जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुग्यो

श्रावण २३, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — जापान सरकारले कोभ्याक्स परियोजनामार्फत नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ ।

एस्ट्राजेनेकाको खोप लिएर आएको कतार एयरवेजको विमान शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आज करिब ५ लाख डोज खोप आएको छ । बाँकी करिब ३ लाख डोज भोलि आइपुग्ने बताइएको छ ।

जापानी राजदूत किकुता युताकाले विमानस्थलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई खोप हस्तान्तरण गरेका थिए । 

जापान सरकारले सहयोगको लागि प्रतिबद्धता गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये करिब आधा (८ लाख डोज) शनिबार र आइतबार आइपुग्ने भएको हो । बाँकी ८ लाख खोप भने कहिले आउँछ भन्ने विषयमा खुलाइएको छैन ।

सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाएकालाई दोस्रो मात्रा एस्ट्राजेनेकाकै खोप दिने निर्णय गरिसकेको छ । फागुन २३ देखि चैत्र १० गतेसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई जापानले उपलब्ध गराएको खोप दिन लागिएको हो । 

कान्तिपुर

Link copied successfully