कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

दुई महिनामै तीन ठाउँ सरे राउटे

विप्लव महर्जन

सल्यान — फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दुई महिनामा ३ ठाउँ बसाइँ सरेका छन् । झन्डै डेढ महिनाको अवधिमा समुदायका ४ जनाको मृत्यु भएपछि उनीहरूले सल्यान र सुर्खेतको विभिन्न ठाउँमा बासस्थान फेरेका हुन् । 

दुई महिनामै तीन ठाउँ सरे राउटे

सुर्खेतबाट असार ७ मा सल्यानको कालीमाटी–५ काल्चेडाँडामा बस्दै आएका उनीहरू चिउरीबास हुँदै सुर्खेतको गुर्भाकोट नगरपालिका–१ गुर्भाकोटडाँडामा सरेका हुन् । वर्षाका कारण जताततै हिलाम्मे भएपछि उनीहरू बासस्थान अभावमा सडकमै लहरै छाप्रो बनाएर बस्दै आएका छन् ।

कालीमाटी–५ काल्चेमा २९ वर्षीय मानसिंह शाही, ३४ वर्षका दलबहादुर शाही, ७ वर्षीया बालिका दवी शाही र चिउरीबासमा डेढवर्षे बालक मयो शाहीको मृत्यु भएपछि उनीहरू गुर्भाकोटमा बसाइँ सरेका हुन् । राउटे समुदायमा कसैको मृत्यु भए उक्त ठाउँलाई अशुभ मान्ने चलन छ । राउटे मुखिया सूर्यनारायण शाहीका अनुसार दुई पुरुष र दुई बालबालिकाको अकालमै ज्यान गएको बताए । ‘वर्षाको समय भएकाले चिसो हुँदा बस्नै समस्या भएको छ,’ उनले भने, ‘बासस्थान नै गतिलो नहुँदा सडकमा बस्न बाध्य छौं ।’

बासस्थान सारेलगत्तै अहिले आफूहरूलाई खाद्यान्न तथा अन्य सामग्रीको समस्या भएको मुखिया शाहीले बताए । ‘हाम्रो समुदायमा केही मानिस अझै बिरामी छन्,’ उनले भने, ‘तर जडीबुटीको भरमा उपचार गर्न बाध्य छौं ।’ आफूहरू १० वर्षपछि सल्यानको काल्चेडाँडामा फर्केको र अहिले बसेको स्थानसमेत अशुभ भएपछि जाजरकोट जाने तयारी गरेको उनले बताए ।

३ वर्षदेखि राउटे बालबालिकालाई पढाउन सहजकर्ताको रूपमा खटिएकी दुर्गा खत्रीले कोही मर्नेबित्तिकै बासस्थान सर्ने राउटेहरूको पुस्तौंदेखिको चलन भएको बताइन् । उनका अनुसार सल्यानका दुई ठाँउमा ४ जनाको मृत्यु भएपछि राउटे समुदायका अगुवाहरू मर्माहत छन् । दुई पुरुष अत्यधिक मदिरा सेवनका कारण थलिएर मरेका हुन् भने सात वर्षीया बालिका र डेढवर्षे बालक चिसोकै कारण मरेका हुन् । ‘अहिले दैनिकजसो पानी पर्ने भएकाले पनि उनीहरूको स्वास्थ्यमा समस्या भएको हो,’ उनले भनिन्, ‘गतिलो बासस्थान र पोषिलो आहाराको अभावमा सबै जना बिरामीजस्ता देखिन्छन् ।’ उनले राउटेहरूको संख्या बर्सेनि घट्दा उनीहरू लोप हुने अवस्थामा पुगेको बताइन् ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईले मदिरा सेवनकै कारण राउटे समुदायका पुरुषको मृत्यु भइरहेको बताउँछिन् । कतिपय राउटे बिरामी भएको खबर आएपछि स्वास्थ्य सेवा कार्यालय, जिल्ला प्रशासन र नेपाली सेनाको सिमखर्कस्थित सबुज गणको संयुक्त आयोजनामा शनिबार स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले जनाइन् । ‘तर अत्यधिक वर्षाका कारण शिविर प्रभावकारी हुन सकेन, उनीहरूमा खाद्यान्न र दैनिक उपभोग्य सामानको अभाव देखियो,’ उनले भनिन्, ‘गतिलो बासस्थान र पोषिलो आहाराका अभावमा राउटे समुदायले विभिन्न समस्या भोग्दै आएका छन् ।’ उनीहरूको उचित बासस्थानका लागि जिल्ला प्रशासनले पहल गरिरहेको उनले जनाइन् । लोपोन्मुख जातिअन्तर्गतको राउटे समुदायमा ४६ घरपरिवार छन् ।

सल्यानमा १ सय ४६ जनाको संख्यामा रहेको राउटेको संख्या अहिले १ सय ४२ मात्र रहेका कालीमाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए । काल्चेडाँडामा बस्दै आएको बेला उनीहरूलाई बसोबासका लागि गाउँपालिकाले सहयोग गरेको उनले जनाए । ‘अहिलेको बासस्थान गतिलो छैन,’ उनले भने, ‘चारैतिर पहिरो गएकाले बस्ती च्यापिने जोखिम उत्तिकै छ ।’

प्रकाशित : भाद्र ७, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?