१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दार्चुला घटनामा सरकारको अलमल : छानबिन समितिको म्याद चौथोपटक थप गर्ने तयारी

काठमाडौँ — सरकारले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिको चौथोपटक म्याद थप गर्ने तयारी गरेको छ । घटनाको अनुसन्धान र प्रतिवेदन लेखन कार्य पूरा नभएको भन्दै गृह मन्त्रालयले अझै केही दिन म्याद थप गर्ने तयारी गरेको हो ।

दार्चुला घटनामा सरकारको अलमल : छानबिन समितिको म्याद चौथोपटक थप गर्ने तयारी

‘काम सकिएको छैन । त्यसैले छानबिन समितिको म्याद अझै केही दिन थप्ने तयारी छ । प्रतिवेदनको तयारीको काम हुदैछ,’ मन्त्रालय स्रोतले भन्यो ।

गत १५ साउनमा तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तार काटिदिँदा व्यास गाउँपालिका–२ का ३३ वर्षीय धामी बेपत्ता भएका थिए । घटनाको छानबिन गर्न १७ साउनमा १० दिनको समय दिएर मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो । तर, समयसीमाभित्र समितिले प्रतिवेदन दिन सकेन । त्यसयता सरकारले समितिको म्याद तीन पटक थप गरिसकेको छ । ‘यसअघि थप गरिएको म्याद १६ भदौमा सकिदैँछ । त्यसपछि कति दिन थप गर्ने भन्ने टुंगो लागेको छैन,’ ती अधिकारीले भने ।

सोमबार बिहानमात्रै पनि सत्तारुढ गठबन्धनकै विभिन्न दलका नेताहरुले घटनाबारे सरकारले अडान लिन नसकेको र प्रतिवेदन दिन समेत ढिला गरेको भन्दै असन्तुष्टि जनाएका थिए । तर, सरकारले भने छिटो प्रतिवेदन दिनेभन्दा पनि समितिको म्याद थप गर्ने तयारी अघि बढाएको छ । ‘जयसिंह धामी प्रकरणमा सरकारको धारणा के हो ? त्यसबारे प्रतिवेदन दिन किन ढिला भएको हो ?,’ बैठकमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देउवालाई सोधेका थिए । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पनि धामी प्रकरणमा सरकारले प्रतिवेदन सार्वजनिक गर्न र आफ्नो धारणा राख्न किन ढिला गरेको हो ? भन्दै जिज्ञासा राखेका थिए । तर, देउवाले कुनै जवाफ फर्काएनन् । ‘अब छिट्टै हुन्छ,’ उनले संक्षेपमा जवाफ फर्काएका थिए ।

छानबिन समितिमा नेपाल प्रहरीका सुदूरपश्चिम प्रमुख प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् ।

प्रकाशित : भाद्र १४, २०७८ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?