कांग्रेसको क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसको क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक

रासस

काठमाडौँ — नेपाली कांग्रेसले क्रियाशील सदस्यताको थप विवरण सार्वजनिक गरेको छ । 

नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ ।

समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता विवरण सार्वजनिक गरी सकेको छ । आज सार्वजनिक गरिएका र यसअघि सार्वजनिक गरिएका नामावलीउपर कुनै उजूरी, गुनासा वा सुझाव भएमा समितिमा उजूरी तथा गुनासो पठाउन सकिने व्यवस्था गरिएको उनले बताए । आगामी असार ६ गतेपछि प्राप्त भएका उजूरीउपर कुनै सुनुवाइ नहुने पार्टी कार्यालयले जनाएको छ ।

सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फका जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गराउन असार ६ गतेभित्र नै लेखी पठाउनुपर्ने व्यवस्था गरिएको छ ।

सार्वजनिक गरिएका सबै जिल्ला र क्षेत्रले आफूअन्तर्गतका वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपि तथा आवश्यक विवरण एक हप्ताभित्र अनिवार्यरुपमा केन्द्रीय कार्यालयमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।




प्रकाशित : जेष्ठ ३१, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

जनरल वार्डमा चाप घट्दो

महानगरमा अहिले पनि दैनिक सरदर ३–४ जनाको मृत्यु
विनोद भण्डारी

विराटनगर — कोरोना संक्रमितको उपचार गर्ने यहाँका नोबेल र विराट शिक्षण अस्पतालमा अक्सिजनसहितको जनरल वार्ड सातादेखि आधाभन्दा बढी खाली छन् । तर दुवै अस्पतालका आईसीयू र भेन्टिलेटर भने बिरामीले भरिएका छन् ।

नयाँ संक्रमित भर्ना हुने दर झन्डै साठी प्रतिशतले घटेको छ । भर्ना भएका संक्रमितमा कोरोना नेगेटिभ देखिए पनि पोस्ट कोभिड केयरको आवश्यकता परेकाले आईसीयू र भेन्टिलेटर खाली हुन नसकेको उपचारमा संलग्न मुक्ति आचार्यको भनाइ छ । साताअघि सय जनाको पीसीआर परीक्षण गर्दा झन्डै ७० जनामा कोरोना पुष्टि हुने गरेको थियो । अस्पतालमा भर्नादर बढेको थियो । महानगर कोभिड शाखा प्रमुख हैदर अलीका अनुसार अहिले सयमा २० जनामा संक्रमण पुष्टि हुने गरेकाले पनि संक्रमितको संख्या घटेको हो ।

महानगरले अहिले पनि दैनिक सरदर अढाई सयको एन्टिजेन र पीसीआर परीक्षण गर्दै आएको छ । अलीका अनुसार महानगरमा अहिले पनि दैनिक सरदर ३–४ जनाको मृत्यु हुँदै आएको छ । नोबेल शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारका लागि १७ वटा भेन्टिलेटर, ६३ वटा आईसीयू र अक्सिजनसहितको २ सय २० वटा जनरल वार्डको व्यवस्था गरेको छ । १७ वटै भेन्टिलेटर र ६३ वटै आईसीयू भरिएका छन् । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार अक्सिजनसहितका १ सय ३० वटा जनरल वार्ड सातादेखि खाली छन् ।

विराट शिक्षण अस्पतालमा अक्सिजनसहितका जनरल वार्ड आधाभन्दा बढी खाली छन् । तर अस्पतालका आईसीयू र भेन्टिलेटर सबै भरिएका छन् । अस्पतालले संक्रमितको उपचारका लागि आईसीयू ४३ र भेन्टिलेटर १७ वटा व्यवस्था गरेको छ । सबै भरिएका छन् । अस्पतालको तथ्यांक शाखाका नीरज श्रेष्ठका अनुसार जनरल वार्ड १ सय ७५ मध्ये आइतबार ७१ वटामा संक्रमित उपचाररत छन् ।

कोसी कोभिड अस्पतालका २१ वटा आईसीयू अहिले पनि भरिएका छन् । १ सय १० बेड भएको अस्पतालमा ८० जना भर्ना छन् । कोसी अञ्चल अस्पतालका २५ वटै आईसीयू बेड भरिएका छन् । ७२ वटा अक्सिजनसहितका जनरल वार्डमध्ये ६१ मा संक्रमित उपचाररत छन् । महानगरमा आइतबारसम्ममा १ सय ३१ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०७८ १२:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×