पृथ्वीसुब्बा गुरुङले भने, ‘म ओली वा कसैले भन्दैमा निष्ठा गुमाउने मान्छे होइन’

‘रत्नाकर वाल्मीकि बन्छ भने मनाङेले पनि राजनीति सेवा गर्न किन सक्दैन भनेर मेरै पार्टीले सहयोग गरी सांसद बनायौं । सभामुख नमान्दा नमान्दै सांसदको शपथ खुवाए । नेकपामा प्रवेश गर्‍यो । पछि पार्टी फुटेपछि एमाले बन्यो । एमालेलाई नै लेबी तिरिरहेको छ । उसलाई सुधार्न र राजनीतिबाट समाजसेवामा जोड्नको लागि मन्त्री बनाएको थिएँ । उसले पछि मलाई सम्झिनेछ ।’
प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू प्रधानमन्त्री केपी शर्मा ओली वा अरु कसैले भन्दैमा राजनीतिक निष्ठा गुमाउने मानिस नभएको बताएका छन् । आइतबार मुख्यमन्त्री निवासमा सञ्चारकर्मीसँग भेटघाट गर्दै उनले कसैको दबाबमा घुँडा टेक्न नसक्ने बताए । 

पृथ्वीसुब्बा गुरुङले भने, ‘म ओली वा कसैले भन्दैमा निष्ठा गुमाउने मान्छे होइन’

आफ्नो पद धरापमा भएपछि प्रम ओलीले सत्ता टिकाउनको लागि दुई/दुईपटक संसद् विघटन गरेको र गुरुङलाई पनि त्यस्तै निर्देशन आएको हो ? भनी पत्रकारले प्रश्न गरेका थिए । जवाफमा गुरुङले भने, ‘राजनीति फोहोरी खेल हो भनिन्छ तर राजनीति होइन पात्र फोहोरी हुन् ।’ नेकपा विवादित बन्दा आफ्नो सत्ता गुमेको उनको धारणा थियो ।

‘राजनीतिक नेताको कुण्ठाको कारण एमाले सरकार विस्थापित बनाइयो,’ उनले भने, ‘लोकतन्त्र विधिको शासन हो । कोरोनाको महामारीमा सत्ता परिवर्तन र केन्द्रीय राजनीति प्रदेशमा केन्द्रीत हुनु गलत हो ।’ उनले सरकारमा उभिने जोकोही नेता पनि लोकतन्त्रको पक्षमा उभिन नसक्ने बताए ।

नेता, नीति र विधिको शासनमा चल्नुपर्ने उनको भनाइ थियो । बदलाको भावमा नै सरकार परिवर्तन भएको बताउँदै उनले संकटको बेलामा नै पार्टी बलियो बनाउन सकिने बताए । मुख्यमन्त्री भएपछि केन्द्रमा महत्वपूर्ण काममा बाहेक अघिपछि नगएको बताउँदै उनले अब पार्टीलाई संकटबाट जोगाउनको लागि समय आएको बताए । उनले अबका दिन केन्द्रीय राजनीतिमा केन्द्रीत हुने बताएका छन् ।

शनिबार भएको धर्ना र आन्दोलन आवश्यक नभएको बताउँदै उनले भने, ‘बहुमत पुर्‍याएपछि सरकार गठन हुन्थ्यो तर जंगली पारा देखाइयो । सरकारमा जान दुई घण्टा पनि कुर्न किन सकिँदैन ? बलको आधारमा सरकार बनाउनुपर्छ पीएसलाई हटाउनैपर्छ भन्ने देखियो ।’ मुख्यमन्त्रीमा दाबी गरेको विषयमा पनि क्लियर पार्दै सभामुखबाहेक अन्य ५९ सांसदले नै दाबी गर्न सक्ने बताए । ‘मैले हाम्रो पार्टीको २७ जना सांसदको विवरण बुझाएको हुँ,’ उनले भने । उनले गठबन्धनबाट बनाइएका सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने बताए । उनले आफूलाई जसपाले समर्थन गरेको पत्र भने नबुझाएको बताए ।

उनले प्रदेश संघीयताको अभ्यास भएकाले पहिलो कार्यकाल ५ वर्ष नै बिताउनुपर्ने भएकाले संसद् विघटन गर्ने योजना नरहेको सुनाए । ‘संघीयता बलियो बनाउनुपर्छ भनेर संघ सरकार र आफ्नै पार्टीका नेतासँग लड्ने मान्छे हुँ,’ उनले भने, ‘मैले विश्वासको मत प्राप्त गर्न सकिँन । आफ्नो स्वार्थको लागि संसद् विघटन गर्न सक्थिँन । प्रदेशले नै संघीयताको औचित्य पुष्टि गर्छ । संघीय शासन प्रणलीको पहिलो अभ्यास हो ।’ उनले मुलुकमा अस्थिरता रहेको बताउँदै संघीयतामाथि चारैतिरबाट आक्रमण भइरहेको बताएका थिए ।

गुरुङले प्रतिपक्षमा भएर केही गरेन भनेर बारम्बार विरोध गर्नेहरुलाई अब दुःख के हो ? सरकार चलाउन कतिको सहज हुने रहेछ ? संघले कति सहयोग गर्नेरहेछ ? अब बुझ्ने मौका पाउने बताए । ‘प्रतिपक्षको भूमिका निर्वाह गर्छौं,’ उनले भने, ‘मुख्यमन्त्री छाड्दैमा म जिम्मेवारीबाट हट्दिँन । मेरो साथ र सहयोग रहनेछ । संघीयता बलियो बनाउने पक्षमा म सरकारकै पक्षमा उभिनेछु ।’ यसो त उनलाई साथ दिएर मन्त्री मण्डलमा समेत सामेल भएका राजीव गुरुङ (दीपक मनाङे)ले अप्ठ्यारोमा साथ छाडेको बताए ।

‘रत्नाकर वाल्मीकि बन्छ भने मनाङेले पनि राजनीति सेवा गर्न किन सक्दैन भनेर मेरै पार्टीले सहयोग गरी सांसद बनायौं,’ उनले भने, ‘सभामुख नमान्दा नमान्दै सांसदको शपथ खुवाए । नेकपामा प्रवेश गर्‍यो । पछि पार्टी फुटेपछि एमाले बन्यो । एमालेलाई नै लेबी तिरिरहेको छ । उसलाई सुधार्न र राजनीतिबाट समाजसेवामा जोड्नको लागि मन्त्री बनाएको थिए । उसले पछि मलाई सम्झिनेछ ।’

मनाङेले आफूबाट धेरै कुरा सिक्ने अवसर पाएको उनले बताए । राजनीति बुझेको छैन भनेर हरेक गल्तीमा पनि मनाङेलाई कारबाही नगरेको उनको भनाइ थियो । जाँदाजाँदै गुरुङ नयाँ बनेको सरकारलाई संघीयताको मर्मअनुसार काम गर्न सुझाव दिएका छन् । हरेक नियुक्तिहरु मापदण्ड अनुसार नै गरेको बताउँदै उनले सरकारको लक्ष्य अनुसार काम गर्न सके ५ वर्षभित्र ठूलो परिवर्तन गर्न सकिने बताए । ‘प्रतिपक्षको नेता हुँदा सत्ता टिकाउन मात्र काम गरेको छ भन्नुहुन्थ्यो अब हेर्छु कसरी सरकार चलाउनुहुन्छ,’ उनले भने । संघबिना प्रदेश सरकार चलाउन असम्भव हुने उनको तर्क थियो । प्रदेश सरकार स्वायत्त रही बहुवर्षीय योजनालाई प्राथमिकता दिन सकेमा सरकार सफल बन्ने उनले बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?