कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अफगानिस्तानमा नेपाली : अवैध बाटो गएकाहरूको उद्धारमा चुनौती

परराष्ट्र मन्त्रालयबाट स्पष्ट निर्देशन आइनसकेको दिल्लीस्थित नेपाली दूतावासको भनाइ
राजेश मिश्र

नयाँदिल्ली — भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले अफगानिस्तानमा रहेका नेपालीको सकभर चाँडो उद्धारका लागि पहल भइरहेको जनाएको छ । भारतस्थित दूतावासले भुटान र अफगानिस्तान पनि हेर्ने गर्छ । 

अफगानिस्तानमा नेपाली : अवैध बाटो गएकाहरूको उद्धारमा चुनौती

दूतावासका अनुसार काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगमा कार्यरत नेपालीको उद्धारका लागि सम्बन्धित देशका सरकारमार्फत पहल भइरहेको छ । त्यसैअनुसार अमेरिकाले १ सय ८७ नेपालीको उद्धार गरिसकेको छ । दूतावासका अनुसार काबुलस्थित अमेरिकी नियोगमा कार्यरत ५ सय ६९ मध्ये १ सय ८४ जना बिदामा थिए । बाँकी नेपालीलाई उद्धारका लागि तयारी अवस्थामा काबुलस्थित विमानस्थलमा राखिएको छ ।

दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले काबुलमा रहेका नेपालीको उद्धारका लागि विभिन्न माध्यमबाट पहल भइरहेको बताए । उनले दिल्लीमा रहेका विभिन्न देशका दूतावासमार्फत नेपालीको उद्धार गर्न समन्वय भइरहेको जनाए । ‘दूतावासको सम्पूर्ण संयन्त्र औपचारिक तथा अनौपचारिक माध्यमबाट नेपालीको उद्धारका लागि सक्रिय छ,’ उनले भने, ‘काबुलमा रहेका नेपालीसँग पनि दूतावासले सम्पर्क बढाउँदै लगेको छ ।’

दूतावासका अनुसार अफगानिस्तानमा करिब १ हजार ५ सय नेपाली विभिन्न निकायमा कार्यरत छन् । तीमध्ये धेरैजसो काबुलस्थित विभिन्न देशको नियोगमा कार्यरत छन् । सबैभन्दा बढी अमेरिकी नियोगमा ५ सय ६९ जना छन् ।

दिल्ली दूतावासका अनुसार काबुलस्थित क्यानडेली दूतावासमा कार्यरत ६२ जना सबैको उद्धार भइसकेको छ । दिल्लीस्थित नेपाली नियोग उपप्रमुख रामप्रसाद सुवेदीका अनुसार जापानी दूतावासमा ७२ जना छन् । तिनलाई जापानले ७२ घण्टाभित्र उद्धार गरिसक्ने प्रतिबद्धता जनाएको सुवेदीले बताए ।

त्यस्तै, डेनमार्क दूतावासमा रहेका २ जना नेपालीको उद्धारका लागि दिल्ली दूतावासले भारतको विदेश मन्त्रालयलाई औपचारिक रूपमै आग्रह गरेको छ । डेनमार्क दूतावासमा एक सय जना भारतीय कार्यरत रहेकाले उनीहरूसँगै दुई जना नेपालीलाई पनि दिल्ली ल्याइदिन लिखित आग्रह गरिएको सुवेदीको भनाइ छ । नेपालको आग्रहलाई भारतीय विदेश मन्त्रालयका अधिकारीले सकारात्मक रूपमा लिएका सुवेदीले बताए ।

त्यस्तै, जर्मन दूतावासमा १ सय ३५, बेलायती दूतावासमा ८७ र युरोपेली संघको नियोगमा ७४ नेपाली कार्यरत छन् । ती सबैको उद्धारका लागि सम्बन्धित देशका अधिकारीहरूसँग समन्वय भइरहेको सुवेदीले बताए ।

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत ४ सय ६७ जना नेपाली रहेको दूतावासको भनाइ छ । उनीहरूको तत्कालै उद्धार गर्नुपर्ने अवस्था नरहेको सुवेदीको भनाइ छ । ‘यूएन मिसनमा रहेकाले तत्काल उद्धार गर्न भनेका छैनन् । बरु उनीहरू पालैपालो बिदामा नेपाल जाने जानकारी आएको छ,’ सुवेदीले भने ।

श्रम स्वीकृति लिएर औपचारिक माध्यमबाट अफगानिस्तान पुगेका नेपालीको उद्धारका लागि दूतावासले पहल गरिरहे पनि अवैध रूपमा त्यहाँ पुगेकाहरूको उद्धारमा चुनौती देखिएको छ । ‘कतिपय भर्खरै मात्र त्यहाँ पुगेका रहेछन्, कतिको भिसा सकिएको रहेछ । उनीहरू बढी चिन्तित पाइएका छन्,’ दूतावासका अर्का एक अधिकारीले भने, ‘उनीहरूलाई हामीले जसरी र जुनसुकै माध्यमबाट गएको भए पनि उद्धार हुन्छ भनेर ढाडस दिइरहेका छौं ।’

तर उनीहरूको उद्धार कसरी गर्ने भन्नेमा दूतावास आफैं प्रस्ट छैन । ती अधिकारीका अनुसार उनीहरूको उद्धारका विषयमा परराष्ट्र मन्त्रालयबाट पनि स्पष्ट निर्देशन आएको छैन । नेपालस्थित उनीहरूका आफन्तले पनि आत्तिँदै दूतावासमा सम्पर्क गरिरहेको दूतावासको भनाइ छ । मंगलबार साँझसम्म १ सय ५० भन्दा बढीले दूतावासले उपलब्ध गराएको हटलाइनमा सम्पर्क गरेका छन् । तीमध्ये काबुलनजिक एउटा रेस्टुराँका ३० जना कामदारले उद्धारका लागि दूतावासलाई गुहारेका छन् । मंगलबारसम्म २ सय ५६ नेपालीले काठमाडौंस्थित कन्सुलर सेवा विभागको वेब पोर्टलमा उद्धारका लागि पहल गरिदिन विवरण टिपाएका छन् ।

त्यस्तै, मंगलबार अफगानिस्तानमा विकसित परिस्थितिपछि देश छाड्न चाहनेलाई सुरक्षित र व्यवस्थित रूपमा हवाई, स्थल वा अन्य सीमानाकाबाट बाहिरिन दिन अफगानिस्तानको नेतृत्वलाई आग्रह गरिएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा व्यक्तिको जीवन, सम्पत्तिको सुरक्षा गर्ने स्थानमा रहेकाहरूले त्यसका लागि सहयोग गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित : भाद्र २, २०७८ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?