कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

परराष्ट्रमन्त्रीबाट हटेलगत्तै ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक

'मन्त्री बनेपछि केही बचत, केही घरायशी सामान र २०० जति पुस्तकबाहेक सम्पत्ति थपिएको छैन'
इकान्तिपुर डेस्क

काठमाडौँ — नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिएका छन् ।

परराष्ट्रमन्त्रीबाट हटेलगत्तै ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसपछि ज्ञवालीले सामाजिक सञ्‍जालमार्फत करिब सवा ३ वर्ष परराष्ट्रमन्त्रीका रुपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेका हुन् ।

उनले यस अवधिमा विदेश भ्रमणबापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापतको लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको जानकारी दिएका छन् । त्यस्तै हाल उनको खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी पनि उनले गराएका छन् ।

त्यसैगगरी आफूले प्रयोग गर्दै आएको सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रबार नै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने जानकारी ज्ञवालीले गराएका छन् ।

यस्तो छ ज्ञवालीको भनाइ

धन्यवाद तथा आभार

करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु । यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु । दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार–सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु ।

समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत वहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधिहरु तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ । सहकर्मी मन्त्रीहरुज्यूहरुसँगको बसाइलाई सधैभरि सम्झिरहने छु । । यस अवधिमा सञ्चारकर्मी साथीहरु एवं पूर्व कुटनीतिज्ञ, विज्ञ एवं यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ । मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी–१ का मतदाताहरुप्रति कृतज्ञ छु ।

नयाँ जिम्मेवारीसहित गठित मन्त्रिपरिषद्का सबै सदस्यहरुलाई वधाइ तथा शुभकामना व्यक्त गर्न चाहन्छु ।

यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३०। र पारिश्रमिक बापत्को लेभी ६,२०,०००। गरी जम्मा ९,३४,९३०। पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको छ । हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सय जति पुस्तक थपिनु बाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको र पुल्चोक स्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।

यस अवधिमा मप्रति माया, सद्भाव र शुभकामना व्यक्त गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद ।

भिन्न स्वरुपमा तपाइँहरुसँग भेट भइरहने र तपाईँहरुबाट सद्भाव प्राप्त भइरहने विश्वास लिएको छु ।

प्रदीप ज्ञवाली

२१ जेठ २०७८

प्रकाशित : जेष्ठ २२, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?