२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘विदेशी चलखेलको कुरा सोचविचार गरेरै बोलिएको हो’

एउटा चुनाव वा ओलीलाई हटाउन मात्रै होइन, धेरै परसम्म जानुपर्छ भन्ने मान्यताले गठबन्धन बनाइएको दाबी
राजेश मिश्र

काठमाडौँ — विपक्षी गठबन्धनका नेताहरूले गम्भीर परिस्थितिको आकलन गरेरै नेपालको आन्तरिक मामिलामा विदेशी हस्तक्षेप नहोस् भनेर बोलिएको स्पष्ट पारेका छन् । गठबन्धनमा आबद्ध पाँच पूर्वप्रधानमन्त्रीले डेढ साताअघि विज्ञप्ति जारी गर्दै नेपालमा हस्तक्षेप बढेको उल्लेख गरेका थिए ।

‘विदेशी चलखेलको कुरा सोचविचार गरेरै बोलिएको हो’

विपक्षी पाँच राजनीतिक दलका शीर्ष नेताहरूले बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सम्पादकहरूसँग गरेकोे अन्तक्र्रियामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष वा परोक्ष रूपमा विदेशी चलखेल हुन नपाओस् भनेर सबैलाई ध्यानाकर्षण र सतर्क गराउन सोचीविचारी बोलिएको बताए । विपक्षी गठबन्धनमा आवद्ध पाँच पूर्वप्रधानमन्त्रीहरूले डेढ साताअगाडि निकालेको वक्तव्यप्रति विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका बेला दाहालले भनेका छन्, ‘परिस्थिति गम्भीर नबनीकन बोलिएको होइन । कसले बोल्दा बढी प्रभावकारी हुन्छ भनेर पाँच जना पूर्वप्रधानमन्त्रीले बोलेका हौं ।’

उनले संविधान जारी गर्ने बेला, निर्वाचनका बेलाजस्तै अहिले पनि विदेशी दबाब बढेर गएको बताए । ‘संविधान बनाउने, निर्वाचन गर्ने बेलामा होस् वा अहिले गठबन्धन बनाउने बेलामा किन नहोस्, धेरै अप्ठ्याराको सामना गरेका छौं,’ उनले भने, ‘लोकतन्त्र, संविधान र राष्ट्रको पक्षमा जस्तोसुकै चुनौती भए पनि उभिने र जस्तोसुकै त्याग गर्ने हो भन्ने भावनाबाटै वक्तव्य दिएका हौं ।’ उनले पाँच जना पूर्वप्रधानमन्त्री तथा पाँच पार्टीले विदेशी हस्तक्षेपको विरोध गरेर परिस्थितिको सामना गर्छौं भनिरहेका बेला बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले भने कुर्सीका लागि जे पनि गरिरहेको आरोप लगाए । उनले कुनै पनि छिमेकी वा मित्रराष्ट्रसँग आफूहरूलाई दुश्मनी नचाहिएकाले कसैलाई तोकेर नभनिएको बताए । ‘सबैसँग राम्रो सम्बन्ध चाहन्छौं तर हामीभित्र अनावश्यक चलखेल सह्य छैन, हामीलाई त्यो स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘गर्नुपर्ने काम गरियो ।’

दाहालले कुनै पनि देशलाई लक्षित नगरे पनि गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले त्यही मञ्चबाट गत कात्तिकमा भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि एकपछि अर्को अकल्पनीय राजनीतिक घटना भएको बताए । उनले भारतको सत्तारूढ दलले नेपालमा हिन्दु राष्ट्र र राजसंस्था स्थापनाको खेल गरिरहेको उल्लेख गरे । त्यस विषयमा भारत सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको माग थियो ।

