रामकुमारी झाँक्री : जनआन्दोलनकी ‘पोस्टर गर्ल’, एमाले विद्रोहकी बिम्ब [भिडियो]

हुन त झाँक्रीको विगत देखिको इतिहास हेर्ने हो भने उनको राजनीतिक यात्रा ‘विद्रोही’ नै छ । त्यसैले अहिलेको ‘पार्टी विद्रोह’ उनका लागि नौलो होइन ।

भाद्र ५, २०७८

मणि दाहाल

काठमाडौँ — पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल गत बिहीबार झण्डै पचास वर्ष आफैंले संघर्ष गरेर हुर्काएको पार्टी एमाले छोडेर नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए । आयोग कार्यालयमा सञ्चारकर्मीहरूको ठूलो भिड थियो ।

नेपाल गाडीबाट ओर्लिएर आयोगको भवनमा प्रवेश गर्दैगर्दा सञ्चारकर्मीका क्यामेराको फ्रेममा एउटा तस्बिर र भिडियो कैद भयो । जुन भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । भिडियो र तस्बिरमा दृश्य छ– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नेतृ रामकुमारी झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोहोर्‍याउँदै गरेको ।

हुन त, क्यामरमा कैद भएको यो दृश्य आधा मिनेटको पनि छैन । तर यस दृश्यभित्रको अर्थ र महत्व खोज्दै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तमा एउटा बहस चलिरहेको छ ।

सकारात्मक सोच राख्‍नेहरू यसलाई राजनीतिमा पुरानो पुस्तामाथि नयाँ पुस्ताको हस्तक्षेपको बिम्बको रुपमा टिप्पणी गरिरहेका छन् । नकारात्मक सोच राख्नेहरूले झाँक्रीलाई पार्टी फुटाउने योजनाकार पनि भनेका छन् । जसले जे टिप्पणी गरे पनि केन्द्र भागमा झाँक्री छन् ।

‘निर्वाचन आयोगमा निर्माण पनि भइरहेको थियो । धेरै सञ्चारकर्मीहरू भेला पनि हुनुहुन्थ्यो । साँघुरो ठाउँ पुरै ढाकिएको थियो । त्यहाँ पुग्दा प्रेस मिटका लागि ठ्याक्कै उभिएको जस्तो भयो । रोकिएको अवस्थामा यता जाँउ भनेर बाटो चाँही देखाएको हो । यसलाई धेरैले मन पराइदिनुभयो, प्रतिकको रुपमा लिनुभयो । त्यसका लागि धन्यवाद’ बिहीबारको घटनाको दृश्य वर्णन गर्दै झाँक्री भन्छिन्, ‘त्यो कुनै योजनाअनुसार भएको थिएन अकस्मात थियो । पत्रकार साथीहरूले विभिन्न विषयमाहरूमा प्रश्न सोध्दै हुनुहुन्थ्यो । आयोगभित्रबाट फर्केपछि गरौंला भनेर गएका थियौं ।’ 

तस्बिरको अर्को पाटो पनि छ । नयाँ दल गठन गर्न अघि बढेका पूर्वप्रधानमन्त्री नेपाललाई वर्षौदेखि समर्थन गर्दै आएका दोस्रो तहका नेताहरूको एउटा ठूलो जमातले तत्काल साथ दिएन । त्यसैले पार्टीभित्र करिब तेस्रो पुस्तामा पर्ने झाँक्रीजस्ता नेता नेपालको पक्षमा उभिए । नेपाललाई आडभरोसा दिने मुख्य नेतामा पर्छिन्, झाँक्री । त्यसैले उनी एमाले विभाजन हुँदै नेकपा एकीकृत समाजवादी निर्माणको अग्रभागमा उभिएकी हुन् ।

सामाजिक सञ्जालमा भाइरल भएको पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोहोर्‍याउँदै गरेको तस्बिर ।

पहिलो पुस्ताका नेताहरू वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटीका सदस्य मुकुन्द न्यौपानेको नेपाललाई समर्थन छ । नेपालको नयाँ दल खोल्ने योजनासँग फरक मत राखेका दोस्रो पुस्ताका नेताहरू अझै पनि १० बुँदे सहमति मानेर एमालेभित्र रहने धारणा राखिरहेका छन् । जुन कुरा झाँक्रीले असम्भव देखेकी छन् त्यसैले उनीसहितको पुस्ताका नेताहरूको एउटा पंक्ति नेपालको पक्षमा उभिएको छ ।

