१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

हामी विरुद्ध फेरि अनर्गल प्रचार सुरु भयो : भुसाल

काठमाडौँ — एमाले नेता घनश्याम भुसालले आफूहरुका विरुद्ध अनर्गल प्रचार सुरु भएको बताएका छन् ।

हामी विरुद्ध फेरि अनर्गल प्रचार सुरु भयो : भुसाल

सोमबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै भुसालले समूह नै तयार गरेर आफूहरुका विरुद्ध अनर्गल प्रचार गरिएको बताएका हुन् । ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ भुसालले लेखेका छन् ।

एमालेको राजनीतिलाई विकृत बनाउन पञ्चायतकालका सुकुलगुण्डा जस्तै समूह खडा भएको त होइन भन्ने प्रश्न पनि भुसालले गरेका छन् ।

‘पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु,’ उनले लेखेका छन्, ‘आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।’

पार्टी एकताका नाममा ओलीपक्षका नेताहरुसँग भएका संवादलाई लिएर आफ्नो समूह र सामाजिक सञ्जालमा उनको आलोचना भएपछि भुसालले प्रष्टिकरण दिएका हुन् ।

भुसालसहित गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे पछिल्लो समय ओलीपक्षका नेताहरुसँग अनौपचारिक संवादमा थिए ।

प्रकाशित : जेष्ठ २४, २०७८ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?