काठमाडौँ — कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको ‘सगरमाथा पुरस्कार र तेन्जिङ–हिलारी पुरस्कार’का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार ९ जना आरोहीको नाम चयन गरेको छ ।
पर्यटन विभागका निर्देशक मिरा आचार्यका अनुसार पुरस्कार समितिको सिफारिसका आधारमा लामो समयसम्म ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड कायम राख्न सफल शम्भु तामाङलाई सन् २०२० का लागि र सन् २०२१ का लागि सर्वाधिक सगरमाथा आरोहण गर्ने कामीरिता शेर्पालाई १ लाख राशीको सगरमाथा पुरस्कार प्रदान गरिने भएको छ ।
१७ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका तामाङको रेर्कड २९ वर्षपछि सन् २००१ मा तेम्बाछिरी शेर्पाले ब्रेक गरेका थिए । त्यस्तै कामीरिता शेर्पाले यसै वर्षको वसन्तकालीन याममा २५ औं पटक सगरमाथा आरोहण गर्दै आफ्नै २४ औं पटकको विश्व रेकर्ड ब्रेक गरेका थिए ।
त्यसैगरी ५० हजार राशीको तेन्जिङ हिलारी पुरस्कार ७ जना आरोहीलाई प्रदान गरिने भएको छ । जस अन्तर्गत सन् २०१९ अघि नै विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरि सकेर पुन: दोस्रो पटक यी हिमाल आरोहणमा लागिरहेका सानु शेर्पालाई सन् २०२० को तेन्जिङ हिलारी पुरस्कार प्रदान गरिने भएको छ । एकै सिजनमा एकै साथ सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो दम्पती आङ्दावा शेर्पा र पासाङ फुटी शेर्पा र ३७ वर्षको उमेरमा २२ पटक सगरमाथा आरोहण गरिसकेका ङिमा नुरु शेर्पाले पनि २०२० को तेन्जिङ हिलारी पुरस्कार पाउने भएका छन् ।
सन् २०२१ को तेन्जिङ–हिलारी पुरस्कार दोलखाका मिङ्मा ग्याल्जे शेर्पा, फून्जो जाङ्मु लामा र सर्मिला लामालाई दिइने भएको छ ।
पर्यटन विभागका महानिर्देशक रुद्र तामाङको संयोजकत्वमा गठन गरिएको ५ सदस्यीय पुरस्कार समितिको सिफारिसका आधारमा आइतबार पर्यटन मन्त्री लिलानाथ श्रेष्ठले दुई वर्षदेखि रोकिएका पुरस्कार प्राप्त गर्ने ९ जना आरोहीहरुको नाम चयन गरेका हुन् ।
सन् १९५३ मे २९ का दिन विश्वकै अग्लो चुचुरो सगरमाथामा पहिलो मानव पाइला पुगेको दिनलाई स्मरण गर्दै यी पुरस्कार हरेक वर्ष २९ मेका दिन विश्वभर मनाइने सगरमाथा दिवसका अवसरमा नेपाल सरकारले प्रदान गर्दै आएको छ ।
विभाग, मन्त्रालयका कर्मचारी तथा पदयात्रा र हिमाल आरोहणसँग सम्बन्धित संस्थाहरुका प्रतिनिधिहरु रहेको पुरस्कार समितिले हिमाल आरोहणमा विवादमा नमुछिएका, कानुन तथा पेशागत मर्यादा पालना गर्ने, सामाजिक काममा लागेका आरोहीलाई पुरस्कारका लागि मन्त्रीसमक्ष सिफारिस गर्छ । यो पुरस्कारको हकदार नेपाललाई विदेशमा चिनाउने स्वदेशी तथा विदेशी आरोही हुन्छन् ।
