सत्ता गठबन्धनमा आबद्ध दलकै भ्रातृ संगठनले मोदीको पुत्ला जलायो - समाचार - कान्तिपुर समाचार

सत्ता गठबन्धनमा आबद्ध दलकै भ्रातृ संगठनले मोदीको पुत्ला जलायो 

कान्तिपुर संवाददाता

काठमाडौँ — दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागि रहेका बेला सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन नै विरोधमा उत्रिएको छ । नेकपा (एस)को  विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । 

अनेरास्ववियुका अध्यक्ष सुरेश पराजुलीको नेतृत्वमा रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा मोदीको पुत्ला दहन गरेको हो । भारतीय हेलिकोप्टरहरू अनुमतिबिनै पटक-पटक दार्चुलामा प्रवेश गरेको समाचार आएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काट्दा बेपत्ता रहेका जयसिंह धामीले न्याय पाउनु पर्ने माग गरेका थिए । त्यसैगरी भारतीय विस्तारवाद मुर्दावाद, भारतीय हस्तप बन्द गरलगायत भारतविरोधी नारा लगाएका थिए ।

प्रकाशित : भाद्र १८, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्

सल्यानमा बस दुर्घटना, १५ जना घाइते

विप्लव महर्जन

सल्यान — जिल्लामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट रुकुम पश्चिमका लागि छुटेको रा १ ख १७९२ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका ३ जुमपानीमा दुर्घटना भएको हो । बस अनियन्त्रित भए‍र सडकको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा कपुरकोट गाउँपालिका ५ की रेखा साहु, सीता बुढाथोकी, धनबहादुर रोका, यमकुमारी बोहरा, तीला महतारा, दार्मा गाउँपालिका ६ का प्रवेश बस्नेत, त्रिवेणी गाउँपालिका २ रुकुमका जोगबहादुर खड्का, शारदा नगरपालिका १५ का ताराप्रसाद नाथ, शारदा नगरपालिका ६ की कृष्णा गौतम, कुमाख गाउँपालिकाका हिरे राना लगायत छन् ।

अनियन्त्रित भएर भित्तामा ठोक्किएको बस सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । घाइते भएका सबैको राप्ती उपक्षेत्रीय अस्पताल तुल्सीपुरमा उपचार भइरहेको उनले जनाए । उनका अनुसार बस दुर्घटनामा परेपछि प्रहरी तथा स्थानीयले घाइतेको उद्धार गरेका थिए । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक पौडेलले बताए । उनका अनुसार दुर्घटनापछि बस चालक छत्रेस्वरी गाउँपालिका ३ दारिमज्युलाका ठाकुरसिं बिक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बसमा २८ जना यात्रु सवार थिए ।

प्रकाशित : भाद्र १८, २०७८ १५:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×