आफू नेपालको पक्षमा उभिनुको स्पष्टिकरण दिँदै झाँक्री भन्छिन्, ‘अनुहार को छन् के छन् भन्ने कुरा धेरै महत्वपूर्ण विषय होइन । अहिले ओलीको दक्षिणपन्थी नीतिविरुद्ध एउटा वामपन्थी नीति बोक्ने पार्टी आवश्यक छ ।’  उनी कम्युनिष्ट पार्टीको विचार र राजनीतिलाई बोक्ने बताउँछिन् । ‘अनुहार नै खोज्ने हो भने हाम्रो साथमा नेपालको कम्युनिष्ट आन्दोलनलाई उदारवादी बनाउने र लोकतान्त्रिकरण गर्न सार्वजनिक रुपमा स्वीकार्य नेताको माधव नेपाल हुनुहुन्छ,’ उनले नेपालको सकारात्मक पाटो चर्चा गर्दै भनिन् । यद्यपी उनी नेपाल कमजोरीरहित व्यक्ति हुन् भन्ने पक्षमा छैनन् । कमजोरी हरेक व्यक्तिमा हुने भएकाले नेता नेपालले पनि आफूलाई सच्याउँदै अघि बढ्नुपर्ने उनी बताउँछिन् ।

पुरानो पुस्तालाई हटाएर नयाँ पुस्तामा नेतृत्व जानुपर्छ भन्ने राजनीतिक वृत्तमा बहस हुने गरेको छ । तर, दल विभाजन हुँदा समेत उही पुरानै पुस्ताका नेतालाई छाता मान्नुपर्ने बाध्यता किन आइलाग्यो ? प्रश्‍न खस्न नपाउँदै झाँक्रीको जवाफ छ,‘नेतृत्वमा जाने भनेको बलपूर्वक विचार, सिद्धान्त र राजनीतिक क्रियाशीलताबाट हुने हो । कसैले भइरहेको पद छाड्दैन र छाड्ने पद्धति नै छैन । बाँचुञ्जेल शक्तिको अभ्यास जसले पनि गर्न चाहन्छ । हस्तान्तरणको कुरा गर्नेहरूले हस्तक्षेप गर्न कति तयार छौं ? लिन कति तयार छौं ?’

विचार, राजनीति, कर्म, इमानदारिताले नेतृत्व गर्न खोज्दा त्यो महत्वपूर्ण हुने उनी बताउँछिन् । तर उनकाअनुसार नेपालमा लाभहानीका लागि शक्तिशाली व्यक्ति वा संस्थालाई पछ्याएर जाने मानसिकता छ । ‘शक्तिमा उनीहरूलाई राखेर फाइदा लिनका लागि मानिसहरू झुम्मिइरहन्छन् त्यसबेला बलपूर्वक हस्तक्षेप भन्ने कुरा आम रुपमा सम्भव हुँदैन,’ उनी भन्छिन् ।

एमालेको विवादमा दोस्रो पुस्ताबाट हस्तक्षेप हुन नसकेकोमा झाँक्री पनि सहमत छन् । क्षमता देखाउन नसकेको दोस्रो पुस्ताका नेताहरूले हस्तान्तरणको विषय सार्वजनिक खपतका लागि मात्रै ल्याएको उनको बुझाइ छ । ‘नेतृत्व कसलाई किस्तीमा दिनुहुन्छ । केपी शर्मा ओलीले कसलाई दिने ? रेसमा भएको मानिसमध्ये सेकेन्ड, मिनेट र घण्टाले को अघि छ ? मुलुक, राजनीति, विश्वास, एजेण्डा बोकेर को आएको छ ? केपी ओलीले कसलाई नेतृत्व दिने । माधवकुमार नेपालले कसलाई नेतृत्व दिने, खै को आयो त ?,’ उनले भनिन्, ‘एमाले मात्रै होइन कांग्रेसमा पनि त्यही समस्या छ । आगामी महाधिवेशनमा पनि सभापतिको उम्मेदवार शेरबहादुर नै हुनुहुन्छ । उहाँलाई कसले प्रतिस्थापन गर्छन् ? कसले के तयारी गरेर आएको छ ? आफ्नो तयारी गर्दैन र त्यही नेतृत्वमा छत्र छायाँमा सिमित लाभका लागि तयार हुन्छ भने नेतृत्व हस्तान्तरण एउटा सार्वजनिक खपतको विषयका लागि गरिएको गफ मात्रै  हुन्छ ।’

