उपचारका लागि दिल्ली जानुअघि खनालले पोखरेलसँग भने : 'पार्टी मिलाउनुस् कमरेड'- समाचार - कान्तिपुर समाचार

उपचारका लागि दिल्ली जानुअघि खनालले पोखरेलसँग भने : 'पार्टी मिलाउनुस् कमरेड'

रासस

काठमाडौँ — थप उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन महासचिव ईश्वर पोखरेललाई आग्रह गरेका छन् । 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई मंगलबार महासचिव पोखरेलले भेट गरेका थिए । 'पार्टी मिलाउनुस् कमरेड...' भनी नेता खनालले महासचिव पोखरेललाई आग्रह गरेको महासचिवका पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन । नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ सङ्क्रमणमुक्त भएका थिए ।

उनी बुधबार दिउँसो साढे १२ बजे नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली गएका छन् । खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुनेछ ।

प्रकाशित : असार २, २०७८ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्

नेपालले सीधै एसिया कप छनोटको तेस्रो चरण खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले एसियाकप छनोटको तेस्रो चरण सीधै खेल्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफपी) ले छनोट प्रक्रियामा परिवर्तन गरेपछि नेपाली फुटबलको भाग्य खुलेको हो । नेपालले अब त्यस अगाडिको प्लेअफ खेल्ने पर्ने छैन ।

तस्बिर : कुवेत फुटबल संघ

यसअघि नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणको आफ्नो समूहको चौथो स्थानमा रहेर प्लेअफ खेल्नु पर्ने भएको थियो । एसियाकप आयोजक चीन तथा विश्वकप आयोजक कतार एसियाकपको डिफेन्डिङ च्याम्पियन पनि भएको आधारमा चौथो स्थानमा रहने सबै आठ टिमले सिधै तेस्रो चरणमा प्रवेश पाएको हो ।

नेपाल जस्तै भाग्यमानी सावित अन्य टिममा हङकङ, माल्दिभ्स र श्रीलंका रहेका छन् । त्यस्तै छनोटको पाँचौँ स्थानमा रहेका शीर्ष तीन टिमले पनि सिधै एसियाकप छनोटको तेस्रो चरण खेल्ने भएका छन् । त्यसअनुसार म्यानमार, यमन र बंगलादेशले पनि सीधै तेस्रो चरण खेल्ने भएका छन् ।

प्रकाशित : असार २, २०७८ १४:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×