दार्चुला घटना र हेलिकोप्टर प्रकरणमा भारतलाई कूटनीतिक नोट पठाइयो

भाद्र २१, २०७८

काठमाडौँ — सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएकोबारे  भारत सरकारलाई  छुट्टाछुट्टै कूटनीतिक नोट पठाएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार दुवै पत्र कूटनीतिक च्यानल मार्फत् पठाइएको हो । 

ती घटनाहरूमा सरकारले मौनता साँधेको भन्दै सर्वत्र आलोचना भएपछि घटना भएको सरकार कूटनीतिक नोट पठाउन बाध्य भएको हो ।

साउन १५ मा महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र सुरक्षा (एसएसबी)ले  तुइन चुँडाइ दिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको घटनाको छानबिनका लागि सरकारी समिति बनेको थियो । उक्त समितिले पनि एसएसबीको संलग्नता रहेको उल्लेख गर्दै यो विषयलाई कूटनीतिक तबरबाट अघि बढाउन सरकारलाई सुझाव दिएको थियो ।

छानबिन समितिले समेत ठहर गरिसक्दा पनि सरकार चुपचाप बसिरहेको थियो  । यही बीचमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले यो घटनाको बारेमा थाहा नभएको भन्दै प्रतिक्रिया दिएका थिए । 

एक महिनासम्म पनि भारतमा यो विषयमा जानकारी नपुगेको भन्दै सरकारको थप आलोचना भएको थियो । यो बीचमा भारतसँग आफ्नो कुरा गर्नु भन्दा चीनसँगको सीमा विवाद रहेको भन्दै समिति बनाएपछि सरकारमाथि थप विरोध चुलिएको थियो । 

तुइन घटनाको विषयमा सरकार मौन रहेकै बेला भारतले नेपाली सेनाको ब्यारेकमाथि नै अनधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो । त्यो विषयमा पनि सरकार चुपचाप थियो । 

सम्बन्धित समाचारहरू:

Link copied successfully