कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुइनबाट धामी महाकालीमा खसेको घटनाको छानबिन प्रतिवेदन बनिसकेको छैन : गृहमन्त्री

काठमाडौँ — महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खुस्काउँदा दार्चुलाका जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन तयार पारिनसकेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । 

तुइनबाट धामी महाकालीमा खसेको घटनाको छानबिन प्रतिवेदन बनिसकेको छैन : गृहमन्त्री

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री खाँणले छानबिन समितिमा रहेका सदस्यहरूको पारिवारिक कारणले प्रतिवेदन तयार हुन नसकेको बताएका हुन् ।

'छानबिन समितिमा समावेश रहनुभएको दार्चुलाको सहायक सीडीओ ज्योत्सना भट्ट नातेदार बिरामी भएकाले दिल्ली जानुभएको रहेछ । दिल्लीबाट इमेल पठाउनुभएको छ, दुईचार दिन लाग्छ भनेर । डीआईजी हुतराज थापाको परिवारका आफन्त बितेका कारण उहाँ आफ्नो स्थानतिर गएका कारणले उपलब्ध हुन नसकेकाले अन्तिम रिपोर्ट बनाउनुभएको छैन,' गृहमन्त्री खाँणले भने । समितिको म्याद बुधबार केही दिनका लागि थप गरेको पनि उनले जानकारी दिए । 'उहाँहरूले सत्यतथ्यका आधारमा रिपोर्ट बुझाउनुहुनेछ भन्ने विश्वास छ,' उनले भने ।

भारतको बाटो भएर सदरमुकाम खलंगा आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा खसेर बेपत्ता भएका थिए ।

उक्त घटनाको छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा साउन १७ गते ५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिको तीन पटक म्याद थप गरिसकिएको छ

घटनाको छानबिन गर्नक लागि गठित समितिले नेपाल र भारततर्फका घटनास्थलको अवलोकन गरेको थियो भने दुवैतर्फका स्थानीयबाट जानकारी लिएको थियो ।

गृहमन्त्री खाँणले महाकाली नदीमा रहेका तुइन हटाउने र झोलुंगे पुल निर्माणलाई तीव्रता दिनका लागि पनि निर्देशन दिइएको बताएका छन् ।

प्रकाशित : भाद्र १०, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?