कांग्रेसको वडा अधिवेशन स्थगित, क्रियाशील सदस्यता विवाद टुंगिएपछि अर्को मिति तय हुने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको वडा अधिवेशन स्थगित, क्रियाशील सदस्यता विवाद टुंगिएपछि अर्को मिति तय हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय लिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

'बैठकमा साउन १२ गते सुरु हुने भनेर निर्धारित गरिएको वडा तहको अधिवेशन स्थगन गर्ने सल्लाह परामर्श भएको छ । वडा तहको अधिवशेन स्थगन हुनुको अर्थ भदौ १६ गतेदेखि हुने महाधिवेशन पनि स्थगन भन्ने होइन । महाधिवेशन र अन्य तहका अधिवेशन कायमै छन्,' प्रवक्ता शर्माले भने ।

वडा तहको अधिवेशन स्थगित गर्नुको कारण भने जिल्लाहरूमा कोरोना संक्रमण बढ्नु रहेको प्रवक्ता शर्माको भनाइ थियो । जिल्ला-जिल्लाबाट कोरोनाको संक्रमण बढिरहेको र कतिपय ठाउँहरूमा समस्या रहेको भनेर पार्टी केन्द्रीय कार्यालयमा गुनासो आइरहेको उनले जानकारी दिए ।

वडा अधिवेशनको अर्को मिति भने क्रियाशील सदस्यता छानबिनको विवाद समाधान भएपछि तय हुने शर्माको भनाइ थियो । 'साउन १२ गते मंगलबार बिहान ९ गते क्रियाशील सदस्यता छानबिन समितिले आफ्नो प्रतिवेदन सभापति देउवालाई हस्तान्तरण गर्ने भएको छ । प्रतिवेदन लिइसकेपछि वडा तहको अधिवेशनको अर्को मिति प्रकाशित गर्छौं,' उनले भने ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले अधिकांस ठाउँमा सर्वसम्मतिले क्रियाशील सदस्यता चयन गरिएको बैठकमा जानकारी दिएको शर्माले बताए । केही जिल्ला र निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता विवाद कायमै रहेको र त्यो विवादबारे १२ गतेभित्र टुंगोमा पुग्ने तयारी रहेको उनले जानकारी दिए । सदस्यता छानबिन समितिले प्रतिवेदन दिएपछि केन्द्रीय समितिले टुंगो लगाउने र प्रभावित हुने अधिवेशनका मितिबारे निर्णय लिइने उनले बताए ।

कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ गतेदेखि काठमाडौंमा गर्ने निर्णय भएको छ । वडा अधिवेशन आउन ३ दिन पहिला स्थगित गरिएको छ ।

प्रकाशित : श्रावण ९, २०७८ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्

सबै सांसदलाई मन्त्री चाहिएको छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला गठबन्धन दलका अध्यक्ष दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेको बताएका हुन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा शनिबार आयोजित कार्यक्रममा दाहालले भने, 'मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ?'

पार्टीका सबै सांसदलाई मन्त्री चाहियो उनले बताए । 'हाम्रा सांसद सबैलाई मन्त्री चाहिया छ । हामीले पाउने बढीमा ७ जना हो,' उनले भने, 'यहाँ मन्त्री नभए भने नेतृत्वलाई सरापेर हिँड्ने, पायो भने मात्रै गर्ने प्रवृत्ति छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बेइमान भन्ने प्रवृत्ति छ ।'प्रतिनिधिसभामा माओवादीका सभामुखसहित ४९ सांसद छन् । जसमध्ये दुई जना मन्त्री भइसकेका छन् । त्यस्तै, राष्ट्रिय सभामा रहेका सांसद पनि मन्त्री बन्ने दौडमा रहेका छन् ।


प्रकाशित : श्रावण ९, २०७८ १४:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×