शक्तिशाली हैसियत आर्जन गरेको पार्टीबाट छुट्टिएर जाने मन झाँक्रीलाई पनि थिएन । तर पछिल्लो समय पार्टीभित्र ओलीको कार्यशैली मन परेन । त्यसैले नेता नेपालले लिएको अडानको पक्षमा उनी उभिइन् र अहिले पार्टी विभाजनमा संलग्न भएकी हुन् । 

हुन त झाँक्रीको विगत देखिको इतिहास हेर्ने हो भने उनको राजनीतिक यात्रा ‘विद्रोही’ नै छ । त्यसैले अहिलेको ‘पार्टी विद्रोह’ उनका लागि नौलो होइन ।

२०५४ सालमा एमाले विभाजन भएर माले गठन हुँदा उनी विद्यार्थी राजनीतिमा थिइन् । त्यसबेला उनी राजनीतिका आमायहरू थोरै बुझ्थिन् । त्यसैले आफ्नै भन्दा पनि निकट व्यक्तिहरूले राख्ने विचारका आधारमा उनी विभाजित भएर बनेको तत्कालीन मालेमा संलग्न भएकी थिइन् । साढे दुई दशकमा उनको राजनीतिक सुझबुझ चुलिएको छ । त्यसैले यसपटक उनी आफ्नै विवेकका आधारमा नयाँ पार्टी बनाउने निष्कर्षमा पुगेकी हुन् । ‘महाकाली सन्धिसँग जोडिएको कारण ०५४ सालको विभाजनमा राष्ट्रियताको मुद्दाले सुरुमा समात्यो । त्यस समयमा समीपमा रहेका काम गर्ने दाइहरूसँगै एकै प्रकारको धारणा बन्यो । माले हुन्छु भन्ने त्यस समयमा व्यक्तिगत निर्णय जस्तो पनि थिएन । मुद्दाले छोएपनि कार्यकर्ताका रुपमा सिनियरहरूले गरेको निर्णयको पछि लागेको थिए,’ उनले विगत कोट्याउँदै  भनिन्, ‘अहिले मुद्दाले लागेको हो । संसद् विघटन गर्ने जस्तो अप्रजातान्त्रिक विषयले जहिले पनि अस्थिरताको सिर्जना गर्ने थियो । त्यसैले यसलाई सही बाटोमा हिडाउनु पर्छ भन्नेमा कन्भिन्स थिएँ । संविधानको रक्षाका लागि संसदलाई क्रियाशील बनाउन, लोकतन्त्रलाई सुदृढ गर्नुपर्छ भन्ने दृढ इच्छा थियो ।’ त्यसो त, कतिपय वरिष्ठहरूले संसद् पुन:स्थापना हुँदैन र त्यसैले विपक्षमा जानु हुँदैन भनेर झाँक्रीलाई सम्झाउने कोसिस नगरेका होइनन् । 

पार्टीभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा ०७७ पुस ५ मा पहिलो पटक तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित नेताहरूले विरोध गरेका थिए । ६६ दिनसम्म मुलुकभर आन्दोलन चर्कियो । त्यसको अग्रपंक्तिमा झाँक्री पनि थिइन् । त्यसैले ओलीको शासनकालमा झाँक्री सरकारको निशानामा परिन् । आन्दोलनको रापतापमा झाँक्रीको पनि बोलीको संयमता केही गुम्यो । ०७७ माघ १६ गते गोरखाको सिरान चोकमा भएको कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा बोलिन् ।

ओलीका एकपछि अर्को कदमलाई आँखा चिम्लेर साथ दिने राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै उनले भनेकी थिइन् ‘राष्ट्रपतिको कुरा त के गर्नु ? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु, निर्वाचनको तयारीका लागि सुखसुविधा ऐशआराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गएपनि हुन्छ ।’  उनको यो भनाइले  ‘महिला राष्ट्रपति’ को मानहानी भएको भन्दै उनकै पार्टीको भातृ संगठन अनेमसंघले कारबाहीको माग गर्‍यो ।

राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर २०७७ माघ २९ गते झाँक्रीलाई पक्राउ गर्दै प्रहरी । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

