२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

जसपा अध्यक्ष यादव जनकपुरमा, प्रदेश सरकार फेरबदलको तयारी

सन्तोष सिंह

धनुषा — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रदेश २ को मन्त्रीमण्डल फेरबदलको रणनीति बनाउन जनकपुर आइपुगेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुर समूह संघीय सरकारमा सहभागी भएपछि अध्यक्ष यादव प्रदेश २ सरकारको जिम्मेवारी परिवर्तनको रणनीति बनाउन शुक्रबार साँझ जनकपुर आइपुगेका हुन् ।

जसपा अध्यक्ष यादव जनकपुरमा, प्रदेश सरकार फेरबदलको तयारी

ठाकुर निकटका मन्त्रीलाई हटाएर प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सरकारमा ल्याउने तयारीमा रहेका यादव २/३ दिन जनकपुर रहने पार्टी स्रोतले जनाएको छ । जसपा विभाजन भएपछि धरापमा पर्ने प्रदेश २ सरकारले कांग्रेसलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले पार्टीको आन्तरिक किचलोका कारण प्रमुख प्रतिपक्ष कांग्रेसलाई सरकारमा आउन छलफल अगाडि बढाएका छन् ।

जसपाले सरकारमा सहभागी हुन आग्रह गरेपछि कांग्रेसका प्रदेश सांसदहरुको जनकपुरमा बैठक बसेको छ । शुक्रबार बिहान बसेको कांग्रेस सांसदहरुको बैठकमा पार्टीबाट मुख्यमन्त्रीको दाबी गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी सांसदले बताए ।

'जसपाले सरकारमा सहभागिका लागि आग्रह गरेपछि छलफल सुरु भएको छ', ती सांसदले भने,‘जसपा विभाजन नभएसम्म सरकारमा कसरी जाने ? जसपा एउटै दल रहेको अवस्थामा कसरी सरकारलाई सहयोग गर्ने ? केन्द्रबाट पार्टीले दिएको निर्देशनअनुसार मात्र कांग्रेस सरकारमा जाने/नजाने टुंगो लाग्छ ।’

'प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट अगावै सहमति भए कांग्रेस सरकारमा जान सक्ने सम्भावना छ,' उनले भने । जसपाको आन्तरिक किचलोका कारण नीति कार्यक्रम र बजेट प्रदेश सभाबाट पारित नहुने भएपछि जसपा उपेन्द्र यादव समूहले कांग्रेसलाई सरकारमा सहभागी गराउन छलफल अगाडि बढाएको छ ।

नीति तथा कार्यक्रम र बजेटलाई पूर्व राजपाले पास हुन नदिने जोखिम रहेकाले सरकार सुरक्षित हुन कांग्रेस र माओवादी केन्द्रको सहयोगको सुनिश्चितता गर्न उपेन्द्र समूहले सक्रियता बढाएको हो ।

महन्थ ठाकुर समूहले पनि कांग्रेसलाई सरकार बनाउन सहयोग मागेको छ । जसपाको दुवै समूहले सरकार बनाउन सहयोग मागेपछि कांग्रेस प्रदेश २ का प्रदेश सांसद छलफलमा जुटेका छन् ।

प्रदेश सभामा ठूलो दल रहेको पूर्वसमाजवादी पार्टी नेकपा (एमाले)को ओली समूहसित नजाने निश्चित रहेकाले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी हुन छलफल थालेको छ ।

प्रदेश सरकारमा कांग्रेससँग सहकार्यका लागि शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग समेत छलफल गरेका छन् । जसपामा विवाद चुलिएपछि अध्यक्ष यादव प्रदेश सरकार बचाउन कांग्रेस उपसभापति निधिलाई भेटेका हुन् ।

एमाले पनि अघोषित रुपमा विभाजित रहेका कारण पूर्वराजपाको पहिलो रोजाई कांग्रेसभन्दा एमाले ओली समूह हुनेछ । तर हाल प्रदेशमा ओली समूहतिर ८ जना सांसदमात्र छन् । एमाले संसदीय दलको नेतामा १३ सांसदको समर्थनसहित माधवकुमार नेपाल समूहका नेता सत्रुधन महतो छन् ।

प्रदेश २ मा पूर्वसमाजवादी पार्टीका ३०, पूर्वराजपाका २५, कांग्रेसका १९, एमालेका २१, माओवादी केन्द्रका ८, नेपा संघीय समाजवादी पार्टीका १ प्रदेश सांसद छन् । पूर्वराजपाका २५ मध्ये सामाजिक विकासमन्त्री नवलकिशोर साह र वन, पर्यटन, उद्योगमन्त्री रामनरेश राय राजापा समूह छोडेर उपेन्द्र यादवतर्फ लागेका छन् ।

प्रकाशित : जेष्ठ २१, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?