कान्तिपुर दैनिकको सम्पादकमा चौहान

काठमाडौँ — कान्तिपुर दैनिकको सम्पादक पदमा उमेश चौहान नियुक्त भएका छन् । दुई दशकदेखि पत्रकारितामा संलग्न पत्रकार चौहानलाई शुक्रबार कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया र कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले स्वागत गरे ।

कान्तिपुर दैनिकको सम्पादकमा चौहान

यसअघि नयाँ पत्रिका दैनिकको सम्पादक पदमा कार्यरत रहेका अर्घाखाँचीका चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग रेडियो र टीभीको पनि कार्यानुभव छ ।

चौहानले कान्तिपुर समाचार कक्षमा प्रधान सम्पादकको मातहत रही सम्पादकीय सामग्रीको संयोजन एवं उत्पादन गर्ने व्यवस्थापनले जनाएको छ । उनलाई स्वागत गर्दै केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सिरोहियाले कान्तिपुरलाई समयसापेक्ष सुधार गर्दै थप उचाइमा पुर्‍याउन आवश्यक रहेको बताए ।

प्रधान सम्पादक शर्माले नेतृत्वदायी सहकर्मीका रूपमा चौहानलाई समाचार कक्षमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । नवनियुक्त सम्पादक चौहानले नेपाली पत्रकारितामा कान्तिपुरको आफ्नै विरासत, शैली र प्रभाव रहेकाले त्यसलाई थप समृद्ध बनाउन भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : असार २६, २०७८ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?