०७७ माघ २९ मा प्रहरीले उनीमाथि ‘राज्यविरुद्धको कसुर’ गरेको अभियोगमा शंखमुलस्थित उनकै निवासबाट पक्राउ गर्‍यो । सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोड्यो । तर विषय त्यही सकिएन । अध्यक्ष  ओलीको प्रत्येक पटक कारबाहीमा माधव नेपालसँगै झाँक्री पनि निशानामा परिन् । शुक्रबार पनि सिंहदरबारस्थित प्रतिनिधिसभाको अर्थ समितिको बैठक कक्षमा उनी इकान्तिपुरसँग कुराकानी गर्दै गर्दा झाँक्रीसहित १४ जनाविरुद्ध पार्टीले गरेको कारबाहीअनुसार सूचना टाँस गर्न अध्यक्ष ओली निकट एमाले सांसदहरू सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा धर्ना दिइरहेका थिए । 

विद्यार्थी पृष्ठभूमिबाट पार्टी राजनीतिमा आएकी झाँक्री जल्दाबल्दा विषयमा मुखर भएर आफ्नो धारणा राख्छिन् । त्यसैले गाली र ताली दुवै उनको भागमा आइलाग्ने गरेको छ । आफूलाई चित्त नबुझेको अवस्थामा चर्को बोलेर अरुलाई थर्काउने शैलीले उनी विवादमा पनि पर्ने गरेकी छन् । केही समयअघि यस्तै प्रकारको उनको एउटा अडियो सार्वजनिक भएको थियो । जुन अडियोमा व्यक्तिलाई ‘खुट्टा भाँच्‍ने धम्की’ दिएकी थिइन् । ‘टिकटक’मा समेत भाइरल नेतृ झाँक्री सामाजिक सञ्जालहरूमा उनलाई व्यक्तिगत रुपमा आउने टिप्पणीहरूमाथि बेलाबेला चर्को प्रतिक्रिया दिन्छिन् । अखिलको अध्यक्ष हुँदा निरंकुश शैलीमा संगठनलाई सञ्चालन गरेको आरोप उनीमाथि पटक पटक लागेको थियो ।

‘जोखिम आँकलन गर्नुपर्ने हुनसक्ला । तर राजनीतिमा लागेपछि जोखिम, नाफाघाटा भन्ने नहुँदो रहेछ । कहिले काँही आफ्नो एजेण्डाले हार्दै जाने पनि हुनसक्छ । एजेण्डाले हार्दा जोखिम हुने भइहाल्यो, कहिलेकाँही एजेण्डाले जित्दै गर्दा आफ्नो परिस्थितिले आफूलाई हराइरहेको पनि हुनसक्छ,’ झाँक्री भन्छिन्, ‘राजनीतिमा व्यक्तिगत लेनदेनको मामिला ठूलो कुरा रहेनछ । यो ठूलो निजी विषय नभइ सार्वजनिक र सामाजिक मामिला हो । मुद्दाकै कारण समाजले त्यसलाई ‘पुल एन्ड पुस’को काम गर्छ ।

०५४ सालमा मालेमा लागेकी झाँक्री वामदेव गौतमसँग २०५८ सालमा एमालेमा फर्किएकी थिइन् । केही समयमा पत्रकारितामा सक्रिय भएपनि राजाको निरंकुश शासन सुरु भएसँगै उनी निरंकुशताविरुद्धको आन्दोलनमा जोडिइन् । २०६२/०६३ सालको जनआन्दोलनमा विद्यार्थी नेताको रुपमा झाँक्री अग्रमोर्चामा उभिइन् ।

त्यसक्रममा पटक पटक पक्राउ परिन् । प्रहरीले प्रहार गरेको लाठी लागेर रगतपच्छे भएको उनको तस्बिर पुरै जनआन्दोलनको एउटा प्रतिकात्मक तस्बिर रुपमा रह्यो । दोस्रो जनआन्दोलनकी ‘पोस्टर गर्ल’ को रुपमा उनी थप चिनिइन् । राजा ज्ञानेन्द्रले गरेको चुनाव बहिष्कारका लागि सहरमा विद्यार्थी संगठनहरूले टोलटोलमा अभियान सञ्चालन गरेका थिए । त्यसमा पनि झाँक्रीको सक्रियता थियो । दोस्रो जनआन्दोलनले विद्यार्थी नेताहरूको रुपमा उनलाई स्थापित गरायो । त्यसपछि उनी अनेरास्ववियुको पहिलो महिला अध्यक्ष बनिन् । ०७१ सालमा भएको नवौं महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी झाँक्री प्रतिनिधिसभा चुनावपछि समानुपातिक कोटाबाट ०७४ मा सांसद बनिन् । 

