प्रधानमन्त्री ओली किन ‘अमर्यादित’ टिप्पणीमा उत्रिए ? 

बबिता शर्मा

काठमाडौँ — विरोधीमाथि बेलाबेला कठोर कटाक्ष र व्यङ्ग प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको शैलीमा पर्छ । आफ्नो परिचित शैलीमै प्रधानमन्त्री ओलीले सोमबार सर्वोच्च अदालत, विपक्षी दल कांग्रेस र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमात्रै होइन, आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि पनि टिप्पणी गरे ।

प्रधानमन्त्री ओली किन ‘अमर्यादित’ टिप्पणीमा उत्रिए ? 

तर, कहिले प्रधानमन्त्रीलाई प्रेसले 'तपाईं' सम्बोधन गरेन भनेर त कहिले राष्ट्रपतिको मान भएन भनेर गुनासो गरिररहने ओली आफैंले प्रयोग गरेको भाषा भने उनले तोकेको 'मर्यादा'भित्र पर्नेखालको थिएन ।

७० औं मदन भण्डारी जन्मजयन्तीमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल लाज–सरम पचेको मान्छे भनेर टिप्प्णी गरे । नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नलाई आफूलाई बौलाहा कुकुरले नटोकेको पनि उनले बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति पनि कठोर टिप्पणी गर्दै उनी छेपारोले झैं रंग फेर्ने मान्छे भएको बताए ।

ओलीले कांग्रेसको शान्तिपूर्ण राजनीतिमाथि प्रश्न उठाँउँदै कांग्रेसका नेताहरु नाथुराम गोड्सेको खोजीमा लागेको आरोप लगाएका थिए । यसबाहेक ओलीले इजलासमा प्रचण्डपथको चर्चा हुँदासमेत सर्वोच्च अदालतका न्यायाधीश मौन बसेको भन्दै आलोचना गरेका थिए । ओली वाणिमा उपस्थित नेताहरूले ताली बजाए ।

एकअर्कालाई गाली गर्न र मानमर्दन गर्नमा प्राय: सबैजसो नेताहरू अग्रसर देखिन्छन् । राजनीतिक दाउपेचमा आफू तल पर्दा वा कुनै अप्ठेरो पर्दा अरूलाई आरोप लगाउने नेताहरुको पुरानै बानी हो । तर, देशको कार्यकारी प्रमुख आफैं गालीगलौजमा उत्रेपछि अनेक प्रश्नहरु उठेका छन् । देशको कार्यकारी प्रमुखले एकैपटक विरोधीमाथि किन कठोर र ‘अमर्यादित’ प्रहार गरे होलान् ? एमालेकै ओलीनिकट कतिपय नेताहरु अनौपचारिक कुराकानीमा भन्छन्, ‘जहिलेजहिले आफूमाथि दबाब पैदा हुन्छ, प्रधानमन्त्रीले देशको ध्यान अन्यत्रै मोड्न अरुमाथि आक्रमण गर्छन् । सोमबार प्रधानमन्त्री ओलीको अभिव्यक्ति पनि यसैको उदारण होजस्तो लाग्छ ।’

त्यसो भए ओली यतिबेला के दबाबमा छन् ? ओलीनिकट ती नेता भन्छन्, ‘राष्ट्रिय राजनीतिमा केही महत्वपूर्ण घटनाक्रम विकसित भएका छन् जसले ओलीमाथि दबाब पैदा गरेको छ ।’ उनका अनुसार सर्वोच्च अदालतमा सुनुवाई चलिरहेको संसद् विघटनसम्बन्धी मुद्दा फेरि पनि आफ्नो विरुद्धमा जाला भन्ने भय ओलीमा छ ।

पछिल्ला दिनमा मन्त्रिपरिषद् विस्तारदेखि राजदूत नियुक्ति मापदण्डसम्म र नागरिकता अध्यादेशदेखि ढुंगागिटी निकासीसम्मका ओलीका नीतिलाई अदालतले उल्टाइदिएको छ । र, यसको असर प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा पनि देखिनसक्ने भय ओलीमा देखिएको निटक नेताहरू बताउँछन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिका सुनुवाईमा विपक्षी गठबन्धनका वकिलहरुले राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् । जबकि ओलीले संसद् विघटन र प्रधानमन्त्री चयनको विषय राजनीतिक विषय भएकाले यसमा अदालतले हात हालेको भन्दै असन्तुष्टि जनाएका छन् । यतिसम्म कि सर्वोच्च अदालतले एमालेकै आन्तरिक विवादमा समेत ओलीलाई झट्का दिएको छ । केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको निर्णयलाई अदालतले वैध मान्न नसकिने अन्तरिम आदेश दिइसकेको छ । यहीकारण ओलीले पुन: केन्द्रीय कमिटी ब्युँताउन असार १६ मा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

विपक्षी गठबन्धनले मुद्दा बाहेक अन्य राजनीतिक गतिविधि पनि बढाइरहेको छ । यसले विपक्षी गठबन्धनलाई थप बलियो बनाउने सम्भावना देखिन्छ । मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय अदालतले खारेज गरिदिएपछि ओली र जसपाबीचको सहकार्यलाई लिएर आंशका पैदा भएको र यसले पनि उनी दबाबमा परेको हुनसक्ने एमालेका अर्का एक नेताले बताए ।

एमाले वरिष्ठ नेता माधव नेपाल समूह विपक्षी गठबन्धनमा एउटा दलजसरी सहभागी छ । र, नेपालले पटक–पटक गठबन्धनमाथि आफ्नो प्रतिबद्धता दोहोर्‍याइरहेका छन् । यो समूहका एक नेता बदुराम भुसालले राष्ट्रियसभामा स्वतन्त्र सांसदको हैसियतमा रहने भन्दै संसद सचिवालयमा निवेदन दिएका छन् । आफूले नेतृत्व गरेको पार्टीमा यस किसिमका विग्रह देखिएकाले पनि ओली दबाबमा परेको देखिन्छ ।

ओलीको पछिल्लो अभिव्यक्तिलाई लिएर नेताहरूले प्रतिक्रिया पनि दिएका छन् । सोमबार नागरिक समाजका अगुवा र बुद्धिजीवीहरूसँग गरेको छलफलमा दाहालले ओलीले तुच्छस्तरको गाली गरेको देख्दा ओलीलाई विचरा भन्न मन लागेको बताएका छन् । सोही कार्यक्रममा नेता नेपालले ओलीको भाषणको रेकर्ड राख्नलायक भएको भन्दै व्यङ्ग गरे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रश्न छ, ‘प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननीय प्रधानमन्त्री, विनम्रसँग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो ‘भेरिएन्ट’ ?’

विपक्षी गठबन्धनका एक नेताचाहिँ ओलीको यस किसिमको टिप्पणी दबाबमा पर्नुको नतिजामात्रै हो कि उनी अर्को असंवैधानिक कदमका लागि माहौल बनाउँदैछन् भनेर आशंका व्यक्त गर्छन् ।

प्रकाशित : असार १४, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?