१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई भने- मन्त्रीज्यू, आवेशमा आएर यस्तो काम नगर्नुहोस् है

काठमाडौँ — जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी महिलालाई प्रहरी कार्यालयबाट आफ्नै गाडीमा राखेर घर पुर्‍याउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठलाई भने- मन्त्रीज्यू, आवेशमा आएर यस्तो काम नगर्नुहोस् है

आगामी दिनमा आवेशमा आएर त्यस्ता कार्य नगर्न प्रधानमन्त्री ओलीले शिक्षामन्त्री श्रेष्ठलाई सचेत गराएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर कानुनमन्त्री श्रेष्ठले उक्त कुराको जानकारी दिएका हुन् ।

जातीय विभेदको अन्त्यका लागि सरकारले नै ऐन, नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै शिक्षामन्त्री श्रेष्ठ र सरकारको चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई आगामी दिनमा त्यस्तो गल्ती नगर्न सचेत गराएको कानुनमन्त्री श्रेष्ठले जानकारी दिएका हुन् ।

मन्त्री लीलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वंम प्रहरी कार्यलय पुगेको र आफ्नै सवारीसाधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दै कानुन कार्यान्वयमा सन्देह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रीको ध्यानाकर्षण गराएको जवाफ फर्काएका हुन् ।

मन्त्री लीलानाथ श्रेष्ठले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्भाग्यपूर्ण भनेर पनि टिप्पणी गरेका थिए । उनले भने, 'गाडीमा चढाएर लगे । यो दुर्भाग्य कुरा हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले, अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने ! तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । 'मन्त्रीज्यू, आवेशमा आएर यस्तो काम नगर्नुहोस् है । यो काम जुन तपाईंले गर्नुभयो, त्यो ठिक भएन' भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वंयमको पनि ध्यानाकर्षण भएको छ ।'

सञ्चारकर्मी रुपा सुनारलाई दलीत भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी प्रधानलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा राखेर घर पुर्‍याएका थिए ।मन्त्री श्रेष्ठको उक्त कार्यको सर्वत्र विरोध भएको थियो ।

प्रकाशित : असार १५, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?