कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कोभिडका बिरामीलाई लक्षित गरी अमेरिकी वैज्ञानिकले दिए 'डाइटरी सप्लिमेन्ट'

कोरोनाका गम्भिर बिरामीलाई छिटो निको हुन सहयोग पुग्ने दाबी
वसन्त चौधरीले भने- 'नेपाल सरकारसँग समन्वय वितरणको व्यवस्था मिलाउँछौं'

काठमाडौँ — अमेरिकी वैज्ञानिक तथा खोजकर्ता डा. न्याथन ब्रायनले निर्माण गरेको डाइटरी सप्लिमेन्टको ठूलो मात्रा नेपाललाई सहयोगस्वरुप प्राप्त हुने भएको छ । उनले तयार गरेको यो सप्लीमेन्ट अमेरिकी बजारमा विगत १० वर्षदेखि प्रयोगमा रहेको छ । 

कोभिडका बिरामीलाई लक्षित गरी अमेरिकी वैज्ञानिकले दिए 'डाइटरी सप्लिमेन्ट'

बिहीबार एक कार्यक्रमका बीच अमेरिकी टेक्सस राज्यका पूर्व सिनेटर ड्यान शेलीले वसन्त चौधरी फाउण्डेसन र नर्भिक इनिसिएटिभ्स फर न्यूट्रिसन एण्ड हेल्थको पहलमा कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको दाबी गरिएको करिब ७ लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको १० हजार बोतल नाइट्रिक अक्साइडको डाइटरी सप्लिमेन्ट नेपाललाई प्रदान गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै डा. न्याथनले यो सप्लिमेन्टले कोभिड-१९ मात्र नभई विभिन्न इन्फ्लूएञ्जाबाट बिरामीलाई गम्भीर हुनबाट रोक्नका लागि विशेष काम गर्ने दाबी गरे ।

‘यो डाइटरी सप्लिमेन्ट संक्रमण भएको ७२ घण्टाभित्र चुसेर सेवन गर्नुपर्ने हुन्छ । दैनिक २ पटक दरले सेवन गर्न थालेपछि यसले शरीरमा घटेको अक्सिजनको मात्रा बढाउँछ र संक्रमित गम्भीर भई अस्पताल भर्ना हुनबाट जोगाउने काम गर्छ ’ डा. ब्रायनले दाबी गरे ।

उनका अनुसार नाइट्रिक अक्साइड प्राकृतिक रुपमा शरीरभित्र उत्पादन हुने र शरीरलाई चाहिने एक महत्वपूर्ण पदार्थ हो । यस पदार्थले रक्तचापको व्यवस्थापनका साथै शरीरको अक्सिजन स्याचुरेशन व्यवस्थापन गर्न समेत मद्दत गर्दछ ।

उनले कोभिडका कारण धेरै क्षति व्यहोरेको नेपालजस्तो मुलुकका लागि प्रयोग भइरहेको डाइटरी सप्लिमेन्ट काम लाग्न सक्छ भन्ने लागेर नेपालमा पनि ल्याउन लागिएको हो ।

कार्यक्रममा बोल्दै नर्भिक इन्टरनेशनल अस्पतालका संस्थापक वसन्तकुमार चौधरीले नेपाल सरकारसँग समन्वय गरी अमेरिकाबाट सहयोगस्वरुप प्राप्त हुने सप्लिमेन्ट कोभिड संक्रमितलाई वितरणको व्यवस्था मिलाइने जनाए ।

चौधरीका अनुसार यो डाइटरी सप्लिमेन्ट भएकाले प्रयोगका लागि औषधी व्यवस्था विभागसँग अनुमति लिन पर्दैन ।

यद्यपी २००६ मा विश्व विख्यात मेडिकल जर्नल 'जामा'मा प्रकाशित अध्ययन रिपोर्ट अनुसार न्याइट्रिक अक्साइड डाइटरी सप्लिमेन्टमा हुने तत्त्वले एकपटक हृदयघात भइसकेका व्यक्तिमा पुन: हृदयघात हुने सम्भावना बढाउँछ । यस्तै मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीले पनि यो सेवन गर्नु हानिकारक हुनसक्छ ।

नाइट्रिक अक्साइडसँग सम्बन्धित २० वर्षदेखि संलग्न अमेरिकी खोजकर्ता तथा वैज्ञानिक डा. न्याथन एस ब्रायनले कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको ‘नोभिरिसिड’ नामको औषधि बनाएका छन् । अमेरिकामा यो औषधिको तेस्रो चरणको क्लिीकल ट्रायल चलिरहेको छ । उता सफल परीक्षण भए नेपालमा पनि ट्रायल गर्न सकिने उनले जनाए ।


प्रकाशित : भाद्र ४, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?