पहिरोले बुटवलमा ७ घर पुरिए

भाद्र १४, २०७८

अमृता अनमोल

बुटवल — अविरल वर्षासँगै बुटवलमा सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार पहिरोले अम्मर विक,  सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ । 

बुटवलमा अहिले पनि वर्षा भइरहेको छ । चुरेबाट लेदो बग्ने क्रम अहिले पनि जारी छ ।  पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोको क्षति बढ्न सक्ने भन्दै सुरक्षाकर्मी र स्थानीय युवा क्लब पीडितको उद्धारमा जुटेका छन् । विस्थापितलाई आफन्त एवं कसैलाई बुटवल बहुमुखी क्याम्पसमा आश्रयका लागि राखिएको छ ।

बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिंगो बुटवल नै प्रभावित हुने विज्ञहरुले चेतावनी दिएका छन् । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully