अमेरिकी कम्पनीद्वारा नेपालीसहित ३ देशका कामदारको तलब चोरी गरेको भन्दै मलेसियामा उजुरी

जेष्ठ १७, २०७८

होम कार्की

काठमाडौँ — मलेसियास्थित अमेरिकी कम्पनी गुडइयर टायर एण्ड रबर उद्योगले नेपालीसहित तीन देशका कामदारको ५० लाख रिंगेट (झन्डै १५ करोड रुपैयाँ) चोरी गरेको भन्दै कम्पनीविरुद्ध श्रम अदालतमा उजुरी परेको छ । गुडइयर विश्वको ठूलो टायर उत्पादक कम्पनी हो ।

कम्पनीले विदेशी कामदारलाई नियमीत तलब भुक्तानी नगरेको, मलेसियाको श्रम कानुनविपरीत ओभरटाइम लगाएको र बलजफ्ती ढंगले काममा लगाएको भन्दै कामदारहरुले वकिलको सहयोग लिई कम्पनीविरुद्ध मलेसियाको श्रम अदालतमा मुद्दा दायरा गरेका हुन् । मुद्दा दायरा गर्नेमा नेपाली, म्यानमार र भारतीय कामदार रहेका छन् । रोयटर्सले आइतबार यसबारे समाचार सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय रुपमा कम्पनी दबाबमा परेको छ । यसअघि मलेसियामा रहेको टप ग्लोब कम्पनीले कामदारमाथि शोषण गरेको समाचार सार्वजनिक भएपछि अमेरिकाले टप ग्लोबबाट उत्पादित मेडिकल ग्लोबको अमेरिकामा ल्याउन रोक लगाइएको थियो ।  

कामदारहरुले कम्पनीले राहदानी नदिई घर फिर्नबाट समेत वञ्चित गरेको आरोप लगाएका छन् । उजुरी हाल्नेमा कम्पनी छाडिसकेका र कार्यरत कामदारहरु रहेका छन् । श्रम अदालतले गत वर्ष नै कामदारको पक्षमा फैसला सुनाएको थियो । अदालतले मलेसियाको श्रम कानुन अनुसार बक्यौता तलब र ओभरटाइमको रकम भुक्तानी गर्नको लागि आदेश दिएको अदालतको वेभसाइटमा राखिएको फैसलामा उल्लेख छ । कम्पनीले भने अदालतको फैसला अनुसार रकम भुक्तानी नगरेर उच्च अदालतमा पुनरावेदन गरेको छ । उच्च अदालतले आउदो जुलाई २६ गते यसबारे फैसाला गर्ने अपेक्षा गरिएको छ । 

कामदारको वकिल चन्द्रा सेरगन राजेन्द्रनका अनुसार कामदारमाथि विभेद गरिएको छ । ‘मलेसियाको नियम अनुसार कामदारलाई कम्पनीबाट पाउने सेवासुबिधाबाट वञ्चित गरिएको छ,’ उनले रोयटर्सलाई भनेका छन् ।

कम्पनीबाट भएको दुर्व्यवहारबारे नेपाली कामदारहरुले अदालतमा मुद्दा दायर हुनुभन्दा ३ वर्षअघि नै दूतावासमा जानकारी गराएका थए । त्यस कम्पनीमा कार्यरत नेपाली कामदारको संख्या भने खुलेको छैन ।

रोयर्टसका अनुसार १८५ जना कामदारले श्रम अदालतमा तीन वटा उजुरी गरेका थिए । जसमा २ वटा २०१९ र एकवटा २०२० मा गरेको थियो । वकिलले झन्डै एकसय ५० जनालाई तलब नदिएको र महिनामा २२९ घण्टा काममा लगाएको प्रमाण पेश गरेका थिए । मलेसियाको स्थानीय कानुन अनुसार महिनामा कामदारलाई १ सय ४ घण्टा भन्दा बढी ओभरटाइममा लगाउन पाइने छैन ।

गुडइयरमा कम्पनीमा कार्यरत एक नेपालीले कामदारले आफूहरु निगरानीमा परेको भन्दै यसबारे बोल्न चाहेका छैनन् । ‘यो दुई वर्षअघि देखिको मुद्दा हो । साथीहरु मिलेर केश हालेका हुन् । हामीले कम्पनीमा काम गरिरहेका छौं । यसबारे अहिले थप नबोलौं,’ ती कामदारले भने,‘अदालतबाट कामदारको पक्षमा फैसाला आएमा यहाँ कार्यरत कामदारको हित हुन्छ भन्ने मैले ठानेको छु ।’ 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully