१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भ्रेमाथाङको पहिरोले मेलम्चीमा बाढी

काठमाडौँ — मेलम्ची बजारमा असार १ गते राति वितण्डा मच्चाउने गरी कसरी बाढी आयो भनेर विशेषज्ञ, भूगोलका ज्ञाता र स्थानीयले यकिन गर्न सकेका थिएनन् । मेलम्ची बाढीबारे फरक–फरक ढंगले व्याख्या भइरहे । शनिबार भने विशेषज्ञको अध्ययनले बाढीका कारणबारे नयाँ तथ्य पत्ता लागेको छ– लामटाङ निकुञ्जभित्र रहेको भ्रेमाथाङमा गएको भीमकाय पहिरो ।

भ्रेमाथाङको पहिरोले मेलम्चीमा बाढी

‘भ्रेमाथाङमा २ किलोमिटर फैलिएको चौरको धेरैजसो भाग स्वाट्टै बगेर आएको छ,’ उक्त क्षेत्रमा १० वर्षदेखि अध्ययन गरिरहेका वातावरणविद् रविन निरौलाले कान्तिपुरसित भने, ‘समुद्री सतहदेखि ३५०० मिटर उचाइको चौरजस्तो भाग सोहोरिएर तल्लो क्षेत्रमा आएपछि मेलम्चीसम्मै विनाश मच्चाएको देखियो ।’

भ्रेमाथाङ क्षेत्रमा मनसुन सुरु भएलगत्तै (जेठ अन्तिम) देखि नै वर्षा भइरहेको थियो । असार १ गते पनि त्यो क्षेत्रमा लगातार वर्षा भएको थियो । बाढी आएको दोस्रो दिन नै स्वास्थ्यमन्त्रीसमेत रहेका सिन्धुपाल्चोकका एमाले नेता शेरबहादुर तामाङ बाढीको स्रोत खोज्दै हेलिकप्टरमा हेलम्बु क्षेत्र गएका थिए । मन्त्री तामाङको टोली प्रतिकूल मौसम र जटिल भूगोलका कारण मेलम्चीघ्याङभन्दा माथि जान सकेको थिएन । मेलम्चीघ्याङबाट भ्रेमाथाङ ७ किलोमिटर दूरीमा छ । उनीहरू मेलम्चीघ्याङ नजिकैको अर्को पहिरो हेरेर फर्किएका थिए । उक्त क्षेत्र भूकम्पले छियाछिया पारेको थियो । भ्रेमाथाङ हिमाली क्षेत्र हो । त्यहाँ हिउँदयाममै पनि पुग्न कठिन हुन्छ ।

भूगोल र भूगर्भविद्ले समेत हेलम्बु क्षेत्रमा पहिरो गएको र पहिरोले बगाएर ल्याएका ढुंगा–माटो–रूख केहीबेर थुनिएर फुटेपछि तल्लो क्षेत्रमा बाढी आएको विश्लेषण गरेका थिए । ‘मेलम्चीघ्याङबाट एक जना विद्यार्थीले खिचेको तस्बिर जुम गरेर हेर्दा भ्रेमाथाङमा ठूलो पहिरो गएको देखियो,’ निरौलाले भने, ‘त्यो क्षेत्र २०७२ सालको भूकम्पमा चिरा–चिरा परेको थियो, अहिलेको वर्षाले त्यो सबै बगाएपछि यो बबन्डर मच्चिएको देखिन्छ ।’

भूकम्पले नाखोटे क्षेत्रसम्मैको भूभाग छियाछिया पारेको थियो । विशेषज्ञहरूले त्यो क्षेत्रको बस्ती स्थानान्तरण गर्न त्यतिबेलै सुझाएका थिए । तर बस्तीलाई सुरक्षित स्थानतिर सार्न सम्बन्धित निकायले ध्यान दिएको थिएन । हेलम्बु गाउँपालिका–१ मा पर्ने मेलम्चीघ्याङ अन्तिम बस्ती हो । भ्रेमाथाङबाट सुरु भएको पहिरोले ल्याएको ढुंगा–माटो–गेग्रानसहितको बाढीले हेलम्बु गाउँपालिकाका तिम्बु, कियुल, चनौटे र ग्यालथुम तथा मेलम्ची नगरपालिकाको तालामाराङ र मेलम्चीबजारसम्म क्षतविक्षत गरेको छ । पहिरोसँगै ठूला ढुंगा, रूख–मुढा र माटोको थुप्रो ठूलो परिमाणमा तल्लो क्षेत्रतिर बग्दै आएपछि बस्तीहरूलाई सोहोरेको निरौलाको विश्लेषण छ । ‘भ्रेमाथाङबाट द्रुत गतिमा आएको मेट्रियल्सले मेलम्चीघ्याङ आइपुगेपछि अर्को भित्तासमेत फोर्‍यो र त्यसले बहाव झन् बढ्न गयो,’ उनले भने ।

भूगर्भविद्हरूका अनुसार भूकम्पले हल्लाएको क्षेत्र बाहिर सग्लैजस्तो देखिए पनि भित्रिभाग भने धेरै वर्षसम्म कमजोर हुन्छ । त्यस्तो क्षेत्र स्थिर हुन धेरै वर्ष लाग्छ । ‘माथिल्लो क्षेत्रबाट द्रुत गतिमा करेन्ट जसरी आएको बाढीले तिम्बुभन्दा तल्लो क्षेत्रमा पुल, खेत, सडक, बस्ती सबैलाई काटेको देखिन्छ,’ निरौलाले भने, ‘दायाँबायाँ सय–सय मिटर भित्रसम्म कटान भएको छ । फेरि पनि वर्षा भए अझै कटान बढ्ने सम्भावना छ ।’ मेलम्चीघ्याङ हुँदै आएको बाढीमा इन्द्रावती खोलामा आएको बाढीसमेत मिसिएपछि आकार र तीव्रता बढेको थियो । ‘तीव्र गतिमा आएको बाढी मेलम्ची बजारतिर मोडिदा ठूलो क्षति भयो, बस्ती र मलिलो खेत बगरमा परिणत भयो,’ निरौलाले भने ।

उनले असार १ गते बेलुकी ६ देखि ८ बजेसम्म मेलम्चीमा बाढीको उचाइ ६ मिटरभन्दा बढी रहेको समेत दाबी गरे । माथिल्लो क्षेत्रबाट द्रुतगतिमा आएको बाढीको गति मेलम्चीमा आइपुगेपछि भने केही हदसम्म रोकिएको थियो । ‘त्यसैले मेलम्चीमा धेरै लेदो माटो जमेको देखिएको हो,’ उनले भने, ‘ठ्याक्कै यकिन नभए पनि लेदोले ३० फिटसम्म पुरेको हुन सक्छ ।’ हेलम्बु क्षेत्रमा शुक्रबार पनि वर्षा थपिएपछि बाढीले तल्लो क्षेत्रका हेलम्बु बजार र क्युल क्षेत्रमा प्रहरी चौकी, गाउँपालिकालगायत भौतिक संरचना बगाएको छ । उक्त क्षेत्रको भूभागमा बाढीले चट्टानी भागलाई समेत खोतलेर कमजोर बनाएकाले जोखिमको सम्भावना अझै रहेको निरौलाको निष्कर्ष छ । ‘भविष्यमा कस्तो प्रभाव पर्छ भन्ने चाहिँ त्यो क्षेत्रको वर्षाले निर्धारण गर्छ,’ उनले भने, ‘अहिलेभन्दा विकराल अवस्था पनि निम्तिन सक्छ । त्यसैले अहिलेदेखि नै सतर्क होऔं र सम्बन्धित निकायले सुरक्षित बासस्थलका लाथी तीव्र रूपमा तयारी गरौं ।’

जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलका अनुसार यो वर्ष पहाडी र उच्च हिमाली भागमा सरदरभन्दा बढी वर्षा हुने अहिलेसम्मको मनसुनी वर्षाले संकेत गरेको छ । ‘जथाभावी खनिएका सडक भएका र भूकम्पीय क्षेत्रमा पहिरोको उच्च जोखिम छ,’ उनले भनिन्, ‘कमजोर भूगोल भएको क्षेत्रका बस्तीलाई सुरक्षित स्थलतिर सार्न ध्यान दिनु उपयुक्त हुन्छ ।’ विभागका अनुसार जेठ ३० गतेदेखि असार ५ गतेसम्म सात दिनमा सिन्धुपाल्चोकको बाह्रबिसेमा १०१.८, चौतारामा ३९.८, धापमा १५५.४, गुम्थाङमा ११९.९ र शेर्माथाङमा २१०.८ मिलिमिटर वर्षा भएको छ ।

प्रकाशित : असार ६, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?