१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

प्राधिकरणको दोस्रो कार्यकालमा खुसीभन्दा बढी चिन्तित छु : कुलमान [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोहोरिएर प्राधिकरणको नेतृत्वमा आउँदा आफूलाई चिन्ता लागेको बताएका छन् ।

प्राधिकरणको दोस्रो कार्यकालमा खुसीभन्दा बढी चिन्तित छु : कुलमान [भिडियो]

कान्तिपुरसँगको कुराकानीका क्रममा आगामी दिनमा पहिलो कार्यकालमा गरेकोभन्दा बढी काम गर्नुपर्ने भएकाले आफूले चुनौती महसुस गरेको उनले बताएका छन् । पहिलो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त गरेका उनले आगामी कार्यकालमा जनतालाई त्योभन्दा बढी काम देखाउनुपर्ने दबाब रहेको बताए ।

'अहिले आउनु भनेको मलाई ठूलो चुनौती हो । म खुसीभन्दा बढी चिन्तित छु, एकदमै,' शुक्रबार कान्तिपुरसँगको कुराकानीका क्रममा दोस्रो कार्यकालबारे घिसिङले दोहोर्‍याएर भने, 'प्राधिकरणको अहिलेको कार्यकालमा म एकदमै चिन्तित छु, मैले जति पहिलो चरणमा काम गरे त्यो लेबलको काम गरेर अझ बढी काम गर्नुपर्नेछ ।'

व्यक्तिगत रूपमा एकपटक राम्रो काम गरेर बाहिरिएको र त्यसको चर्चा पनि राम्रो भएकाले पुनः सोही पदमा आउनुभन्दा बाहिरै बसेको भए राम्रो हुन्थ्यो भन्ने घिसिङले अनुभूति सुनाए । 'आम जनताको पनि चाहना एकचोटी प्राधिकरणमा बस्नुपर्छ भन्ने चाहना र सरकारको पनि यो जिम्मेवारी लिनुप‍र्‍यो भन्ने चाहना भएकोले म यहाँ आएको हो ।'

आफू पूरा कार्यकाल प्राधिकरणमा नै बस्नुपर्छ भन्ने मान्यतामा नरहेको घिसिङले बताए । अन्य ठाउँमा जान प्रस्ताव थियो कि थिएन भन्ने प्रश्नको जवाफमा उनले भने, 'नेतृत्व र व्यवस्थापनको पक्ष हुन्छ, त्यो सँगसँगै कुनै पनि काममा सफलता पाउन नेतृत्व र व्यवस्थापनसँगै विषय विज्ञता पनि आवश्यक पर्छ । त्यो भयो भने अझ राम्रो हुन्छ । 'राइट म्यान इन राइट प्लेस' भन्ने सबैतिर लागू हुनुपर्छ भन्ने हो ।'

आफूले अर्को संस्थामा गएर वर्तमानभन्दा राम्रो काम गर्नसक्ने भए पनि विद्युत् प्राधिकरणमा अझै राम्रो प्रतिफल दिनसक्ने भएर जिम्मेवारीमा आएको घिसिङले बताए । आफू बाहिर रहेको अवस्थामा प्राधिकरणले जुन किसिमको प्रतिफल दिने अपेक्षा गरिएको थियो त्यसमा खरो उत्रिन नसकेको घिसिङको बुझाइ थियो । 'प्राधिकरणको १ वर्षभित्रको बाहिर बसेर हेर्दा र भित्रको अनुभूति, यहाँको कर्मचारी प्रशाशनले गर्ने अनुभूति हेर्ने हो भने १ वर्षमा हामीले जुन हिसाबले सोचेका थियौं त्यो प्रतिफल, त्यो किसिमको नयाँ आयाम अगाडि बढेको देखिएन,' उनले भने, 'उल्टो शातिर गएको अनुभूति भएको छ ।' आफू बाहिरिँदा १२ अर्ब रुपैयाँ जतिको नाफामा रहेको प्राधिकरण अहिले कर बाहेक साढे ३ अर्बमा खुम्चिएको, घाटा बढेको, प्राधिकरणभित्रको प्रशासनिक अवस्था र चेन अफ कमान्ड टुटेको उनको भनाइ छ ।

'आन्तरिक व्यवस्थापन बिग्रिएको छ । दूरगामी कार्यक्रमको सिलसिला टुटेको छ । यहाँभित्रको समस्या समाधान गर्न लगायतको आवश्यकता महसुस गरेरै सरकारले जिम्मेवारी दिएको होला,' उनले भने । कोरोना महामारीका कारणले ऊर्जाका परियोजना निर्माणमा कठिनाइ आइरहेको घिसिङले बताए । यस्तो अवस्थालाई राम्रोसँग परिचालन गर्नु र ट्र्याकमा ल्याउनु चुनौती रहेको उनले बताए ।

प्राधिकरणले आगामी दिनमा विद्युत् खपतका योजना ल्याउने तयारी गरिरहेको घिसिङले जानकारी दिए । विद्युतीय सवारी, खाना पकाउने विद्युतीय साधनको उपभोग गर्ने योजना बनाउने उनले बताए । त्यसका साथै विद्युत् खपतको योजनाबारे उनले भने, 'घरघरको विद्युतीकरण सकिन लागेको छ, अब खेतखेतको विद्युतीकरण गर्नुपर्नेछ ।‍ किनभने खेतमा सिँचाइ गर्नुपर्नेछ । तराईका धेरै खेतहरू सिँचाइ नभएको हुनाले खेती भइरहेका छैन ।'

पछिल्लो समय खेतको विद्युतीकरणको माग बढिरहेको र त्यसमा प्राधिकरणले काम गर्ने उनले बताए । त्यसका साथै विद्युत् निर्यातको काम अगाडि बढ्ने उनको भनाइ थियो । भारत र बंगलादेशमा विद्युत् निर्यातको काममा लाग्ने उनले बताए ।

विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकको रूपमा लोडसेडिङ अन्त्य, जर्जर अवस्थामा रहेको प्राधिकरणलाई उकास्ने र आर्थिक रूपमा एकदम कमजोर रहेको प्राधिकरणलाई नाफामा लैजाने काम भएको घिसिङले बताए । पहिलो कार्यकालमा भएका विद्युत् योजनाका काम सम्पन्न दोस्रो कार्यकालमा गर्ने उनले बताए ।

'तत्कालको मात्रै हेर्ने होइन दीर्घकालीन रूपमा नेपालको ऊर्जा क्षेत्रमा प्रभाव पार्ने किसिमका परियोजना अगाडि बढाउनुपर्छ,' उनले भने ।

प्रकाशित : श्रावण ३०, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?