२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

हिमाली पाटनमा मदिराका बोतल मात्रै ५० लाखभन्दा बढी

वसन्तप्रताप सिंह

बझाङ — साइपालका हिमाली पाटनहरू अबका केही महिना सफा देखिने छन् । यार्चा तथा जडीबुटी संकलकले वर्षौदेखि फालेका फोहोर यत्रतत्र देख्न पाइने छैन । हुल फेरि उक्लिएपछि भने सफा हुनु नहुनु उनीहरूकै व्यवहारमा निर्भर छ ।

हिमाली पाटनमा मदिराका बोतल मात्रै ५० लाखभन्दा बढी

बर्सेनि फोहोर थुप्रिँदै जाँदा उच्च हिमाली क्षेत्रको जैविक विविधता नै संकटमा पर्न थालेको थियो । फोहोर बढ्दा एकातिर यार्चा र जडीबुटीलाई प्रतिकूल असर त परेकै थियो, संकलक पनि समस्यामा थिए ।

वर्षौंदेखि फालिएका फोहोरले हिमाली पाटनमा परेको असरको चिन्ता सुरु भएपछि गाउँपालिका व्यवस्थापनमा अघि सरेको छ । ‘सुरुवाती चरणमा अहिले जम्मा भएको र पाटनमा छरिएको फोहोर संकलन गरेर निश्चित ठाउँमा खाल्डो खनेर पुर्ने काम गरिरहेका छौं,’ गाउँपालिकाका ओभरसियर तिलक विकले भने, ‘यार्चा र अन्य जडीबुटी संकलन गर्न गएकालाई पनि फोहोर व्यवस्थापनमा सहभागी गराइरहेका छौं ।’ वर्षौंदेखि थुप्रिएको फोहोर एकै पटकमा तह लगाउन सम्भव नभए पनि छरिन नपाओस् भनेर काम थालिएको उनले बताए । गाउँपालिकाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गतको विश्व वातावरण कोष र स्थानीय गैरसरकारी संस्था सहारा नेपालसँग सहकार्य गरेर सफाइको काम थालेको हो । सरसफाइ अभियानअन्तर्गत पुरानो फोहोर व्यवस्थापन र नयाँ फोहोर यार्चा संकलक आफैंले गर्ने गरी सचेतनामूलक कार्यक्रम पनि चलाइएको सहाराका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले साइपालको यार्चा संकलन क्षेत्रमा गरेको अध्ययनले यहाँका पाटनहरूमा ४० हजार क्विन्टलभन्दा बढी फोहोर जम्मा भइसकेको देखाएको छ । २०७६ मा गरिएको उक्त अध्ययनको साझेदार सहारा नेपालका अनुसार यार्चा संकलनको समयमा पाटन पुग्ने प्रत्येकले केही न केही फाल्ने गर्छन् । जुत्ता, चप्पल, ओढ्ने–ओछ्याउने कपडा, पाल, प्लास्टिक आदिबाट एक सिजनमा सरदर ५ किलो र बिस्कुट, चाउचाउ, जुस, चकलेट, सुर्ती, गुट्खा आदिको खोल गरेर एक सिजनमा ५ किलो २ सय ग्राम फोहोर छाड्छन् । प्रत्येक वर्ष यार्चा टिप्न साइपालका पाटनमा मात्रै १५ हजारभन्दा बढी मान्छे पुग्ने गरेका छन् । पछिल्लो १५ वर्षको अवधिमा मात्रै ११ हजार ७ सय क्विन्टल फोहोर जम्मा भइसकेको प्रतिवेदनमा उल्लेख छ ।

संकलकले दैनिक उपभोग गर्ने र बन्दोबस्तीका सामानभन्दा कैयौं गुणा बढी फोहोर मदिराको खपतबाट हुने गरेको अध्ययनले देखाएको छ । मदिरा सेवन गरेर फालिएको सिसाका बोतल मात्रै ५० लाखभन्दा बढी रहेको र यसको तौल १५ हजार क्विन्टल रहेको प्रतिवेदनमा उल्लेख छ । ‘अहिले पनि पाटन क्षेत्रमा टनका टन फोहोर जम्मा भइसकेको छ । एक–दुई वर्षको अभियानले मात्रै सबै फोहोरको व्यवस्थापन गर्न सकिन्न,’ बोहराले भने, ‘पहिला जम्मा भएको फोहोरलाई सक्दो व्यवस्थापन गर्ने र अब उत्पादन हुने फोहोर संकलक स्वयंलाई व्यवस्थापन गर्न लगाउने हाम्रो उद्देश्य हो ।’ अभियानका रूपमा सफाइ सुरु गर्दा पनि पाटन पहिलेभन्दा निकै सफा हुने उनले बताए ।

अभियानअन्तर्गत साइपालका विभिन्न जडीबुटी संकलन क्षेत्रमा ६ सयभन्दा बढी खाल्डा खनिएको छ । यो वर्ष जम्मा हुने फोहोरमध्ये ८० प्रतिशतजति खाल्डामा पुरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘एउटा निश्चित क्षेत्रफलभित्र संकलन गर्दा मात्रै एक ट्रकभन्दा बढी फोहोर निस्किने गरेको छ,’ उनले भने, ‘अहिले जम्मा भएका सबै फोहोर एकैपटकमा व्यवस्थापन गर्न सजिलो छैन, सुरुवात भएको छ ।’

प्रकाशित : असार २४, २०७८ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?