काठमाडौँ — २४ घण्टामा देशभर १ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न जिल्लामा गरिएको ७ हजाार ४९९ पीसीआर परीक्षणमा १ हजार ७४५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ४ हजार २८ एन्टिजेन परीक्षणमा ८७७ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ४६ हजार ३६७ पुगेको छ ।
यस्तै, २४ घण्टामा २ हजार २११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ ।
