् । ‘मनग्गे कमाइ हुने लोभमा हजारौं नेपालीले पैसा लगानी गरे पनि यस्ता कम्पनीको कुनै आधिकारिकता देखिन्न,’ उनले भने, ‘उक्त रकम कहाँ लगानी गरेका छन् भन्ने प्रस्ट छैन । सोझै मुनाफा वितरण गरेको पनि थाहा लाग्दैन ।’

उनले भनेजस्तै हाइपर फन्डले दिने मुनाफा मोलिक्युलर फ्युचर (एमओएफ) इथरियम नामक क्रिप्टोकरेन्सीमा दिन्छ । त्यसलाई भौतिक रुपैयाँमा रूपान्तरण गर्न विभिन्न क्रिप्टोकरेन्सी कारोबार गर्ने डिजिटल प्लेटफर्महरूको सहारा लिनुपर्छ । ओकेक्स तिनैमध्येको एक हो । हाइपर फन्डमार्फत प्राप्त एमओएफमा कर्न्भट गरेर त्यसबाट बिनान्से जस्ता क्रिप्टोकरेन्सी एक्सचेन्ज गर्ने डिजिटल प्लेटफर्ममार्फत नेपालका बैंक वा ई–सेवामा रकम ल्याउने गर्छन् । तर यस्ता क्रिप्टोकरेन्सीको कारोबारमा सघाउने वा एक्सचेन्ज गर्ने सबै डिजिटल प्लेटफर्मलाई संसारका सबै देशहरूले मान्यता दिइसकेका छैनन् ।

नेपालमा सरकारी मान्यता नभए पनि लगानीकर्ताले विभिन्न बिचौलियामार्फत आम्दानी भित्र्याइरहेका छन् । यस्तो प्रक्रियामा उनीहरूले ह्वाट्सएपमार्फत अपरिचित बिचौलियाको सहारा लिन्छन् । ‘हाइपर फन्ड जस्ता प्लेटफर्ममा गरिएको लगानी किन सोझो बाटो भएर सोझै डलरमा भुक्तानी हुँदैन ? किन चोर बाटोबाट मुनाफा ल्याउनुपर्छ ? यहींनेर लगानीकर्ताको लगानी असुरक्षित हुने खतरा हुन्छ,’ राजेन्द्रले भने ।

केन्द्रीय अनुसन्धान ब्युरोमा बसेर लामो समय काम गरेका एक प्रहरी अधिकारी लगानीको यस्तो शैलीले हुन्डी कारोबारीहरूलाई थप सजिलो बनाउने बताउँछन् । ‘त्यसै त हुन्डीको अनुसन्धान गर्न जटिल भइरहेको छ, त्यसमाथि भर्चुअल सहयोगमा हुने यस्ता कारोबारले हुन्डीलाई सजिलो पार्ने र अनुसन्धान जटिल बनाउने देखिन्छ,’ उनले भने । 

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा यस्ता खालका अन्तरदेशीय भर्चुअल नेटवर्कको कारोबारका नेपालीले डलरमै लगानी गर्ने गतिविधि कानुनी रूपमा अवैध हुने बताए । ‘मनग्गे मुनाफाको प्रचार गरिने यस्ता आर्थिक लगानीका प्लेटफर्म के हुन् ? यसमा डलरमा लगानी गर्नु कानुनसम्मत हो कि हैन भन्ने जस्ता विषयमा राष्ट्र बैंकले आफैं वा अरू कुनै निकायलाई अनुसन्धान गर्न लगाउनुपर्छ,’ उनले भने, ‘प्रतिबन्ध गर्न नसके पनि यसबारे खुला छलफल गराउने हो भने नेपालभित्र र प्रवासमा रहेका नेपालीले सही निर्णय लिन सक्छन् ।’

यसरी भइरहेछ कारोबार

विद्यमान नियमनकारी संयन्त्रको छिद्र छलेर नेपालबाटै डलरमा लगानी गर्न सकिने साइटहरूका कारण पनि अवैध भनिएको यस्तो कारोबार फस्टाइरहेको छ । प्याक्सफुल डटकम त्यस्तै एउटा साइट हो । जसले नेपालमै बसेर डलरमा हाइपर फन्ड जस्ता भर्चुअल प्लेटफर्ममा लगानी गर्न, क्रिप्टोकरेन्सी किन्न सघाइरहेको छ ।

नेपाली बैंक वा ईसेवा, खल्ती अथवा कनेक्ट आईपीएस जस्ता डिजिटल पेमेन्ट सेवा प्रदायकबाट प्याक्सफुल डटकमका एजेन्टको नेपाली खातामा रकम हालिदिएपछि उसले उक्त रकम बराबरको डलर प्याक्सफुल डटकमको खातामा देखाइदिन्छ । त्यसबाट सोझै हाइपर फन्ड जस्ता माध्यममा लगानी गर्न अथवा बिनेन्स जस्ता क्रिप्टोकरेन्सीको कारोबारमा सघाउने साइटमा डलर सारेर क्रिप्टोकरेन्सी किन्न सकिन्छ । 

ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हाइपर फन्ड जस्ता प्लेटफर्ममा हुने लगानीमा ईसेवाको प्रयोग भइरहेको बारे आफूहरूलाई थाहा नभएको बताए । ईसेवा पैसा ट्रान्सफरका निम्ति मात्रै प्रयोग गरिने भएकाले उक्त रकम कुन प्रयोजनमा कसले र किन ट्रान्सफर गर्‍यो भन्नेबारे आफूहरू जानकार नहुने उनको भनाइ छ । ‘गैरकानुनी गतिविधिमा प्रयोग गर्न हाम्रो माध्यम उपयोग भएको थाहा भएसम्म रोक्छौं,’ शर्माले भने, ‘शंकास्पद कारोबार थाहा पाए नियमनकारी निकायलाई खबर गरिहाल्छौं ।’

जनकराज सापकाेटा कान्तिपुर दैनिकको अनलाइन पोर्टल ईकान्तिपुर डटकमका सम्पादक हुन् । उनको 'जीवन कतिपय' निबन्ध संग्रह र गैरआख्यान पुस्तक 'कहर' लगायत प्रकाशित छन् ।

Link copied successfully