३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

मोदीका विश्वासपात्रको दौडाहा

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपालमा नयाँ सरकार गठन भएसँगै नेपाल भ्रमणका आएका भारतीय सत्तारूढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेले शीर्ष नेताहरूसँगको भेटवार्ता तीव्र पारेका छन् ।

मोदीका विश्वासपात्रको दौडाहा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘दूत’ का रूपमा चारदिने भ्रमणमा आएका चौथाइवालेले सोमबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग उनीहरूकै निजी निवासमा पुगेर भेटवार्ता गरे । उनले आइतबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकारी निवास बालुवाटार भेटवार्ता गरेका थिए ।

चौथाइवालेले एक ट्वीट गर्दै आफूले पछिल्लो २४ घण्टामा नेपालका शीर्ष चार नेतासँगको भेटवार्ता गरेको उल्लेख गरेका छन् । ‘उनीहरूले पार्टी–पार्टी बीचमा लगातार संवाद गर्ने चाहना पनि व्यक्त गरेका छन्,’ चौथाइवालेले ट्वीटमा लेखेका छन् । प्रधानमन्त्री देउवासँगको भेटबारे उल्लेख गर्दै कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले ‘दुई देश र पार्टीबीचको सम्बन्धलाई अघि बढाउने’ विषयमा छलफल भएको बताए । एमालेका एक नेताका अनुसार ओलीसँगको कुराकानीमा उनले सम्बन्ध सुधारका विषयमा जोड दिएका थिए ।

त्यस्तै, दाहाल र चौथाइवालेबीच नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल भएको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । उनले ठाकुरलाई नयाँ पार्टी गठन गरेकोमा बधाई दिँदै दुई मुलुकबीच सहकार्य गर्ने विषयमा जोड दिएका थिए । नेपालमा ओली नेतृत्वको सरकार रहँदा भारतले सांकेतिक रूपमा ओलीलाई नै सत्तामा रहेको हेर्न चाहेको थियो । तर साउन २८ को सर्वोच्व अदालतको फैसलापछि नयाँ सरकार बनेपछि भारतको छिमेकी नीतिमा फरक महसुस भएको छ ।

सुरुमा मोदी सरकार र ओली सरकारबीच ‘पानी बारबारकै सम्बन्ध’ थियो । ओलीले हरेक भाषणमार्फत भारतलाई गाली गर्थे । तर तत्कालीन नेकपाभित्रको विवाद र आफ्नै पार्टीका नेताहरू पुष्पकमल दाहाल र माधवकुमार नेपालले सत्ता छाड्न ओलीलाई दबाब दिएपछि उनी भारतसँग नजिकिए । त्यसलाई दाहाल र नेपाल चिनियाँ नेतृत्वसँग नजिकिएको रूपमा अर्थ्याइयो । सरकार गठनताका चीनसँग निकट ठानिएका ओली बाहिरिँदा भारतनिकट भए । २०७७ जेठमा नेपालले कालापानी, लिपुलेकसहितको चुच्चे नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो ।

भूराजनीतिक मामिलाका जानकार प्राध्यापक श्रीधर खत्री पछिल्लो समय चिनियाँ कम्युनिस्ट पार्टीले मात्र नेपालका राजनीतिक दलहरूसँग सहकार्य गर्दै आएकोमा यसपटक भारतले पनि त्यसलाई निरन्तरता दिन खोजेको मान्छन् । उनले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको काठमाडौं भ्रमणले मोदीलाई छिमेक नीतिमा निर्णय गर्दा भारतको कर्मचारीतन्त्र, सुरक्षा निकायबाट मात्र होइन, पार्टीकातर्फबाट पनि नेपालको परिवेशको आंकलन गरेर सहयोग गर्न खोजेको देखिने बताए । ‘भारतमा अरू पार्टीको भए पनि त्यो कर्मचारीतन्त्रकै प्रक्रियाबाट विदेश मामिलामा गृहकार्य हुन्थ्यो । तर अहिले भाजपाबाट पनि विदेश मामिलामा प्रधानमन्त्री मोदीलाई सहयोग गर्न गृहकार्य भएको देखिन्छ,’ उनले भने, ‘भारतले नेपालमा के कसो भइरहेको छ भनेर नाडी छाम्न प्रतिनिधि पठाएको हो ।’

