कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सभामुखलाई एमालेको ध्यानाकर्षण

प्रचण्ड कमरेडले सिफारिस गरिसकेपछि ७२ घण्टाभित्र सूचना प्रकाशित गरेर उहाँहरुलाई निष्कासन गर्नुभयो, तर नेकपा एमालेले गरेको हकमा के कारणले विलम्ब भइरहेको छ भनेर प्रश्न सोध्यौं : विशाल भट्टराई

काठमाडौँ — माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न एमालेले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ ।बिहीबार सिंहदरबारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

सभामुखलाई एमालेको ध्यानाकर्षण

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए । नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरेपनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरुलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए । उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानुनी, गैर संवैधानिक, वधनियत र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताए ।

उनले भने,'सम्माननीय सभामुख ज्यूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई २४ घण्टा नबित्दै सूचना जारी गरेर निष्कासन गर्नुभयो । त्यसपछि टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभू साह, लेखराज भट्टलगायत प्रतिनिधि सभा सांसदहरुलाई प्रचण्ड कमरेडले सिफारिस गरिसकेपछि ७२ घण्टाभित्र सूचना प्रकाशित गरेर उहाँहरुलाई निष्कासन गर्नुभयो, तर नेकपा एमालेले गरेको हकमा के कारणले विलम्ब भइरहेको छ भनेर प्रश्न सोध्यौं ।'

नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।

एमालेको केन्द्रीय कमिटीले निर्णय गरेर नेपालको राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा नियमावलीलाई फलो गरेर पार्टीको पटक पटक ह्वीप उल्लंघन गर्ने, अनुशासनको दायरा नाघ्ने र पार्टीको कुनैपनि अनुशासनको क्रियाकलाप भित्र नबस्ने पार्टीका केही नेताहरुलाई कारबाही गरेर सभामुखलाई सूचीसहित विधिपूर्वक एउटा दल त्यागको सूचना गरेको नेता भट्टराईले बताए ।

'सभामुखलाई निर्वाचन आयोगमा माधवकुमार नेपालको दल दर्ता स्वीकृत होस्, पहिला फुटिसकोस् अनि दिन्छु' भन्ने कुनै छुट नरहेको उनले बताए ।

'छैन, र, पनि, देखि, बाट कुनै लाग्दैन, यो दलीय व्यवस्था हो, दलले निष्कासन गरिसकेपछि स्वत: कार्यान्वयनमा जाने कुरा हो,' उनले भने,'यसमा सभामुखले सूचना टाँस्ने कुरा मात्र हो, मात्र सूचना टाँस्ने कामलाई पनि सभामुख ज्यूले लिंगरिङ गरेर नेकपा एमाले विभाजन गरेर मलजल गर्छु, सहयोग पुर्याउँछु भन्ने स्थिती बन्यो भने नेकपा एमाले कुनै पनि हालतमा चुप लागेर बस्दैन ।'

प्रकाशित : भाद्र ३, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?