कोरोनाले ९,९९४ को मृत्यु- समाचार - कान्तिपुर समाचार
कोरोना महामारी

कोरोनाले ९,९९४ को मृत्यु

मृत्युदर भारत, भुटान, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी
मकर श्रेष्ठ

काठमाडौँ — कोरोना संक्रमणबाट १४ महिनामा मुलुकभित्र झन्डै १० हजार जनाले ज्यान गुमाएका छन् । बिहीबारसम्म ७ लाख ७३ हजार ८ सय ६० जनालाई संक्रमण पुष्टि भएकामा ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ हजार ६ सय ४० जना पुरुष छन् । 


मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने दर भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा १.४ रहेको छ । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६ हजार ९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ । एकै दिन सबैभन्दा धेरै जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाबाट मृत्यु हुनेमा ६० वर्षभन्दा माथिका ५ हजार ३ सय ७३ जना छन् । ‘पहिलो लहरमा ६० वर्षभन्दा बढी उमेर समूहका वृद्धवृद्धाले ज्यान गुमाएका थिए भने दोस्रो लहरमा युवाले पनि ज्यान गुमाए,’ उनले भने । ९ वर्षभन्दा मुनिका ४५ जनाको मृत्यु भइसकेको छ ।

संक्रमित हुने दर पनि बालबालिकामा ८ प्रतिशत हाराहारी छ । बिहीबार देशभरका संक्रमितमध्ये ८.९६ प्रतिशत २० वर्षभन्दा कम उमेरका छन् । १० वर्षभन्दा मुनिका मात्रै ८७ जना संक्रमित भएका छन् । वैशाख २७ मा २० वर्ष मुनिका ८ प्रतिशत मात्र संक्रमित थिए ।

तेस्रो लहरमा बालबालिका अझ बढी संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसको तयारीका लागि १ सय ८० भेन्टिलेटरसहितको २ सय ७५ आईसीयू बेड थप गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

‘कोरोनाकै कारण १० हजारको मृत्यु हुनु दुर्भाग्य हो, यसलाई हामीले गम्भीर रूपमा लिएका छौं,’ प्रवक्ता डा. पौडेलले भने, ‘आगामी दिनमा मृत्युदर घटाउन के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । अस्पतालमा आवश्यक पर्ने उपकरण खरिद गर्न बजेट पनि पठाइसकेका छौं ।’ जोखिम त्यतिकै रहेकाले अस्पतालको सेवा विस्तार र खोप पुर्‍याउने प्रयास जारी रहेको उनले बताए ।

मन्त्रालयले आउँदो ५ महिनामा करिब २ लाख संक्रमित थपिने प्रक्षेपण गरेको छ । प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा बिहीबार भएको छलफलमा स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले मंसिरसम्म १ लाख ९३ हजार ८ सय ५६ संक्रमित थपिने सम्भावना रहेको बताए । ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार आवश्यक पर्न सक्ने प्रक्षेपणमा उल्लेख छ ।

साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १ सय ८३ संक्रमित थपिन सक्ने मन्त्रालयको आकलन छ ।

प्रकाशित : श्रावण २२, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्

मेसीले बार्सिलोना छाड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फुटबल क्लब बार्सिलोनामा नबस्ने भएका छन् । बिहीबार क्लबले विज्ञप्ति जारी गर्दै मेसी बार्सिलोनामा नबस्ने जनाएको हो ।

क्लब र मेसीबीच नयाँ सम्झौतामा हस्ताक्षर गर्ने सहमति बने पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण मेसीले बार्सिलोनामा निरन्तरता दिन नसकेको विज्ञप्तिमा जनाइएको छ । ‘एफसी बार्सिलोना र लियोनल मेसी नयाँ सम्झौता हस्ताक्षर गर्ने सहमतिमा पुगे पनि खेलाडी दर्तासम्बन्धी स्पेनी ला लिगाको नियमका कारण सफल हुन सकेन । त्यसैले मेसी बार्सिलोनामा रहने छैनन् ।’

खेलाडी र क्लबको इच्छा पूरा नभएकोमा दुवै पक्षलाई दु:खी भएको पनि बार्सिलोनाले जनाएको छ । क्लबका लागि पुर्‍याएको योगदानका लागि मेसीलाई बार्सिलोनाले धन्यवाद दिँदै सुखद भविष्यको कामना गरेको छ ।

यसै महिनाको सुरुमा मेसी कुनै पनि अनुबन्धबाट स्वतन्त्र भएका थिए । बार्सिलोनासँग यसअघिको अनुबन्ध टुंगिएपछि अर्जेन्टिनी खेलाडी ‘फ्री ट्रान्सफर’ का लागि उपलब्ध भएका थिए । यसअघि उनी अन्यत्र जानसक्ने सम्भावना रहेको बताइए पनि पछि उनले बार्सिलोनामै रहने जनाएका थिए । म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पनि मेसीमा रुचि देखाएको थियो । बार्सिलोनामा नबस्ने भएपछि मेसी कहाँ जान्छन् भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

करिब २१ वर्ष बार्सिलोनामा रहेर मेसीले कीर्तिमान ६ सय ७२ गोल गरिसकेका छन् । १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेल खेलेका छन् । यसक्रममा १० ला लिगा, ४ युरोपेली च्याम्पियन्स लिग र ७ कोपा डेल रे उपाधि जितेका छन् । उनले कीर्तिमान छपल्ट बालोन डी’अर पनि जितिसकेका छन् । त्यसैले उनलाई बार्सिलोनाको इतिहासकै सर्वकालीन महान खेलाडी मानिन्छ । कोपामा अर्जेन्टिनाको जित र त्यसमा मेसीको उत्कृष्ट प्रदर्शनका कारण उनी फेरि एकपल्ट बालोन डी’अर उपाधिलाई बलियो प्रत्याशी भएका छन् ।

प्रकाशित : श्रावण २२, २०७८ ०६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×