कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

अहिलेसम्म ओलीसँग अर्धविद्रोह, अबको सम्भावना ‘पूर्णविद्रोह’ : माधव नेपाल

बबिता शर्मा

काठमाडौँ — एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जारी राजनीतिक एवं संगठनात्मक टकराव ‘अर्धविद्रोह’ भएको र निटक भविष्यमा ‘पूर्णविद्रोह’ (अलग्गै पार्टी निर्माण) मा बदलिन सक्ने निष्कर्ष निकालेको छ ।

अहिलेसम्म ओलीसँग अर्धविद्रोह, अबको सम्भावना ‘पूर्णविद्रोह’ : माधव नेपाल

बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी सदस्यहरुको बैठकका सुझावसहित स्थायी कमिटीबाट पारित १० बुँदे प्रस्ताव सार्वजनिक गर्न आइतबार जारी विज्ञप्ति र आइतबार नै बरिष्ठ नेता नेपालले इकान्तिपुरसँग गरेको कुराकानीमा उनको समूहको निष्कर्ष सतहमा आएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षसँग वार्ता भइरहे पनि परिणाममुखी हुने सम्भावना कमजोर रहेको भन्दै नेपालले ‘पूर्णविद्रोह’ तिर उन्मुख भएको बताए । ‘हामीले चैत्र ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामार्फत् ओलीका सामु समर्पण गर्ने हैन भन्दै अर्धविद्रोह गरेका थियौँ । पूर्णविद्रोह भयो भने त पार्टी फुटी नै हाल्छ । समानान्तर कमिटी बनाउने भनेको अर्धविद्रोह हो । त्यो नयाँ पार्टी बनाउने आधार हो । मतलब पूर्णविद्रोहका लागि ‘लन्चिङ प्याड’ को रुपमा अर्धविद्रोह गरेका थियौं,’ नेपालले इकान्तिपुरसँगको कुराकानीमा भने, ‘पूर्णविद्रोह भनेको अर्को पार्टी घोषणा हुने हो । ओली नसुध्रने र वार्ताको कुनै अर्थ नरहने अवस्था भयो भने हामीले अन्तिम विन्दुमा पुगिसकेपछि पूर्णविद्रोह गर्नुपर्ने हुन्छ । अहिलेसम्मका लक्षणले त्यही दिशामा लगिरहेको छ, केपीमा पटक्कै सुधार छैन ।’

ओलीपक्षीय स्थायी कमिटी बैठकले पनि यसअघि नै खनाल–नेपाललगायतका केही शीर्ष नेता पार्टी एकताको पक्षमा नरहेको निष्कर्ष निकालिसकेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले ‘पूर्णविद्रोह’का लागि उपयुक्त समय पर्खिरहेको खनाल–नेपालनिकट स्थायी कमिटीका एक सदस्यले बताए । त्यसैले स्थायी कमिटीको पछिल्लो प्रस्तावमा पनि नेपालको संविधान, लोकतन्त्र र प्रतिनिधि सभाको रक्षाका लागि सर्वोच्च अदालतमा दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता नलिने पनि स्पष्ट पारिएको ती नेताको भनाई छ ।

नेता नेपालले ओलीसँग आफ्नो संघर्ष, रुपान्तरण र एकताको नीति रहने र ओलीले आफूलाई नसच्च्याए उनीसँग संघर्ष र निषेधको नीतिमा बस्ने संकेत गरे । ‘हामी कतै संघर्ष र निषेधको विन्दुमा पुग्न नपरोस् भन्नेमा छौं । किनभने पहिले पनि राजतन्त्रसँग संघर्ष, रुपान्तरण र एकताको पक्षमा थियौं । राजसंस्था रुपान्तरण भएन । त्यसपछि एकताको संभावना सकियो,’ नेपालले भने, ‘कम्युनिष्ट पार्टीभित्र एकता, संघर्ष र उन्नतस्तरको एकताको नीति लागु हुन्छ । अर्थात् एकताको भावना राख्ने, विभिन्न विचारमा आलोचनात्मक संघर्ष गर्ने र राम्रो वातावरण बनेपछि पुनः उन्नतस्तरको एकताको प्रयोग हुन्छ । कोही सुुध्रिएनन् भने रुपान्तरणलाई छोडेर संघर्ष र निषेधको नीति हुन्छ । निषेश भनेको समाप्त । हामीले राजा ज्ञानेन्द्रसँग पनि अन्तिममा यही गरेको हो ।’

