तुइन घटना : भारतसँग कूटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई पत्र पठायो - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुइन घटना : भारतसँग कूटनीतिक पहल गर्न गृहले परराष्ट्रलाई पत्र पठायो 

मातृका दाहाल

काठमाडौँ — महाकाली नदी पार गर्नेक्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का जवानले तुइनको लठ्ठा खुस्काइदिएपछि नेपाली युवा जयसिंह धामी बेपत्ता भएको जघन्य अपराधसम्बन्धी घटनाको अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ ।

सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठिन छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाउँदै दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न भनेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने यसबारे बोल्न चाहेनन् । ‘छानबिन प्रतिवेदनबाट प्राप्त तथ्यबारे संक्षिप्त व्यहोरा हामीले मंगलबार नै अवगत गराइसकेका छौं, यसबाहेक अरु विषयमा अहिले बोल्न म असमर्थ छु ।’ तर, स्रोतका अनुसार गृहले बुधबार दिनभर पत्रको व्यहोरा र कूटनीतिक पहलका लागि गरिने विषयबारे आन्तरिक समीक्षा, परामर्श र सम्बन्धित अधिकारीसँग छलफल गरेको थियो । त्यसपछि परराष्ट्रलाई पत्र पठाइएको स्रोतको भनाई छ ।

२०७८ साउन १५ गते भारतको पाङला गाउँ नजिकै गस्कु इलाकामा खटिएका एसएसबीका जवानले महाकालीमा टाँगिएको तुइनको लठ्ठा खुस्काउँदा दार्चुला ब्यास गाउँपालिका–२, खाङदाङ (माल)का ३३ वर्षीय धामी उर्लदों भेलमा खसेर हराएका थिए । अहिलेसम्म धामीको अवस्था अज्ञात छ । घटनापछि जिल्ला प्रहरी कार्यालय दार्चुलाले खोजबिन जारी राखेपनि भारतीय प्रशासन र सुरक्षानिकायबाट अनुसन्धानमा सहयोग भएको छैन ।

घटनाको तेस्रो दिन साउन १७ मा गृहमन्त्री बालकृष्ण खाँणले यससम्बन्धी सत्यतथ्य पत्ता लगाउन सहसचिव गौतमको संयोजकत्वमा समिति गठन गरेका थिए । समितिले मंगलबार मन्त्री खाँणलाई प्रतिवेदन बुझाउँदै घटना गस्कुमा रहेका एसएसबीका जवानले तुइनको लठ्ठा खुस्काएका कारण भएको भन्दै अपराधमा संलग्नलाई भारतबाटै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन र धामीका परिवारलाई उचित राहत तथा क्षतिपूर्ती दिलाउन कूटनीतिक पहलअघि बढाउन सुझाव दिएको थियो ।

सोही सुझावका आधारमा गृहसचिव टेकनारायण पाण्डेले सचिवस्तरीय निर्णय गरी प्रतिवेदनसहित परराष्ट्रलाई पत्र पठाएका हुन् । घटनाको महिनादिन बितिसक्दा पनि यसबारे परराष्ट्रले कुनै प्रतिक्रिया जनाएको छैन । भारतीय प्रशासन र सुरक्षा निकायले पनि एसएसबीको संलग्नता अस्वीकार गर्दै घटना ढाकछोपमा लागेका थिए । तर, नेपालबाट भएको छानबिनमा एसएसबीको संलग्नता पुष्टि भइसकेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस महाधिवेशन : काठमाडौंसहित २१ जिल्लामा वडा अधिवेशन अनिश्चित

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसले शुक्रबारबाट १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सुरु गर्दैछ । तर, राजधानी काठमाडौंसहित २१ वटा जिल्लामा अझैपनि क्रियाशील सदस्यकै टुंगो लागेको छैन । विवादका कारण ती जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनिक पनि भएको छैन ।

हरेक वडा क्षेत्रका कांग्रेसका क्रियाशील सदस्यनै सम्बन्धित वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यमध्येबाटै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु चयन हुन्छन् । वडा अधिवेशनको मितिसम्म पनि क्रियाशीलको विवाद नटुंगिएपछि ती जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ । क्रियाशीलको नामावली नै नपाएपछि ती जिल्लाको वडा अधिवेशन कहिले हुने ? भन्ने प्रश्नको जवाफ केन्द्रीय निर्वाचन समितिसँग पनि छैन । समितिले क्रियाशील सदस्यको नामावली प्राप्त भएका ५६ जिल्लामा भने निर्वाचन अधिकृतहरु खटाएर शुक्रबार वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार ५६ जिल्लाका ८० प्रतिशत वडाहरुमा अधिवेशन हुने बताए । ‘शुक्रबारबाट वडा अधिवेशन प्रारम्भ हुन्छ । ५६ जिल्लाका ८० प्रतिशत ठाउँमा अधिवेशन हुन्छ । बाँकी ठाउँमा भदौ २६ गतेभित्र भइसक्छ,’ शर्माले भने ।

निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले पनि क्रियाशील सदस्यको नामावली प्राप्त भएका वडाको अधिवेशनको तयारी अघि बढेको बताए । ‘हामीले ५६ वटै जिल्लामा तयारी गरेका छौँ । कतिपय जिल्लाको अवस्थालाई हेरेर अर्को दिन गर्ने मिति तोकिएको छ । यी जिल्लामा २६ भदौभित्र सबै वडामा अधिवेशन भइसक्छ,’ घिमिरेले कान्तिपुरसँग भने । तर, क्रियाशीलको नामावली नै सार्वजनिक नभएका जिल्लाको अधिवेशनबारे भने आफूहरुलाई जानकारी नभएको उनले बताए ।

‘क्रियाशील पाएपछि हामीले प्रक्रिया अघि बढाउने हो । अहिलेसम्म २१ जिल्लाको सदस्यता हामीले पाएका छैनौं । मतदाताको नामावली नै नटुंगिएसम्म त हामीले अधिवेशनको प्रक्रिया अघि बढाउने कुरा पनि भएन,’ घिमिरेले भने, ‘ती जिल्लाका सदस्यको नामावली प्राप्त भएपछि मात्रै प्रक्रिया अघि बढ्छ ।’

काग्रेसले प्रदेश नं. २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्यको टुंगो लगाउन सकेको छैन । सो प्रदेशका आठवटै जिल्लामा विवाद कायमै छ । क्रियाशील सदस्यको नामावली पनि सार्वजनिक भएको छैन । त्यस्तै, प्रदेश १ को मोरङ, वाग्मती प्रदेशका काठमाडौं, काभ्रे, रसुवा र सिन्धुपाल्चोक, लुम्बिनी प्रदेशका बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेल्धुरा र कैलालीका क्रियाशील सदस्यको विवाद टुंगिएको छैन ।

नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सैद्धान्तिक सहमति गरेर क्रियाशीलको समाधान भएको भन्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो । तर, त्यो प्रतिवेदनको कार्यान्वयन गर्ने गरी सम्बन्धित जिल्लाको प्राविधिक काममा ढिलाई भएको नेताहरुको भनाइ छ ।

बिहीबार बिहान रौतहटका नेता कार्यकर्ताले बालुवाटार पुगेर सभापति देउवालाई भेटे । र आफूहरुको समस्या सुनाए । जवाफमा देउवाले अब छिट्टै समस्या समाधान गरी अधिवेशनको प्रक्रिया अघि बढाउने आश्वासनसमेत दिए । तर, तत्कालै विवाद समाधानको सम्भावना नरहेको एक केन्द्रीय सदस्यले बताए । ‘काम धेरै बाँकी छ, तर कहिले ? कसरी ? समाधान भइसक्छ भनेर चाहिँ भन्न सक्दिनँ,’ ती नेताले भने ।

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमै ८ लाख ५२ हजार ७११ जनाको नामावली छानबिन गरी केन्द्रीय समितिलाई बुझाएको थियो । त्यसबाहेक सिटौला नेतृत्वको कार्यदलले सहमति गरे बमोजिम कति जना सदस्य थपिएका छन् भन्ने एकिन भएको छैन ।

समयमा महाधिवेशन नगरेका कारण २३ भदौपछि कांग्रेसको वैधानिकता के हुने ? भन्ने अन्योल छ । विधान र संविधानको व्यवस्थाबमोजिम कांग्रेसले २३ भदौभित्र निर्वाचन आयोगमा प्रदेश र संघीय कार्यसमितिको निर्वाचन गरेर निर्वाचित पदाधिकारीहरुको विवरण अद्यावधिक गरिसक्नुपर्ने हो । तर, कांग्रेसले क्रियाशील सदस्यताको विवादका कारण समयमै महाधिवेशन गर्न सकेन । कम्तिमा त्यो मितिभित्र वडा अधिवेशन सुरु गरेर भएपनि पार्टीको वैधानिकता बचाउन सकिने भन्दै नेताहरुले १८ भदौदेखि महाधिवेशन गर्ने कार्यतालिका ल्याएका हुन् । तर, यो मितिमा पनि सबै वडामा एकैसाथ अधिवेशन नहुने भएको हो ।

क्रियाशीलकै कारण कांग्रेसले यसअघि तीन पटकसम्म केन्द्रीय महाधिवेशन नै स्थगित गरेको थियो । यसपटक ल्याएको कार्यतालिका चौँथो हो । जसअनुसार काग्रेसले गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने कार्यतालिका छ ।

त्यस्तै, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय तथा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते र प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ । त्यस्तै, आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ ।

क्रियाशील सार्वजनिक भएका जिल्ला

कांग्रेसले अहिलेसम्म ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, झापा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर र सुनसरीको सदस्यता सार्वजनिक गरिसकेको छ । यस्तै, दोलखा, मकवानपुर, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर, धादिङ, चितवन, लमजुङ, बागलुङ, तनहु, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, रुकुमपूर्व, रोल्पा, रुकुम पश्चिम, मुगु, जाजरकोट, अर्घाखाँची, दैलेख र बझाङको सदस्यता सार्वजनिक गरेको छ भने डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, कैलाली, गुल्मी, प्युठान, दाङ, सल्यान, कालिकोट, जाजरकोट, दैलेख र अछामको पनि नामावली प्रकाशित गरिसकेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ १५:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×