सम्पादकहरूले विपक्षी गठबन्धनलाई ‘तपाईंहरू पनि उस्तै त हो नि ? जनताले कसरी विश्वास गर्ने ?’ जस्ता प्रश्न उठाएपछि दाहालले ओलीसँग आफूहरूको तुलना नगरिदिन आग्रह गरेका थिए । उनले ओलीलाई ‘भिलेन’ को संज्ञा दिँदै जनताले त्यो थाहा पाइसकेको बताए । कार्यक्रमको अन्त्यमा सम्पादकहरूले उठाएका प्रश्नको जवाफ दिने पालो पाएका दाहालले सबै उस्तै हुन् भनेर नेताहरूको हुर्मत लिने काम नगरिदिन मिडिया क्षेत्रलाई आग्रह गरेका थिए । ‘आलोचना गर्नुहोस् तर एउटा सीमा रहोस्,’ उनले भने, ‘नेताहरूप्रति घृणा फैलियो भने त्यो झन् खतरनाक हुन्छ ।’ उनले कुर्सीका लागि संविधान, लोकतन्त्र, विधि सबैलाई ध्वस्त पार्ने ओलीसँग आफूहरूको तुलना नगरिदिन पटक–पटक आग्रह गरे । ‘हामीले पनि गल्ती गरेका छौं, मबाट पनि त्रुटि भएका छन्,’ उनले भने, ‘त्यसलाई सच्याउने प्रयास पनि गरेका छौं । सच्चिएर जान प्रतिबद्ध पनि छौं ।’

प्रारम्भमै बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीमा देखिएको शासकीय अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान संकटमा परेको बताए । उनले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोबाट मध्यरातमा असंवैधानिक तरिकाले गरिएको प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको उल्लेख गरे । नेपालका बारेमा नेपालीले नै निर्णय गर्ने कुरामा उनले जोड दिए । ‘हामी सबै मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायसँग स्वतन्त्र परराष्ट्र नीतिका आधारमा सुमधुर सम्बन्ध कायम गर्न चाहन्छौं,’ उनले भनेका छन्, ‘नेपालको गौरव र स्वाभिमानलाई ध्यानमा राख्दै नेपालको बारेमा नेपालीले नै निर्णय गर्ने कुरामा अटल विश्वासका साथ बदलिँदो विश्व परिवेशमा राष्ट्रिय हितको रक्षा लोकतान्त्रिक प्रणालीका आधारमा गर्नुपर्छ भन्ने मान्यता राख्छौं ।’

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश गम्भीर संकटमा रहेको भन्दै एकताबद्ध भएर देशलाई भड्खालोमा जानबाट बचाउन सबै लाग्नुपर्ने बताए । उनले देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको रक्षा गर्ने मिसनका लागि आफूहरू एकताबद्ध रहेको बताए । आफूहरू कोर्स करेक्सनको अभियानमा रहेको तथा ओलीले गल्ती भयो भनेर, त्यसलाई सुधार गरेर आए साथमा लान सकिने बताए ।

जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति कार्यालयदेखि संवैधानिक निकायहरूमाथि नियन्त्रण गरेर ओलीले स्वेच्छाचारी शासन चलाउन खोजेको आरोप लगाए ।

फरक प्रसंगमा नेता दाहालले एमसीसीका विषयमा गठबन्धनभित्र कुनै समस्या नरहेको बताए । राष्ट्रिय हितअनुकूल बनाएर त्यसलाई संसदीय प्रक्रियाबाटै लैजाने विषयमा सबै सहमत रहेको उनको भनाइ थियो । उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि विपक्षी गठबन्धनलाई लामो अवधिसम्म लगिने बताए । उनले पार्टीको आन्तरिक समस्याका कारण गठबन्धनभित्र एमाले नेता नेपाल र जसपामा केही अप्ठ्यारा देखिए पनि त्यसलाई सामूहिक ढंगले नै बुझ्ने र सहयोग गर्ने समझदारी रहेको उल्लेख गरे । एउटा चुनाव वा ओलीलाई हटाउन मात्रै होइन, धेरै परसम्म जानुपर्छ भन्ने मान्यताले गठबन्धन बनाइएको उनको दाबी थियो ।

प्रकाशित : असार १०, २०७८ २२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?