रावललाई भेट्न टोखा पुगे नेपाल

श्रावण ६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । 

बुधबार दिउँसो बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यहरुको छलफलमा उपस्थित नभएपछि रावललाई भेट्न नेपाल उनको निवास गएका हुन् । गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेमा नेपालसँग विवाद भएपछि रावलले सोही दिन सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भएको छैन ।

नेपाल र रावलबीच कार्यदल तहमा भएको १० बुँदे सहमतिका विषयमा पनि विवाद छ । नेपालको पक्षबाट रावल संयोजक रहेको कार्यदलले पार्टी एकताका लागि असार २७ गते १० बुँदे सहमति गरेको थियो । तर, सहमतिमा नेता नेपालले असहमति जनाएका छन् ।  भेटमा यिनै विषयमा छलफल भएको नेपालको सचिवालयले जानकारी दियो ।

कान्तिपुर

Link copied successfully