दोस्रो जनआन्दोलनका क्रममा घाइते भएकी झाँक्री । तस्बिरः झाँक्रीको फेसबुक

यतिबेर नेपालको साथमा रहेर नयाँ दल बनाउन अग्रसर भइरहँदा पुराना नेताहरूसँगको साथ भने छुटेको देखिन्छ । माले पृष्ठभूमि भएकाले लामो समय उनले पार्टीभित्र आफ्नो प्रमुख नेता वामदेव गौतमलाई मानिन् । त्यसपछि झलनाथ खनाल अध्यक्ष हुँदा उनको पक्षमा रहिन् । तर विद्यार्थी राजनीतिदेखि नै उनका खास निकट र सु:खदु:खका ‘दाई कामरेड’ घनश्याम भुसाल, योगेश भट्टराईहरू हुन् । केही समय अघि पनि उनीहरूसँग नै संलग्न थिइन् । तर अहिले भुसाल र भट्टराईभन्दा उनी अलिक फरक विन्दुमा उभिएकी छन् ।

‘हामीबीच अहिले पनि एजेण्डामा सहमति छ । मसँग सबैभन्दा नजिक रहनु भएकाहरू पुस ५ गते ओलीले संसद् विघटन गर्दा मन्त्रिपरिषद्‌बाट राजीनामा दिनुभयो । आन्दोलन गर्दा वा अन्य विषयमा हामी एजेण्डाका हिसाबले सँगै छौं । हामीले सँगै ६६ दिन आन्दोलन गर्‍यौं । त्यसविरुद्ध जनमत बनायौं, अदालतमा गयौं पुनःस्थापित गरायौं । हामी मुद्दामा सँगै थियौं । लडेर पुनःस्थापना गरेको संसद् फेरि विघटन भयो,,’ उनले भनिन्, ‘जनताको प्रतिनिधिमूलक संस्थालाई निष्क्रिय बनाउने स्वेच्छाचारी र निरंकुशताविरुद्ध कुरा गर्दा  मेरा सिनियरहरू सँगसँगै नै हुनुहुन्थ्यो ।’ अहिले के त्यस्तो परिस्थिति पर्‍यो उनी भन्न सक्दिनन् । तर कुनै विन्दुमा उनीहरू आफूले टेकेको धरातलमै आइपुग्‍नेमा विश्वस्त छिन् । ‘दर्जनौं कारबाही भोग्दाभोग्दै नयाँ दल गठन गर्ने ठाउँसम्म पुगियो । एजेण्डालाई बिर्सेर राजनीति अघि बढाउनु हुन्न भन्ने लाग्छ । यो मेरो अर्को बुझाइ हो,’ उनले भनिन् ।

अहिले झाँक्रीले टेक्न थालेको धरातल भनेको एमालेबाट विभाजित ‘नेकपा (एकीकृत समाजवादी) दलको हो । जो कसरी अघि बढ्छ भन्नेमा उनी केही स्पष्ट छिन् तर कति शक्तिशाली हुन्छ भन्नेमा अन्योल देखिन्छिन् । ‘पार्टी कत्रो, कस्तो बन्छ भन्ने कुरा निर्वाचनमा गएपछि थाहा हुन्छ । हामी छुट्टै पार्टी बनाउनु पर्छ भनेर आएको पनि होइन । ओलीसहितको एमालेमा जुन प्रकारको ज्यादती छ त्यसलाई रुपान्तरण गर्न सकिन्छ सोच्दासोच्दै लड्दा लड्दै हामीलाई एमालेको सदस्य समेत नरहने गरी कारबाही गरेपछि नयाँ बाटो लिएका हौं,’ उनले नयाँ दल गठन गर्नुको विवशता सुनाइन् । 

पार्टी जस्तो भएपनि त्यसको धार भने क्रान्तिकारी र जनमुखी नै हुने उनको भनाइ छ । ‘शिक्षा, स्वास्थ्य, जनजीविका र राष्ट्रियताको आधारभूत मुद्दामा ठिकै खालको विचार र अडानसहित जाने छौं, ’ उनले भनिन्, ‘सबै प्रकारका वामपन्थीहरूलाई पुनजागृत गरेर लैजाने छौं ।’

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

Link copied successfully