लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो पुरियो- समाचार - कान्तिपुर समाचार

लिपुलेक जोड्ने भारतीय सडकले नेपालको घोडेटो पुरियो

मनोज बडू

दार्चुला — महाकाली नदी किनारमा भारतले बनाइरहेको धारचुला–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा खसेको चट्टानले नेपालको व्यास जोड्ने घोडेटो बाटो पुरिएको छ ।

भारतले धारचुला–लिपुलेक सडक निर्माणका क्रममा गर्वाधार क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गर्दा खसेको चट्टानले महाकाली नदीवारि नेपालको व्यास गाउँपालिका–२ स्थितकल्जु क्षेत्रमा भत्किएको घोडेटो । महाकालीपारिबाट खसेको चट्टान वारिसम्म आएर बाटो पुरिएको हो। पहिरो खसेको दिन मंगलबार केही समय महाकालीसमेतथुनिएको थियो। तस्बिर सौजन्य : हरकसिंह बुढाथोकी

भारतले दुई दिनअघि उक्त बाटोको गर्वाधारमा चट्टान फुटाउन विस्फोटक पदार्थ प्रयोग गर्दा दार्चुलाको व्यास गाउँपालिका–२ स्थित कल्जु क्षेत्रको बाटो भत्किएको हो । व्यासको घोडेटो बाटोमा ५/६ वर्षयता भारतीय सडकका कारण क्षति पुग्दै आएको छ ।

‘व्यासको घोडेटो महाकाली किनारैकिनार भएकाले भारतले सडक खन्दा नदीको बहाव नेपालतर्फ सरेको छ,’ कल्जुका नरेन्द्र धामीले भने, ‘अहिले हामीलाई गाउँ जान बाटो बन्द भएको छ । दुम्लिङ–कल्जु आवतजावत गर्न सकिएको छैन ।’ उनका अनुसार सडक चौडा बनाउने क्रममा विस्फोट गराउँदा ठूलो पहाड खसेर बाटो पुरिएको हो । बाटो अवरुद्ध हुँदा व्यासको छाङरु र टिंकर आवतजावतसमेत बन्द भएको छ । चट्टान खस्दा मंगलबार केहीबेर महाकाली नदीसमेत थुनिएको स्थानीयले बताए । भारतले अतिक्रमित नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाउन ठाउँ–ठाउँमा विस्फोटक पदार्थ प्रयोग गर्दै आएको छ ।

भारतीय सडक महाकालीभन्दा आधा किलोमिटर उचाइमा छ । नेपाली बाटो भने नदीभन्दा २० मिटर माथि पर्छ । पारिबाट खसेका ढुंगा नदी साँघुरो भएकाले वारिसम्म झरेर बाटो पुरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दका अनुसार प्रहरी चौकी दुम्लिङबाट करिब दुई सय मिटर उत्तरी क्षेत्रमा पर्ने कल्जु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ । घोडेटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको छ ।

यो बाटो व्यास र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको हो । ‘केही वर्ष पहिले साँघुरो बाटोलाई नदी किनारबाट पिल्लर गाडेर घोडेटो बनाइएको थियो । त्यो सबै चट्टानले पुरिएको छ । उक्त क्षेत्रको नदी किनारमा पर्खाल राख्न ठाउँ छैन, माथि ठूलो चट्टान छ,’ स्थानीय नरेन्द्र धामीले भने ।

भारतले धारचुला–लिपुलेक–मानसरोवर सडक दुई लेनको बनाउन हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ । सडक निर्माणका क्रममा अत्यधिक जिलेटिनको प्रयोग गर्ने भएकाले चट्टान खसेर बेला–बेलामा नेपालतर्फको बाटो अवरुद्ध हुँदै आएको छ । सोही क्षेत्रमा तीन वर्ष अगाडि सडकको ट्र्याक खोल्दा दुम्लिङका चार वटा घरमा क्षति पुगेको थियो । ‘जथाभावी विस्फोट गराउँदा ढुंगा बजारिएर घर खेतमा खस्थे,’ धामीले भने, ‘उफ्रेर बजारिएका ढुंगा लागेर धेरै पशुबस्तु घाइते भएका थिए । अहिले त्यहाँ बसोबास गर्ने सबै मानिस माथि सरेका छन् ।’

कल्जु क्षेत्रमा अवरुद्ध बाटो खुलाउन स्थानीयका साथमा काम सुरु गरेको प्रहरीले जनाएको छ । महाकाली किनारको घोडेटो बन्नुभन्दा पहिलेको बाटोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

बजेट बनाउन सुझाव माग

मनोज बडू

दार्चुला — जिल्लाका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट निर्माणका लागि सुझाव माग गरेका छन् । जेठ तेस्रो सातादेखि आगामी आवको नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि जिल्लास्थित सरोकारवाला पक्षबाट सुझाव माग गरिएको हो ।

महाकाली नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकद्वारा बजेट निर्मााणका लागि सुझाव माग गरेको छ । सूचनामा नगरप्रमुख, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र योजना शाखा प्रमुखको नाम, मोबाइल नम्बर र इमेल ठेगाना तथा सूचनाको कमेन्ट बक्समा सुझाव दिन भनिएको छ ।

फेसबुक सूचनाको कमेन्ट बक्समा कोरोनाको नयाँ भेरियन्टसँग लड्न तयारी गर्नुपर्ने, निर्माणाधीन सडकहरूको स्तरोन्नति गरी सडक सञ्चालन गर्न, खलंगा बजारको खानेपानी छिटो सम्पन्न गर्न, ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सम्बन्धित पक्षलाई घच्घच्याउन, बेरोजगार युवालाई कृषि वा सीप तालिमको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव आएका छन् । कोरोना महामारी तथा निषेधाज्ञालाई मध्यनजर गरी महाकाली नगरपालिकाले आगामी आवको बजेट व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका लागि सरोकारवाला पक्षसँग सुझाव माग गरिएको जनाएको छ । कोरोना संक्रमणका कारण यसअघिका वर्ष जस्तो भेला गरेर छलफल गरी नीति, कार्यक्रम तथा बजेट निर्माण गरिन्थ्यो । यसपालि सरोकारवाला पक्षको भेला राख्न नसकिने अवस्था भएकाले सूचना जारी गरेर सुझाव माग गर्नुपरेको महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले बताए ।

उनका अनुसार कार्यक्रम तथा बजेट निर्माणका लागि नगर क्षेत्रका स्थानीयवासी र सरोकार पक्षसँग आफ्नो क्षेत्रमा के–कस्ता कार्यक्रम तथा योजना समावेश गर्ने भनी सुझाव, सल्लाह तथा प्रतिक्रिया क्षेत्रगत हिसाबले माग गरिएको हो । नगरपालिकाको आर्थिक, सामाजिक, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकास गरी ५ वटा क्षेत्र छुट्याइएको छ ।

प्रकाशित : जेष्ठ २५, २०७८ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×