१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मनसुनसँगै सुरु हुन्छ भ्यागुताको प्रजनन्

६० वटा जिल्लामा भ्यागुताको अध्ययन गर्ने तयारी
गोविन्द पोखरेल

काठमाडौँ — के तपाईंहरुले ट्वारट्वार गर्दै गरेको भ्यागुताको आवाज सुन्नु भएको छ ? वर्षायाममा भ्यागुताको यो आवाज सुनिन्छ । अन्य बेला त्यति नसुनिने भ्यागुताको आवाज पानी पर्ने मौसमकै बेला किन सुनिन्छ ?

मनसुनसँगै सुरु हुन्छ भ्यागुताको प्रजनन्

भ्गागुताहरु हिउँदमा निष्क्रिय हु्न्छन् । हिउँद याममा निष्क्रिय भएर बस्ने पक्रिया नै सुषुप्तता (हाइबरनेसन) हो । जब गर्मीयाम सुरु हुन्छ तब तापक्रम पनि बढ्न थाल्छ । पानी पर्न थालेपछि उनीहरु बाहिर निस्कन्छन् । मनसुनसँग सुरु हुन्छ उनीहरुको प्रजनन् प्रक्रिया ।

भ्यागुता उभयचर प्रजाति हो । मनसुन सुरु भएपछि यिनीहरु बाहिरी वातावरणमा धेरै देखिने भ्यागुताका अध्ययनकर्ता प्रकाशचन्द्र अर्याल बताउँछन् । मनसुनसँगै भ्यागुताको प्रजनन् प्रक्रिया पनि सुरु हुन्छ । भाले भ्यागुताहरुमा 'भोकल स्याक' हुन्छ त्यसैले आवाज निकाल्न मद्दत मिल्छ। पोथीलाई आकर्षित गर्नका लागि उनीहरु आवाज निकाल्छन् । त्यही आवाज हामीले सुन्ने गरेको उनले सुनाए । तर केही प्रजातिका पोथीहरुले पानीमा आवाज निकाल्न सक्छन् तर उनीहरूको आवाज भालेहरुको भन्दा सानो हुन्छ ।

भाले भ्यागुताले आवाज निकाल्नेबित्तिकै पोथी आर्षिकत हुन्छन् । अध्येता अर्याल भन्छन्,' यसमा भ्यागुताहरुबीच प्रतिस्पर्धा नै चल्छ ।' एउटा पोथी भ्यागुता आर्षिकत गर्नका लागि धेरै भाले भ्यागुताहरु अग्रसर हुन्छन् । राम्रो र समुधर आवाज निकाल्ने र आफूलाई आकर्षित गर्ने भालेलाई पोथीले रुचाउँछे । धेरै जसो भ्यागुताहरुमा भालेभन्दा पोथी केही ठूला हुन्छन् । मन परेको भालेसँग पोथीले समागम गर्छे । यो प्रक्रिया पानी वा पानी भएको स्थानमा हुन्छ । कतिपय भ्यागुताहरु जमिन, रुखका धोद्रो-प्वाल तथा पानीको स्रोत नजिकका रूख तथा झाडीमा पाइने बिरुवाका पातहरुमा फुल पार्छन् ।

प्रजननको लागि वयस्क पोथीका पेटमा फुल हुन्छन् । भालेले थिचेपछि पोथीले फुल निकाल्नेबित्तिकै भालेले पनि फुलहरुमा शुक्रकिटहरु छरिदिन्छ । प्रजातिहरु अनुसार यिनीहरु केही घन्टा वा दिनसम्म टाँसिएर बस्छन् । भालेहरुबीच पनि फुलमा कसको शुक्रकिट छर्ने भनेर पनि प्रतिस्पर्धा चल्छ । फुलमा कसको शुक्रकिट छर्ने भन्नेमा प्रतिस्पर्धा हुन्छ । तर पहिल्यै टाँसिएको भालेको मात्रै शुक्रकिट फुलमा पुग्ने सम्भावना बढी हुन्छ । सन्तान वृद्धि र जिनको संरक्षणका लागि यो प्रतिस्पर्धा प्राकृतिक रुपमा नै हुने गर्छ ।

