२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न संयुक्त विद्यार्थी संगठनको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — संयुक्त विद्यार्थी संगठनले महाकाली नदी वारपार गर्न लगाएको तुइन काटेर एसएसबीले दार्चुलाको ब्यास गाउँपालिका- २ का जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध गरेको छ । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस, सत्तारुढ दलहरू माओवादी, जसपा, एमाले र जनमोर्चाका विद्यार्थी संगठनले सीमाक्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न पनि माग गरेका छन् । 

भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न संयुक्त विद्यार्थी संगठनको माग

प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त विद्यार्थी संगठनले शनिबार बिहान ज्ञापनपत्र बुझाएको हो । संयुक्त विद्यार्थी संगठनका पाँच नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, 'दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानका लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएका छन् । संयुक्त विद्यार्थी संगठन भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दछौं ।'

धामी महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएर महाकाली नदीमा बगेर बेपत्ता भएका थिए । एसएसबीको उक्त कार्यको नेपालमा विरोध भइरहेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल (छैठौं)का अध्यक्ष विमल पोखरेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

‘महाकाली तर्दातर्दै एसएसबीले काट्यो तुइन’ : वैदेशिक रोजगारीमा हिँडेका युवक बेपत्ता

संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेको भन्दै विरोध जनाएका छन् । उपकूलपतिको कारण परीक्षाको वातावरण बिथोलिएको भन्दै विद्यार्थी संगठनहरूले विद्यार्थीका जायज माग सम्बोधन गरी परीक्षा सूचारु गर्न माग गरेका छन् ।

त्यस्तै, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरूबाट भ्रष्टाचार, अनियमितता भएको भन्दै संयुक्त विद्यार्थी संगठनले भनेको छ, 'प्रतिष्ठानका पदाधिकारीहरूले दादागिरी मच्चाइरहेका छन् । पढाइ, बिरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ । उपकुलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग गर्दछौं ।'

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी, पूर्वविद्यार्थी र धरानवासीले आन्दोलन गरिरहेका छन् । जेठ अन्तिम सातादेखि सुरु भएको आन्दोलन माग पूरा नभएसम्म जारी रहने बताइएको छ । उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्नुपर्ने उनीहरूले माग गर्दै आएका छन् । उक्त आन्दोलनमा संयुक्त विद्यार्थी संगठनले समर्थन जनाएको हो ।

प्रकाशित : श्रावण १६, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?