मुख्यमन्त्री राउतले हटाए ठाकुर-महतो पक्षका ४ मन्त्री

जेष्ठ २३, २०७८

सन्तोष सिंह

जनकपुर — प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई हटाएका छन् ।

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार पूर्वराजपा पक्षका ४ जना  मन्त्रीलाई सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै हटाइएको हो । बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् । 

मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएकोबारे प्रदेश प्रमुख  राजेश झा अहिराजलाई जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचि समेत प्रकाशित गरेको छ ।


जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् ।

अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओ‍वादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् । 

प्रदेश २ सभामा १ सय ४ सांसद छन् । जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन् । एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । यो प्रदेशमा एमालेका २१ मध्ये खनाल–नेपाल समूहमा बहुमत सांसद छन् । कांग्रेस र माओवादी केन्द्रको समर्थन रहने र अर्को सरकार बनिहाल्ने सम्भावना नभएकाले यादव प्रदेश सरकार पुनर्गठन गर्ने निर्णयमा पुगेका हुन् ।

यसअघि ठाकुर-महतो पक्षमा रहेका सामाजिक विकासमन्त्री नवलकिशोर साह र वन, पर्यटन, उद्योगमन्त्री रामनरेश राय राजापा समूह छोडेर उपेन्द्र यादवतर्फ लागिसकेका छन् ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully