२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

गल्ती स्वीकारे केपी ओलीलाई स्वागत गर्छौं : नेता नेपाल

काठमाडौँ — नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु देश र जनताको हितको निम्ति दृढताका साथ अगाडि बढ्ने भन्दै आन्दोलनबाट विचलित नहुने बताएका छन् । उनले आफूहरुको चिन्ता र चासो देशको स्वाधिनता र स्वाभिमानको रक्षा गर्ने रहेको पनि प्रस्ट पारे । 

गल्ती स्वीकारे केपी ओलीलाई स्वागत गर्छौं : नेता नेपाल

बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तर्क्रियामा बोल्दै नेता नेपालले आफ्नो गल्ती र कमीकमजोरीलाई सच्याएर आए केपी शर्मा ओलीलाई पनि स्वागत गर्न तयार रहेको बताए ।

उनले भने, ‘देशको हितको लागि, जनताको हितको लागि, समाजको परिवर्तनको लागि दृढताका साथ अगाडि बढिन्छ । यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो । यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधिनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने हाम्रो चिन्ता र सरोकार त्यहाँ छ । मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ । गल्तीलाई स्वीकार गरेर, फेरि कोर्ष करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है शेरबहादुरजी ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले लोकतन्त्र, गणतन्त्र र संविधानमाथि प्रहार गर्दै जाने र राष्ट्रपतिले सदर गर्दै गएमा लोकतन्त्र नरहने बताए । लोकतन्त्र नरहने शान्ति, समृद्धि र स्थिरता अगाडि नबढ्ने पनि उनले बताए ।

यादवले राष्ट्रपतिले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति नगरेका कारण उनको भूमिका शंकास्पद र प्रश्नवाचक रहेको पनि बताए । उनले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रको पक्षमा, न्यायको पक्षमा फैसला गर्ने विश्वास पनि व्यक्त गरे । ‘विघटन लोकतन्त्र र संविधानलाई समाप्त पारेर स्वेच्छाचारी लाद्नका लागि गरेका हुन् । प्रधानमन्त्रीका लागि किन आह्वान गरियो र आह्वान मुताविक दावा पेस गर्दा किन प्रधानमन्त्री नियुक्त गरिएन ? राष्ट्रपतिको भूमिका पनि प्रश्नवाचक र शंकास्पद छ,' उनले भने, 'कि त भन्नुपर्‍यो ओलीबाहेक अरुलाई प्रधानमन्त्री देख्नै सक्तिनँ म भनेर । नत्र भने प्रधानमन्त्रीको रुपमा नियुक्त नगर्नुपर्ने कारण नै छैन । मुलुकमा लोकतन्त्र, गणतन्त्र र संविधान माथि नै प्रहार भएको छ । कार्यकारी प्रमुखबाट प्रहार हुने र राष्ट्रपतिले सदर गर्दै जाने हो भने लोकतन्त्र रहन्न । लोकतन्त्र नरहे शान्ति, समृद्धि र स्थिरता अगाडि बढ्न सक्दैन ।’

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संसद् विघटनका विदेशी शक्तिको हात रहेको दाबी गरे । उनले भारतीय गुप्तचर प्रमुख नेपाल आएपछि नेपालको राजनीतिमा अप्रत्याशित रुपमा फेरबदल भएको टिप्पणी गरे । प्रतिनिधिसभा विघटनविरुद्धको कदममा २०६२/०६३ को जनआन्दोलनका सहयात्री दलहरु एक हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : असार १०, २०७८ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?