२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई स्पष्टीकरण

नेसनल मेडिकल कलेजले एमबीबीएस पाँचौं वर्षका रामजी राम र पंकज रामलाई परीक्षा आवेदन फाराम भर्न दिएन
सुदीप कैनी

काठमाडौँ — वीरगन्जस्थित नेसनल मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा अध्ययनरत दुई जनालाई अतिरिक्त शुल्क नबुझाएकामा स्पष्टीकरण सोधेको छ । एमबीबीएस पाँचौं वर्षमा अध्ययनरत रामजी राम र पंकज रामलाई परीक्षा आवेदन फाराम भर्न नदिई स्पष्टीकरण सोधिएको हो । 

अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई स्पष्टीकरण

परीक्षा आवेदन फाराम भर्ने अन्तिम दिन सोमबार फाराम भर्न नदिइएको रामजीले बताए । ‘शुल्क माग्दा किन शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा उजुरी दिएको भनेर २४ घण्टे स्पष्टीकरण मागिएको थियो,’ उनले सोमबार साँझ कान्तिपुरसँग भने, ‘स्पष्टीकरण दिएका छौं, चित्तबुझे फाराम भर्न दिन्छौं, नबुझे दिँदैनौं भनिएको छ ।’ कलेजका सञ्चालक बसरुद्दिन अन्सारीको निर्देशनमा स्पष्टीकरण सोधिएको विद्यार्थीको भनाइ छ । उनी निजी मेडिकल कलेज सञ्चालकहरूका तर्फबाट आयोगको सदस्यसमेत छन् ।

यसअघि पनि गत पुसमा उनीहरूलाई कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै चौथो वर्षको परीक्षामा सहभागी हुन रोकेको थियो । आईओएमको निर्देशनपछि उनीहरूले परीक्षा दिन पाएका थिए । पाँचौं वर्षको आवेदन फाराम भर्न जाँदा ८ लाख ७३ हजार शुल्क मागिएको रामजीले सुनाए । ‘वार्षिक शुल्क, होस्टल र इन्टरनेट शुल्क भनेर रकम मागिएको छ,’ उनले भने, ‘म होस्टल नै बसेको छैन । होस्टलले नबसेको पत्र दिएन, कलेज प्रशासनले शुल्क मागिरहेको छ ।’

छात्रवृत्तिमा अध्ययनरतसँग होस्टलबाहेक अरू शुल्क लिन पाइँदैन । मेडिकल कलेजहरूले भने अनिवार्य होस्टलमा बस्नुपर्ने व्यवस्था गरेर शुल्क जबर्जस्ती असुल्दै आएका छन् । ‘पहिले होस्टल बसेको थिएँ, अहिले बस्दिनँ, पहिले बसेको पैसा तिरिसकें, अहिले फेरि मागिरहेको छ, मसँग तिर्न त्यति पैसा नि छैन,’ उनले भने । आईओएम र आयोगले यस विषयमा कलेजसँग स्पष्टीकरण मागिएको जनाएका छन् ।

गत पुसमा नेसनल मेडिकल कलेजले ७ लाख ५१ हजार अतिरिक्त शुल्क नबुझाएको भन्दै उनीहरूलाई परीक्षाबाट वञ्चित गरेको थियो । सरकारले २०७२ सालमा डोम, बादी, मुसहर र चमार जातिलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेपछि उनीहरू सोही कोटामा नेसनलमा भर्ना भएका थिए । उनीहरूसँग प्रत्येक वर्ष बढी शुल्क मागिँदै आएको छ ।

रामजी एमबीबीएस प्रवेश परीक्षामा उत्तीर्ण भएपछि ललितपुरको किस्ट मेडिकल कलेज गएका थिए । उनलाई किस्टले पनि भर्ना लिन मानेको थिएन । सर्वोच्च अदालतको आदेशमा उनी नेसनलमा भर्ना भएका हुन् । किस्टले त्यतिबेला १५ लाख अतिरिक्त शुल्क मागेर भर्ना नलिएको उनले सुनाए । मेडिकल कलेजहरूले एमबीबीएसलगायत चिकित्सा शिक्षाका विषय अध्ययन गर्ने विद्यार्थीसँग अतिरिक्त शुल्क उठाउँदै आएका छन् । होस्टल बस्नुपर्ने बाध्यकारी नियम बनाएर पैसा लिने गरिएको छ ।

कलेजका सञ्चालक अन्सारीले कलेजविरुद्ध विभिन्न निकायमा उजुरी दिएकाले सोधपुछ गरिएको प्रतिक्रिया दिए । उनले भने, ‘उनीहरूको खासै ठूलो समस्या हैन, छलफलबाट मिल्छ । भोलि (मंगलबार) सम्म टुंगो लाग्छ, चिन्ता गर्नुपर्दैन ।’

प्रकाशित : असार २२, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?