सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल

काठमाडौँ — नेकपा (एमाले) का सांसद भीम रावलले पदबाट राजीनामा दिएका छन् । एमाले विवाद समाधानका लागि क्रियाशील रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका हुन् ।

सांसद पदबाट मैले राजीनामा दिएको छु : भीम रावल

'पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुन:स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थामा आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ,' रावलको राजीनामा पत्रमा भनिएको छ, 'यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयकर भएकाले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु ।'

रावलले संघीय संसद्‌ भवनबाहिर पत्रकारमाझ राजीनामा पत्र वाचन गरेका थिए । उनले उक्त पत्र सभामुख अग्नि सापकोटालाई बुझाएर फर्किएका छन् ।

रावल अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । उनी एमालेले गठन गरेको विवाद समाधान कार्यदल सदस्य थिए ।

आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तयार देखिएका छन् । अध्यक्ष केपी ओली पक्षले भने संसदीय दलको बैठकबाटै देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । नेपाल समूहमा सक्रिय हुँदै आएका रावलले संसद् बैठकअघि राजीनामा दिएका हुन् ।

प्रकाशित : श्रावण ३, २०७८ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?