कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महन्थ ठाकुरलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको निर्णय पेस गर्न आयोगको पत्र

आयोगले दुवै पक्षलाई भन्यो- 'अनुसूची- १८' को ढाँचामा विवरण पेस गर्नु

काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पेस गर्न पत्र पठाएको छ ।

महन्थ ठाकुरलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको निर्णय पेस गर्न आयोगको पत्र

अध्यक्ष ठाकुरले पार्टीले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको भनेर आयोगलाई पत्र पठाएका थिए । जसका लागि आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पठाउन भनेर पत्र लेखेको हो ।

केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर नभएको पत्र लेखेर आयोगलाई पार्टीको कागजात अद्यावधिक गर्न आग्रह गरेका थिए । मंगलबार प्राप्त पत्रपछि आयोगले अपुरो रहेको भन्दै बुधबार नै ठाकुरलाई पत्र पठाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 'महन्थ ठाकुर पक्षलाई केन्द्रीय समिति (केन्द्रीय कार्यकारिणी समिति)को निर्णयको हस्ताक्षरसहित भएको प्रतिलिपी पेस गर्न पत्र पठाइएको छ,' आयोगका प्रवक्ता श्रेष्ठले भने ।

ठाकुरलाई केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर यति दिनभित्र पेस गर्नु भनेर समय भने नतोकिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, 'हस्ताक्षर पेस गर्न कति समय लाग्ला र ? १ हप्ता लाग्ला । हस्ताक्षरसहितको निर्णय पेस नगरेसम्म उहाँहरूले मागेजस्तो प्रक्रिया अघि बढ्दैन ।'

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पनि पत्र काटेको छ । दलको विवरण हेरफेर गर्नुपर्ने भएमा उक्त ढाँचाअनुसार निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने व्यवस्था अनुसूची १८ मा छ ।

यादव पक्षले पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएको थियो । यादव पक्षले केन्द्रीय कार्यकारिणीको २७ जनाको हस्ताक्षर सहित उक्त निर्णय लिइएको भनेर आयोगलाई लेखी पठाएको थियो ।

जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीमा यादव पक्ष बहुमतमा छ । केही सदस्यले आफू कतातिर भन्ने प्रष्ट नपारिसकेको भएपनि महन्थ ठाकुरको पक्षमा २२ केन्द्रीय कार्यकारिणी सदस्य मात्रै छन् ।

जसपाको ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने तयारीमा रहेको छ । यादव पक्ष भने प्रतिपक्षी गठबन्धनमा सहभागी भएको छ । सरकार गठन लगायतका विषयमा कुन पक्षमा लाग्ने भन्ने विवादले जसपाभित्र विवाद चुलिएको हो । जुन विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।

प्रकाशित : जेष्ठ १९, २०७८ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?