१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘पेगासस’ प्रकरण : भारतका लागि नेपाली राजदूतको पनि ‘फोन ट्यापिङ’ ! 

राजदूत आचार्य भन्छन् :  यसबारे के प्रतिक्रिया दिने र ? 

काठमाडौँ — विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पेगासस स्पाइवेअरले भारतका लागि नेपाली राजदूतसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने बताइएको छ ।

‘पेगासस’ प्रकरण : भारतका लागि नेपाली राजदूतको पनि ‘फोन ट्यापिङ’ ! 

इजरायलस्थित गैरसरकारी एनएसओ ग्रुपले निर्माण गरेको जासुसी प्रविधि कम्पनी ‘पेगासस’ मार्फत भारत सरकारले आफ्ना विरोधीहरुका बारे गरिएको जासुसीमा दिल्लीमा रहेका नेपाली, चिनियाँसहितका कूटनीतिक नियोग प्रमुखहरुको समेत पछिल्लो ४ वर्षे अवधिको ‘फोन–ट्यापिङ’ भएको सूचना बाहिर आएको छ ।

फ्रेन्च पत्रिका ‘ले मोन्डे’ले सोमबार सार्वजनिक गरेको समाचारमा, दिल्लीस्थित थुप्रै राजदूतहरुले विभिन्न समयमा गरेको संवाद तथा राजनेता, मानवअधिकारकर्मी, सांसद, पत्रकारको फोन नम्बरसहितको सूची ‘पेगासस’मा रहेको छ । ‘ले मोन्डे’मा प्रकाशित फ्रेन्च भाषाको समाचारको अनुवाद पठाउँदै पेरिसस्थित कान्तिपुरकर्मी ददी सापकोटाले जनाएअनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मद्दत पुग्ने गरी ‘पेगासस’ मार्फत गुप्तचरी गरिएको जनाइएको छ ।

विश्वकै ठूलो लोकतन्त्र मानिएको भारतमा सरकार सञ्चालनको पद्धति जासुसी र गुप्तचरीका भरमा चलिरहेको यो घटनाको आलोचना गर्दै विश्वका प्रतिष्ठित मिडियाहरुले चर्को निन्दा गरेका छन् । ‘जासुसीका लागि सन् २०१७ यताका प्रमुख २ हजार वटा मामलालाई छनौट गरिएको र भारत–पाक विषयक ती मामलामा सूचना संकलनमा पत्रकार, नेता, कूटनीतिज्ञसहितलाई उपयोग गरिएको छ,’‘ले मोन्डे’मा भनिएको छ । यो जासुसी सफ्टवेयरको प्र भारतीय प्रधानमन्त्री मोदीको सन् २०१७, जुलाइमा भएको इजरायल भ्रमणपछि थालिएको जनाइएको छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य ।

‘विशेषगरी पाकिस्तानी प्रधानमन्त्री इमरान खानका फोन नम्बरहरु, भारतमा विपक्षी दलका नेता राहुल गान्धी र दिल्लीस्थित इरान, अफगानिस्तान, चीन, साउदी अरेबिया, नेपालसहितका राजदूतका सम्पर्क तथा युनिभर्सिटी अफ दिल्लीका प्राध्यापक (हाल स्वर्गीय) साइद अब्दुल रहमान गिलानीका सन् २०१९ अक्टोबर(उनको मृत्यु समयसम्म)का संवादका रेकर्डहरु ‘पेगासस’मा पाइएको छ,’पत्रिकाले लेखेको छ । पाकिस्तान, चीनजस्ता मुलुकसँग भारतको असहज सम्बन्ध रहेको र यही कारण जासुसी गतिविधि गरिएको मान्न सकिए पनि नेपालसहितका मित्रवत मुलुकका हकमा राजदूतमार्फत गरिएको ‘गुप्तचरी’ लाई ‘ले मोन्डे’ले पनि अनौठो भन्दै समाचार बनाएको छ ।

पेगासस प्रकरणबारे बेलायती पत्रिका गार्जियनको सामग्री ।

‘यो चर्चामा रहेको ‘पेगासस’ प्रकरणबारे सोमबार मैले समाचारमा पढेको थिएँ,’दिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले कान्तिपुरसँग भने,‘तर, यस्तो आफ्नो जानकारीमै नरहेको सूचना र संयन्त्रका बारेमा केही प्रतिक्रिया दिने अवस्थै रहेन, के भन्ने र ?’

‘पेगासस’ले फोनको डेटाबेस तयार गर्ने क्रममा भारतीय ४० पत्रकारको समेत फोन ‘ट्याप’ गरेकोमा मुम्बई प्रेस क्लबले आपत्ति जनाउँदै यो जासुसी कामका बारेमा भारत सरकारले आफ्नो साथ–सहयोगका बारेमा केही नखुलाउनुले अझ संशय बढेको जनाएको छ । यो डेटाबेसमा ५० हजार फोन नम्बर रहेको र यसमा ३ सयभन्दा बढी भारतीयको रहेको जनाइएको छ । यसबारेमा ‘पेगासस’ले सबै रेकर्डको नाम–नम्बर भने खुलाएको छैन । यो प्रकरणबारे सरकारको जवाफ खोज्दै सोमबार विपक्षी सांसदले भारतीय संसद्समेत अवरुद्ध गरेका थिए ।

वासिंगटन पोस्टले पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसबारेमा प्रतिक्रिया नदिएको जनाएको छ । त्यस्तै द हिन्दुले पनि दूतावास र उच्च आयोगबाट यसबारेमा प्रतिक्रिया नदिइएको जनाएको छ । त्यस्तै भारतीय विदेश मन्त्रालयले पनि यसबारेमा आफूलाई जानकारी नभएको उल्लेख गरेको छ ।

कस्तो कम्पनी हो पेगासस ?

पेगासस साइबर सुरक्षासम्बन्धी इजरायली कम्पनी एनएसओले तयार गरेको हो । बंगलादेशसमेत विभिन्न मुलुकले पेगासस स्पाइवेअर किनेका छन् । पहिले पनि यसलाई लिएर निकै विवाद उत्पन्न भएको थियो । मेक्सिको, साउदी अरेबियालगायतका मुलुकमा यसको प्रयोगलाई लिएर व्यापक विरोध भएको थियो । फेसबुकलगायत विभिन्न कम्पनीले एनएसओविरुद्ध मुद्दासमेत हालेका थिए । भारतले आधिकारिक रुपमा पेगासस किनेको जानकारी नदिए पनि यसको प्रयोग भइरहेको बताइएको छ ।

तस्बिर : रोयटर्स

पेगासस स्पाइवेअर राखिएको स्मार्टफोनको माइक्रोफोन, क्यामेरा, अडियो तथा टेक्स्ट म्यासेज, इमेल र लोकेसनसम्मका जानकारी ह्याकरले प्राप्त गर्न सक्ने विज्ञहरुले बताएका छन् । साइबर सुरक्षा कम्पनी कास्परकाईको एक रिपोर्टअनुसार पेगाससले इन्क्रिप्टेड अडियो सुन्न र इन्क्रिप्टेड सन्देश पढ्न सक्ने बनाइदिन्छ ।

इन्क्रिप्टेड सन्देश यस्तो हो जुन पठाउने र प्राप्त गर्नेलाई मात्र जानकारी हुन्छ । सन्देश पठाइएको प्लेटफर्मवाला कम्पनीको समेतमा यसमा पहुँच हुँदैन तर पेगाससमार्फत ह्याक गर्नेले फोनमा रहेका सम्पूर्ण जानकारी हासिल गर्न सक्छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?