ओलीसँगको सम्भावित ‘पूर्णविद्रोह’ का लागि खनाल–नेपाल समूहले पूर्व तयारी पनि थालेको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा आगामी कदमको प्रष्ट संकेत छ । प्रस्तावको चौथौ बुँदमा आफूहरु पार्टीको एकता तथा सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको तर ओलीबाट गत फागुन २८ गते पार्टी विधानविपरीत गरिएको फुटपरस्त निर्णयपछि तीन महिना बित्न थालिसकेको र यसबीचमा उनले संविधान र पार्टीको विधानविपरीत विभिन्न गतिविधि गरेको आरोप छ ।

‘पार्टीमा एकता कायम गर्ने दिशामा उन्मूख हुनुको साटो अन्तरविरोध र विभाजन बढाउने काम कुरा गरिएका छन्। यस्तो अवस्थामा हामीले अघि सारेका कुराहरु तत्काल निश्चित समयावधिमा विश्वनीय रुपमा कार्यान्वयन हुनेगरी सहमति सार्वजनिक भएमात्र अध्यक्ष ओली पार्टी एकताको पक्षमा रहनुभएको ठहरिनेछ । साथै केन्द्रदेखि स्थानीय तहसम्म कथित स्पष्टीकरण, निलम्बन र निष्कासनलगायतका सबै कारबाहीहरु तत्काल खारेज गरिनुपर्छ,’ प्रस्तावमा भनिएको छ, ‘अन्यथा असंवैधानिक किसिमले प्रतिनिधिसभा विघटन गरी आमनिर्वाचनको घोषणा गर्ने कार्यका विरुद्ध देशका प्रमुख राजनीतिक दलहरु कानुनी र राजनीतिक रुपमा संघर्षरत रहेको स्थितिमा अनिश्चित र परिणामविहीन वार्ता र एकताको नाममा षडयन्त्रपूर्ण जालझेलमा अलमलिनु नहुने स्पष्ट छ ।’

प्रस्तावमा परिणामविहीन वार्तामा भन्दा वैकल्पिक पार्टी निर्माणको योजनासँग मेल खाने गरी देशव्यापी सबै तहमा कमिटी गठन गर्न निर्देशन दिइएको छ । ‘यस्तो स्थितिमा हामीले नेपालको संविधान, पार्टीको विधान र कम्युनिष्ट आन्दोलन एवम् लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ । यसका लागि देशव्यापीरुपमा संगठनात्मक स्थितिलाई गुणात्मकरुपमा सशक्त किसिमले वडा र टोलसम्म अगाडि बढाउनु पर्छ,’ प्रस्तावमा भनिएको छ, ‘ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकोले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरि आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक आव्हान गर्दछौं ।’

०७५ जेठ २ गते पूर्वको स्थितिमा पार्टीलाई एकताबद्ध बनाऔं भन्ने आफूहरुको प्रस्ताव पूर्ण वेवास्ता गर्दै ओलीले विधान मिचेर स्वेच्छाचारी किसिमले जिम्मेवारीबाट हटाउने, स्पष्टीकरण सोध्ने र पार्टी सदस्यबाट नै निष्कासित गर्ने फुटपरस्त काम गरेकाले अहिलेको जटिल अवस्था सिर्जना भएको दावी खनाल–नेपाल समूहको छ ।

