निगमको चार्टर विमान काबुल जाँदै

सुरज कुँवर

काठमाडौँ — विद्रोही लडाकु तालिबान अफगास्तानको राजधानी काबुल पसिरहेको सामाचारले विश्वको ध्यान खिचिरहेका बेला नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान त्यसतर्फ जाने पक्कापक्की भएको छ ।

निगमको चार्टर विमान काबुल जाँदै

निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीका काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० नेपालीलाई अफगानिस्तानबाट काठमाडौं ल्याउन र लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका ७० जना जतिलाई काठमाडौंबाट काबुल पुर्‍याउन निगमको विमान त्यहाँ जान लागेको हो । यो चार्टर उडान हो । निगमले यो चार्टर उडानबारे आन्तरिक तयारी लगभग सकिसकेको जनाएको छ । यो चार्टर गर्ने एजेन्ट एयर चार्टर सर्भिस प्रालि हो ।

‘यो चार्टर उडान दुबईमा रहेको एउटा कम्पनीले गर्न लागेको हो,’ निगमका निर्देशकले भने, ‘आज (उसले) निगमलाई चार्टरबापतको भाडा पनि पठाएको छ ।’ उनका अनुसार उक्त कम्पनीले नेपालबाट जाने र नेपाल फर्किने कम्तीमा ७०/७० जना नेपाली हुने भनेको छ । यो चार्टर उडान भएकाले निगमले टिकट बिक्री गरेका छैन । ‘प्रति घन्टा ७ हजार ७ सय १० अमेरिकी डलरका दरले चार्टर उडान हुने छ,’ उनले भने ।

यो चार्टर उडानमा निगमले आफूसँग भएको न्यरोबडी एयरबस ३२० पठाउँदै छ । काठमाडौं–काबुल उडान एकतर्फी तीन घन्टा हाराहारीको हुन्छ । नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले यी दुई मुलुकसँग ओभरफ्लाई अनुमति लिनुपर्छ । ‘अब काम बाँकी ओभरफ्लाईको मात्रै छ । चार्टर हुनुभन्दा १/२ दिन अघि लिदा भइहाल्छ,’ ती निर्देशकले भने, ‘ केही परराष्ट्र मन्त्रालयसँग प्रक्रियागत काम बाँकी छ ।’

द्वन्द्वसँग जोडिएको मुलुकमा हुन लागेको चार्टर उडानमा निगमले सामान्य अवस्थामा गरेको बिमाले मात्रै नहुने भएकाले जहाज र त्यसमा ओहोरदोहोर गर्ने यात्रुको अतिरिक्त बिमा पनि गर्नुपर्छ । निगमको जहाज अफगानस्थान जान लागेको यो दोस्रो पटक हो । ५ वर्षअघि काबुलमा भएको आत्मघाती बम बिस्फोटमा १२ नेपाली सुरक्षा गार्डको निधन भएको थियो । उक्त घटनामा मारिएका १२ नेपालीको शव लिन निगमको न्यारोबडी ०७३ असारमा अफगानस्थान गएको थियो ।

प्रकाशित : श्रावण ३१, २०७८ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?