कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको आग्रह : सिसडोल जाने सडक बनाइदिनुस्

फोहोर व्यवस्थापनमा सघाउन आग्रह गर्दै काठमाडौंका जनप्रतिनिधिले भेटे प्रधानमन्त्री

काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर काठमाडौंको फोहोर व्यवस्थापनमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

प्रधानमन्त्रीलाई काठमाडौंका मेयरको आग्रह : सिसडोल जाने सडक बनाइदिनुस्

‘काठमाडौं उपत्यकाका सडक र चोकैपिच्छे फोहोर थुप्रिएको छ । डम्पिङ साइटसम्म पुग्ने सडक बिग्रिएको छ । वर्षाका कारण तत्कालै फोहोर डम्पिङ गर्न समस्या भइरहेको छ,’ भेटमा मेयर शाक्यले प्रधानमन्त्रीसँग भनेका थिए, ‘मुख्य कारण सडक हो । फोहोर बोकेका गाडी डम्पिङ साइटसम्म पुग्नै सक्दैनन्, त्यसैले सिसडोलसम्म जाने सडक बनाइदिनुपर्‍यो ।’

जवाफमा देउवाले फोहोर व्यवस्थापन नहुँदा समस्या भएको भन्दै त्यसको समाधानका लागि आफू सकारात्मक भएको बताएका छन् । उनले तत्कालै सडक विभागका प्रमुखसँग टेलिफोन सम्पर्क गरेर तत्काल बाटो बनाउन निर्देशनसमेत दिएका छन् ।

शाक्यले यसअघि ८ भदौमै प्रधानमन्त्रीलाई चिठी लेखेर फोहोर व्यवस्थापनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । काठमाडौंसहित उपत्यकाको फोहोर व्यवस्थापनको कार्य काठमाडौं महानगरपालिकाले गर्दै आएको छ । तर, वर्षाका कारण सडक बिग्रिएपछि फोहोर बोकेका गाडी ल्याण्डफिल्ड साइटसम्म पुग्‍न नसक्दा फोहोर व्यवस्थापन ठप्प बनेको थियो ।

प्रधानमन्त्रीलाई फोहोर व्यवस्थापनमा सघाउन आग्रह गर्दै काठमाडौंका मेयर शाक्य, उपमेयर हरिप्रभा खड्गीलगायत बालुवाटार पुगेका थिए । भेटमा महानगरका जनप्रतिनिधिले फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट यथाशिघ्र निर्माण गरी हस्तान्तरण गर्ने वातावरण बनाइदिन समेत आग्रह गरेका थिए ।

सामान्य अवस्थामा काठमाडौं उपत्यकाबाट दैनिक एक सय ट्रक फोहोर उत्सर्जन हुन्छ । तर, अहिले दैनिक ५० ट्रकमात्रै फोहोर उठिरहेको छ । त्यहीकारण सडकमा फोहोर थुप्रिएको महानगरले जनाएको छ ।

प्रकाशित : भाद्र १४, २०७८ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?