पानी वा ओसिलो ठाउँमै भ्यागुताका फुलको विकास हुन्छ । यी फुलहरु धेरै हुन्छन् र एकआपसमा टाँसिएका हुन्छन् । एक पटकमा पोथीले न्युनतम् दुई सय फुल पार्छे । प्रजाति अनुसार याे संख्या फरक-फरक हुने अर्याल बताउँछन् ।

०००

यो वर्ष ६० जिल्लामा भ्यागुताको अध्ययन, संरक्षण र खोजी गर्ने तयारी छ । यसका लागि 'क्रोकिङ मनसुन २०२१' अभियान सुरु भएको छ । भ्यागुताको गतिविधि वर्षा याममा बढी हुनेभएकोले वर्सातको मौसम यिनीहरुको अध्यानको लागि उपयुक्त हुने र भ्यागुतोले निकाल्ने आवाजलाई 'क्रोक' भनिने भएकाले यो भ्यागुता खोज्‍ने अभियानलाई 'क्रोकिङ मनसुन' भनिएको आध्यता प्रकाश अर्यालले बताए ।

कम्प्यानियन फर एम्फिबियन एण्ड रेप्टाइल्स अफ नेपाल (क्यारोन), वातावरण अध्ययन तथा संरक्षण केन्द्र(इन्प्रोक्स), गोल्डेनगेट इन्टरनेसनल कलेज र प्रकृति संरक्षण नेपाल (डब्लूसीएन)को सहयोगमा यो अभियान नागरिक वैज्ञानिक अवधारणामा आधारित रहेर सुरु गरिएको को ।

क्यारोनको अगुवाइमा सन् २०१३ मा पहिलो पटक उपत्यकाका भ्यागुताहरुको खोजी अभियान सुरु गरिएको थियो । सोही अभियानलाई सन् २०१८ मा दोहोर्‍याइएको थियो । त्यसबेला उपत्यकाभित्र १० प्रजातिका भ्यागुताहरू अभिलेख गरिएको थियो । सोही अध्ययनले उपत्यकामा सडकका कारण भ्यागुताहरु प्रभावित हुँदै गएको देखिएको थियो । सन् २०१९ मा उपत्यकाका पोखरी आश्रित भ्यागुताको अध्ययन गरिएको थियो । २०२०को अभियानमा ५२ जिल्लाबाट करिब २ सय जनाले १ हजार ३ सय ६९ भ्यागुताको फोटाहरू संकलन गरेर पठाएको इन्प्रोक्सका अनुसन्धानकर्ता सन्देश न्यौपानेले बताए ।
तस्बिर सौजन्यः देवेन खरेल

सानो क्षेत्रमा बस्न सक्न‍े प्राणी भ्यागुताको देशमा कस्तो अवस्था छ भन्ने जानकारी पाउनु अभियानको उद्देश्य रहेको न्यौपानेले बताए । अभियानमा जोडिनका लागि आफूले देखेको भ्यागुताको तस्बिर खिचेर कोबो टुल बक्समार्फत पठाउन सकिने उनले बताए ।

डब्लूसीएनकी डाइरेक्टर सञ्जिवनी योञ्जनका अनुसार भ्यागुता २५० मिलियन वर्षअघिदेखि संसारमा रहेको बताइन् । प्राकृतिक सूचकका रुपमा समेत काम गर्ने भ्यागुता संसारबाट हराए किराहरुको प्रकोप बढ्ने उनले बताइन् । बासस्थान विनाश, रासायनिक प्रदूषणका कारणहरुले भ्यागुता लोप हुने अवस्थामा छन् । खेतमा रासायनिक मलको प्रयोग गर्दा यिनको संख्या घट्दो छ भने किराफट्याङ्ग्रा बढ्दो अवस्थामा छन् ।

सप्तगण्डकी कलेज भरतपुरका एसिस्टेन्ट लेक्चरर नारायण निरौलाले मेरुदण्डीय प्रजातिमध्ये सबैभन्दा लोपको संघारमा भ्यागुता प्रजाति रहेको बताए । अभियानमार्फत नेपालमा भ्यागुताको अवस्था, तथ्यांक र प्रजातिहरुबारे थाहा पाउन सकिनेछ । यो अभियानमा जोकोही जोडिन पाउने उनले बताए ।

नेपालमा ६ वटा परिवारका ५५ प्रजातिका भ्यागुता पाइन्छन् । तीमध्ये काठमाडौंमा १२ प्रजाति पाइने यसअघिका अनुसन्धानहरुले देखाएका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७८ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?