खनाल–नेपाल समूहले अदालतको फागुन २३ को फैसालपछि नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटीलगायत पार्टीका केन्द्रदेखि स्थानीय स्तरसम्मका कमिटीहरु, जनसंगठन र पेशागत संगठनहरुलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको छ ।

तर, ओलीले वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गरेको र पार्टीलाई एकताबद्ध तुल्याउने आफूहरुको सदाशयपूर्ण प्रयासलाई महत्वहीन भएझैं व्यवहार गर्दै पार्टीलाई विभाजनको संघारमा पुर्या‍एको आरोप यो समूहले लगाएको छ । ‘पार्टी एकताका लागि अन्तिम समयसम्म हामीले गरेको प्रयासलाई अनेक बहानामा सार्थक हुन नदिइ पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात गरिएको छ । हाम्रोतर्फका कार्यदलका संयोजकलाई पार्टी सदस्यबाटै कथित निष्कासन गरी केपी ओलीले कार्यदलको औचित्यसमेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गर्ने र वार्ताको औचित्य समाप्त गर्ने काम गर्नुभएको छ’ प्रस्तावमा छ, ‘यस्तो स्थितिमा जबसम्म पार्टी एकताको लागि हामीले लिखितरुपमा दिएको पत्रमा उल्लेखित कुराहरु विश्वसनीयरुपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चालमात्र ठहरिनेछ । चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दछौं ।’

खनाल–नेपाल समूहले ‘ओलीका फुटपरस्त र गलत प्रवृत्तिविरुद्ध जुध्दै क्रान्तिकारी पार्टी पंक्तिको रक्षा र विकासका लागि ओली पक्षमा रहेका इमान्दार नेता र कार्यकर्ता लगायत एमाले पंक्तिलाई’ आव्हानसमेत गरेका छन् ।

तर, ओलीसँग ‘पूर्णविद्रोह’ मा उत्रँदा केही पूर्वसहकर्मी छुट्नेतर्फ संकेत गर्दै नेता नेपालले त्यस्ता नेताहरुमा समर्पणवादी चिन्तनले काम गरेको ठहरिने बताए । ‘लामो यात्रामा साथ दिनेहरु साथ दिन्छन्, नदिनेहरु छुट्छन् । केहीले त अहिले नै साथ छोडे । तिनले साथ छोड्दा यात्रा सकिन्छ र ? सकिन्न नि ! मान्छेको जाँच समयमा हुन्छ । मलाई धेरै कमरेडले साथ दिनुहुन्छ, कसैमा समर्पणवादी चिन्तन देखियो भने त्यो उसको समस्या हो ।’

आफ्नो समूह छाडेर ओलीलाई साथ दिने नेताहरुलाई लक्षित गर्दै नेता नेपालले एउटा कथा सुनाए, ‘पहिला राजा र निरङ्कुश शासकहरु अरुलाई पीडा दिँदा रमाउँथे । प्रजा जति पीडा भोगे पनि रुन पाउँदैनथे । रोयो भने उसलाई गोलीले हान्दिथे । बोलाएर एक झापड दे भन्थ्यो । झापड हान्दा ऐय्या पनि भन्न नपाईने ! झापड हानेर महाराजले सोध्छ–कस्तो लाग्यो ? उसले भन्छ–राम्रो लाग्यो, महाराज । कस्तो गजबको आनन्द आयो महाराज । मतलब कसैले ऐय्या गर्‍यो कि गोली ठोकेर मारिदिने । अहिले त्यस्तै छ, कतिपयको ताल । ओलीले जति काँटा मारे पनि हैन उहाँले पवित्र भावनाले गर्नुभएको हो भन्ने खालका मान्छे पनि छन् । अर्को चुनौती दिने पनि छन्, खबरदार भन्ने छन् । खबरदार भन्ने मान्छे माधव नेपाल हो । थप्पड खाएर पनि गजबको आनन्द आयो भन्नेहरु ओलीसँग छन्, जान्छन् ।’

प्रकाशित : जेष्ठ २३, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?