‘एमसीसी’का विवादित बुँदा स्पष्ट पार्न सरकारद्वारा अमेरिकालाई पत्राचार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एमसीसी’का विवादित बुँदा स्पष्ट पार्न सरकारद्वारा अमेरिकालाई पत्राचार

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न अमेरिकालाई पत्राचार गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत एमसीसी मुख्यालयलाई पत्राचार गरेको हो ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीकाअनुसार एससीसीका विषयमा नेपालमा विभिन्न पक्षबाट उठाइएका विषयहरुलाई उतैबाट स्पष्ट पार्न पत्र पठाइएको हो । पत्रमा एमसीसी अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक रणनीति’ अन्तर्गत पर्छ कि पर्दैन, एमसीसी अन्तर्गत नेपालमा सुरक्षा प्रभाव हुन्छ कि हुँदैन, परियोजनाको लेखापरीक्षण नेपालबाट कि अमेरिकाबाट हुने, नेपालको संविधान र कानुनभन्दा माथि यो सम्झौता रहने कि नरहने भन्ने कुरा स्पष्ट पारिदिन अनुरोध गरिएको छ ।

एससीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने तयारी गरिरहेको सन्दर्भमा त्यसअघि नै स्पष्ट पार्ने गरी नेपाल सरकारले एससीसी मुख्यालयलाई पत्राचार गरेको हो । नेपाल सरकारको पत्राचार अनुसार एससीसी विवादित विषयलाई स्पष्ट पारेर त्यसको सन्देश नेपालमा प्रवाहित गर्नेगरी उपाध्यक्ष सुमारको भ्रमण हुन लागेको बताइएको छ ।

अर्थ मन्त्रालयको पत्रलाई सकारात्मक रुपमा लिएको अमेरिकी राजदूतावासका एक अधिकारीले जानकारी दिए । अर्थ मन्त्रालयबाट एमसीसी सम्झौताको सन्दर्भमा पत्र प्राप्त भएको र यो सम्झौता अनुमोदनका लागि सकारात्मक पहल भएको उनले बताए । उनले एमसीसी सम्झौताको सन्दर्भमा नेपाली जनतासँग पारदर्शी छलफलको लागि खुला गरेको पनि बताए ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ मा भएको यो सम्झौता अनुसार नेपालले उर्जा र सडक सम्बन्धी परियोजनाका लागि ५ सय मिलियन डलर अनुदान पाउने छ ।

प्रकाशित : भाद्र १८, २०७८ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रियताको मुद्दा सत्ता हत्याउने हतियारमात्र भयो : पौडेल 

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले नेपालमा राष्ट्रियताको मुद्दा सत्ता हत्याउने हतियारमात्र भएको टिप्पणी गरेका छन् ।अखिल(क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रि‍यात्मक गोष्ठीमा उनले यस्तो टिप्पणी गरेका हुन् । दलहरुले मुलुकको स्वाधीनताजस्तो गम्भीर र संवेदनशील विषयलाई समेत सत्ता प्राप्तिको भर्‍याङ बनाउन खोज्नु नेपाली राजनीतिको डरलाग्दो पक्ष भएको भन्दै नेता पौडेलले नक्कली राष्ट्रवाद भएकै कारण केपी औलीको राजनीति संकटमा धकेलिएको बताए ।

'राष्ट्रियताको मुद्दालाई दलीय राजनीतिको दाउपेच र सत्ता जोगाउने साधनको रुपमा प्रयोग गर्न खोज्दा नक्कली राष्ट्रवाद उदाङ्गो मात्र भएन केपी ओलीको राजनीतिसमेत संकटग्रस्त बनेको छ', माओवादी स्थायी समिति सदस्य रहेका पौडेलको भनाइ थियो ।

फरक प्रसंगमा नेता पौडेलले नेपाली वाम आन्दोलनलाई एकताबद्ध बनाउने जिम्मा एकपटक फेरि प्रचण्डको काँधमा आएको विचार व्यक्त गरे । केपी ओलीका लागि पनि यस्तो अवसर आएको तर उनी त्यसलाई सदुपयोग गर्न पूर्णत: असफल भएको भन्दै उनले भने 'अब मुलुकको वाम शक्तिको एकता र नेतत्व माओवादीले गर्छ र यसमा नेतृत्व कमरेड प्रचण्डले गर्नेछन् ।'

गोष्ठीमा अध्यक्ष रन्जित तामङ, पूर्वअध्यक्षहरु देवेन्द्र पराजुली, रत्न ढकाल, पदमराज जोशीसहित ग्रेटर नेपाल अभियानका संयोजक फणिन्द्र नेपाल, डा. विष्णु दाहाल र सीमाविद् रतन भण्डारीले धारणा राखेका अखिल(क्रान्तिकारी)प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

प्रकाशित : भाद्र १८, २०७८ १९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×