असार २८ गते नेपालका ५ पूर्वप्रधानमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै तत्कालीन ओली सरकारलाई भारतको साथ रहेको भन्दै सांकेतिक रूपमा विरोध जनाएका थिए । जसलाई लिएर भारत र पाँच पूर्वप्रधानमन्त्रीहरू देउवा, दाहाल, नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईबीचको सम्बन्धमा चिसोपना आएको थियो । काठमाडौंस्थित भारतीय दूतावास र नयाँदिल्लीस्थित साउथ–ब्लकले नेपालका पूर्वप्रधानमन्त्रीहरूको विज्ञप्तिलाई लिएर आन्तरिक रूपमा असन्तुष्टि जनाएको थियो । कान्तिपुरसँगको कुराकानीमा भारतका कूटनीतिक पदाधिकारीले नेपालको आन्तरिक राजनीतिमा आफूहरूलाई अनावश्यक रूपमा तानेको बताएका थिए ।

ओली सरकारको बहिर्गमन र भारतविरुद्ध विज्ञप्ति निकाल्ने पाँचै जना पूर्वप्रधानमन्त्रीहरू समर्थित संयुक्त गठबन्धन सरकार बनेपछि मोदीले नेपालमा सम्बन्ध सुधार गर्न चौथाइवालेलाई नेपाल पठाएका हुन् । मोदीले विदेशमन्त्री वा विदेश मन्त्रालयका प्रतिनिधिभन्दा पनि राजनीतिक दलका नेतालाई पठाएर राजनीतिक सहकार्य र पार्टीबीचको सहकार्य अघि बढाउने रणनीति अघि सारेका हुन् । मोदीले तत्कालीन प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न ०७७ कात्तिकमा भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्त गोयललाई काठमाडौं पठाएका थिए । अर्को महिना मोदीले आफ्नो दूतको रूपमा ओलीलाई भेट्न चौथाइवालेलाई नै काठमाडौं पठाएका थिए । मोदीले नेपाल मामिलामा कूटनीतिकभन्दा पनि खुफिया र राजनीतिक मामिलाबाट अघि बढ्न खोजेका प्रस्ट देखिन्छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटा भारतले नेपालसँग पार्टीगत रूपमा सम्बन्धलाई अघि बढाउन खोजेको देख्छन् । ‘तर कूटनीतिक रूपमा नै जुनसुकै मुलुकसँग पनि नेपालले राज्यस्तर र कूटनीतिक सम्बन्ध विस्तार गर्नुपर्छ,’ उनको सुझाव छ । सीपीसीले पनि नेपाली दलहरूसँग सहकार्य गरेको भए पनि त्यहाँको राजनीतिक प्रणाली फरक भएको उनले बताउ । ‘भारतको सत्तारूढ दलबाट भएको भ्रमणलाई त अन्यथा लिनु हुँदैन । तर नेपाल र भारतबीच जे–जस्ता मुद्दा छन्, ती सरकारी तहमै सुल्झाउँदा राम्रो हुन्छ,’ उनले भने, ‘यसलाई कूटनीतिक हिसाबमा हेर्दा ट्र्याक–टु डिप्लोमेसी नै हो ।’ चौथाइवालेको पछिल्लो भ्रमणले दुई मुलुकबीचको ‘ट्र्याक–वान डिप्लोमेसी’ लाई अघि बढाउन सहयोग गर्ने उनको दाबी छ ।

भारतले एक असल छिमेकीका रूपमा नेपालको प्रणालीलाई नै बलियो बनाउन सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ८, २०७८ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?